सिमेन्टमा नेपाल आत्मनिर्भर,९५ प्रतिशत माग नेपाली उद्योगबाट

काठमाडौं, १० मंसिर । डेढ दशकअघिसम्म ९० प्रतिशतभन्दा धेरै भारतीय सिमेन्टमा निर्भर रहेको नेपाल आत्मनिर्भर बनेको छ ।

अहिले त्यो अवस्था अन्त्य गर्दे ९५ प्रतिशत माग नेपाली उद्योगबाटै पुग्ने गरेको तथ्याङले देखाएको छ । दुई वर्षभित्रमा नेपाली सिमेन्ट भारतीय बजारमा निर्यात गर्ने तयारी भइरहेको लगानीकर्ताहरुले बताएका छन् ।

स्वदेशमै उपलब्ध चुनढुंगाबाट क्लिंकर उत्पादन गरेर आधुनिक रोटोरी प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने ठूला उद्योग सञ्चालन हुने क्रम बढेको छ । भारतबाट आयात गरिएको कच्चा पदार्थ (क्लिंकर) पेलेर निजी क्षेत्रबाट स्थापित नेपाली उद्योगले भीएसके प्रणालीबाट सिमेन्ट उत्पादन सुरु गरेका हुन् ।

चालु आर्थिक बर्षको पहिलो तीन महीनामा सिमेन्ट आयात १३.८ प्रतिशतले घटेको छ । गत आवको समिक्षा अवधीमा रू. २३ करोड १० लाख ३१ हजारको सिमेन्ट आयात भएको थियो । तर, अहिले त्यो घटेर रू. १९ करोड ९१ लाख १६ हजारमा खुम्चिएको छ ।

नेपालमा बार्षिक ६० लाख टनसम्म सिमेन्ट खपत हुने गरेको छ । नेपालमा ८४ भन्दा बढी सिमेन्ट उद्योग छन् । उक्त उद्योगहरूको नेपाली बजारको मागअनुसारको सिमेन्ट उत्पादन गर्ने क्षमता छ । तर, उनीहरुले पुरा क्षमताअनुसारको सिमेन्ट उत्पादन गर्न नसक्दा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ ।

ऊर्जा, श्रम, बजारको समस्याले उद्योगहरूले पूरा क्षमताअनुसारको उत्पादन गर्न सकेको नसकेको व्यवसायीहरु बताउछन् । सञ्चालित उद्योग पूरा क्षमतामा चलाउन सके सिमेन्ट निर्यात गर्न सकिने सम्भावना पनि रहेको उनीहरुको भनाइ छ ।

साथै, पछिल्लो समय सिमेन्ट उद्योगमा लगानीको आर्कषण् पनि बढेको छ । यसले पनि सिमेन्ट उद्योगमा सकरात्मक असर पार्ने देखिन्छ ।

अहिले नेपालमा बार्षिक बढीमा डेढ अर्बको मात्रा सिमेन्ट आयात हुने गरेको छ । गत आवमा पनि रू. १ अर्ब ३१ करोड २९ लाख बराबरको सिमेन्ट आयात भएको थियो । नेपालमा हाल साना र ठूला गरी कुल ५६ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमध्ये भैरहवामा मात्रै ११ वटा सञ्चालनमा छन् ।

भैरहवा आसपासको क्षेत्र परासीमा तीन, कपिलवस्तुमा ६ वटा सञ्चालनमा छन् । प्रदेश ५ अन्तर्गत अर्घाखाँचीमा एक, रोल्पामा एक, दाङमा दुई र बाँकेमा दुईवटा सञ्चालनमा छन् । भैरहवा आसपासको नवलपुरमा होङ्सी सिमेन्ट उद्योग सञ्चालनमा छ । पाँचवटा ठूला रोटरी प्रविधिका उद्योग थपिँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here