इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको संख्यामा दोब्बर वृद्धि

काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो एक अध्ययन अनुसार, २०७६ असोजसम्म वाणिज्य बैंकको संख्या २८, विकास बैंकको संख्या २५, वित्त कम्पनीको संख्या २२, लघुवित्त वित्तीय संस्थाको संख्या ८९ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ९ हजार १ सय १० वटा पुगेको छ । गत असारसम्म शाखा संख्या ८ हजार ६ सय ८६ रहेको छ । २०७३ असारमा यो संख्या ४ हजार २७४ मा सीमित थियो ।

बैंक तथा वित्तीय संस्थाको संख्यामा वृद्धि, शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोगको वृद्धिसँगै वित्तीय पहुँच विस्तारले तीब्रता पाएको अध्ययनको निष्कर्ष छ ।

एक वर्षमा बैंक तथा वित्तीय संस्थाका २ हजार शाखा थपिए

एक वर्षमा बैंक तथा वित्तीय संस्थाका २ हजार भन्दा बढी शाखा थपिएका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारले तीव्रता लिएपनि ३३ सय नेपालीलाई एउटा बैंक शाखा मात्र रहेको नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनले देखाएको छ ।

बैंकको अनुसन्धान विभागद्वारा २०७६ असोजमा सार्वजनिक गरिएको ‘नेपालमा वित्तीय पहुँचको स्थिति’ विषयक अध्ययन अनुसार, निक्षेप खाताको संख्या एक करोड ८० लाख पुगेको छ ।

यो संख्या नेपालको कुल जनसंख्याको ६०.९ प्रतिशत हो । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये १२ स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन ।

सरकारले गत असारसम्म सबै वाणिज्य बैंकका शाखा पुर्‍याउने लक्ष्य लिए पनि गत असोजसम्म ७ सय ४१ तहमा मात्र बैंक पुगेका हुन । बाँकी १२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन ।

पछिल्ला दिनमा प्रतिबैंक शाखा जनसंख्या उल्लेख्य रुपले घट्दै गएको छ भने कुल जनसंख्याको हाराहारीमा बैंक तथा वित्तीय संस्थाको निक्षेप खाता संख्या पुग्ने अवस्थामा रहेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता रहेको देखिएको हो । नेपालको कूल जनसंख्या २ करोड ९६ लाख रहेको आधारमा ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको पाइएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसले नेपालको कुल जनसंख्याको कम्तीमा ६०.९ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा पहुँच रहेको देखाएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३,३०० मा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थामा २ करोड ७८ लाख बचत खाता र १४ लाख ४० हजार कर्जा खाताको संख्या पुगेको छ । मोबाइल बैकिङ्ग प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ ।

स्थानीय तहका सबै वडासम्म वित्तीय सेवाको पहुँच पुर्‍याउन बैंक शाखा नभएका वडाहरुमा शाखारहित बैंकिङ सेवा प्रदान गर्न यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तै, लघुवित्त वित्तीय संस्थाले महानगरपालिका, उप–महानगरपालिका र जिल्ला सदरमुकाम बाहेक नगरपालिका र गाउँपालिका क्षेत्रमा एक शाखा स्थापना गरेपश्चात् मात्र उपमहानगरपालिका वा जिल्ला सदरमुकाममा एक शाखा स्थापना गर्न सक्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here