अर्थतन्त्र सुधारोन्मुख : रेमिट्यान्समा गिरावट,शोधनान्तर बचतमा

काठमाडौं, ५ मंसिर । पछिल्लो समय देशको शोधनान्तर स्थितीमा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिना तथ्याङकमा गत आर्थिक बर्षमा उच्च घाटामा गएको शोधनान्तर स्थिती चालू आबमा सुधार भएको हो ।

चालू आबको पहिलो ३ महिनामा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको थियो ।

आयात घट्यो निर्यात बढ्दो

बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार कुल वस्तु निर्यात १४.४ प्रतिशतले वृद्धि भई २७ अर्ब १७ करोड रुपैयाँ पुगेको उल्लेख छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो निर्यात १६.१ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ ३५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १९.९ प्रतिशत र अन्य मुलुकतर्फ ११.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुहरुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ।

आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी सो अबधिमा देशको चालू खाता घाटामा पनि सुधार आएको छ । अघिल्लो आबको पहिलो ३ महिनामा देशको चालू खाता घाटा ८१ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा यस्तो घाटा २७ अर्ब १८ करोड रुपैयाँ मात्र रहेको छ ।

सो अबधिमा नेपालमा भित्र्ने वैदेशिक लगानीमा पनि वृद्धि भएको छ । अबको पहिलो ३ महिनामा कुल १ अर्ब ५४ करोड रुपैयाँ मात्र वैदेशिक लगानी भित्रिएकोमा चालू आबको सोही अबधिमा ४ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको तथ्याङ्कले देखाएको छ ।

रेमिट्यान्स आप्रवाहमा गिरावट

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३ दशमलब ७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो । गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा बृद्धि आएपनि रेमिट्यान्स आप्रवाहमा भने गिरावट आएको हो ।

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो।

यस्तै अमेरिकी डलरमा प्राप्त हुने विप्रेषण आप्रवाह पनि ४.६ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो।

नेपालबाट अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो।

अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारमा जानेहरुको संख्या थोरै मात्र घटेपनि रेमिट्यान्स भने गत वर्षको भन्दा धेरै घटेको छ। गत वर्ष वैदेशिक रोजगारमा जानेको संख्या घटेपनि रेमिट्यान्स भने बढेको थियो।

त्यसैगरी पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।

विदेशी विनिमय सञ्चितीमा सुधार

विदेशी विनिमय सञ्चितीमा पनि सुधार आएको छ । २०७६ असार मसान्तको १० अर्ब ३८ करोड ९२ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिती रहेकोमा २०७६ असोज मसान्तमा आईपुग्दा बढेर १० खर्ब ८७ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

सो अबधिमा विदेशी विनिमय सञ्चिती ४ दशमलव ७ प्रतिशतले बढेको छ । कुल सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा ९ खर्ब ४३ अर्ब ८३ करोड रुपैयाँ छ भने बैक वित्तीय संस्थामा १ खर्ब ४३ अर्ब ९० करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

शोधनान्तर बचतमा

चालू खाता घाटा कम हुँदा शोधनान्तर स्थिति भने १४ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको तीन महिनासम्ममा ३१ करोड ६२ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १२ करोड ७८ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ५५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ५४ करोड रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १० खर्ब ३८ अर्ब ९२ करोडबाट ४.७ प्रतिशतले वृद्धि भई २०७६ असोज मसान्तमा १० खर्ब ८७ अर्ब ७३ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ असोज मसान्तमा ९ अर्ब ५४ करोड पुगेको छ ।