साँघुरिँदै व्यापारघाटा : आयात घट्दै, निर्यात बढ्दै

काठमाडौं, १३ मंसिर । नेपालको आयात व्यापार चालु आर्थिक वर्षमा सरकारले राखेको लक्ष्‍यभन्दा पनि कम देखिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चार महिनामा तथ्याङ्कमा यो वर्ष १० देखि १५ प्रतिशत कमी आयात व्यापार हुने देखिएको छ। चार महिनाको अवधिमा आयातमा ७ प्रतिशतले कमी आएको छ। निर्यात २३.९० प्रतिशतले बढेको छ।

चार महिनाको तथ्याङक अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो। गत वर्षको सोही अवधीमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात गरेको थियो।

यस्तै, पहिलो चार महिनामा नेपालमा ३६ अर्ब २७ करोडको नेपाली उत्पादन निर्यात भएको छ। गत वर्षको सोही अवधिमा नेपालबाट २९ अर्ब २८ करोड रुपैयाँको सामान निर्यात भएको थियो।

चार महिनामा नेपालको व्यापार घाटा ८.९ प्रतिशतले घटेको छ। गत वर्ष ४ खर्ब ५४ अर्बको व्यापार घाटा रहेकोमा यो वर्षको पहिलो चार महिनामा नेपालको व्यापार घाटा ४ खर्ब १४ अर्बमा झरेको हो।

नेपालको वैदेशिक व्यापार पनि ५.१६ प्रतिशतले कमी आएको छ। यस आर्थिक वर्षमा कात्तिक महिनासम्ममा वैदेशिक व्यापार ४ खर्ब ८६ अर्बको भएको छ।

गत वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब १३ अर्बको भएको थियो। भारतबाट मात्रै २ खर्ब ७२ अर्बको आयात भएको छ भने नेपालबाट भारततर्फ २४ अर्ब २६ करोड रुपैयाँको सामान निर्यात भएको छ।

यस्तै, चीनबाट ८० अर्ब १८ करोड रुपैयाँ बराबरको सामान आयात हुँदा ७१ करोड रुपैयाँको सामान चीनमा निर्यात भएको छ।

नेपालमा सबैभन्दा बढी आयात हुने पेट्राेलियम पदार्थ रहेकोमा डिजेल २९ अर्ब २४ करोड, पेट्रोल १२ अर्ब ३७ करोड, एलपी ग्यास आठ अर्ब १३ कराेडकाे आयात भएकाे छ। परिणाममा बढे पनि रकममा डिजेल पेट्राेलकाे आयात घटेकाे छ।

त्यस्तै सवारीसाधनकाे आयात उल्लेख्य घटेकाे कारण पनि व्यापार घटेकाे देखिएकाे छ। कम मात्रै निर्यात भए पनि निर्यात वृद्धिदर भने बढेकाे छ। पहिलाे चार महिनामा गत वर्षकाे तुलनामा २३ प्रतिशतले वृद्धि भएर ३६ अर्ब २७ कराेड पुगेकाे छ।

गत वर्ष यही अवधिमा २९ अर्ब २८ कराेडकाे भएकाे थियाे। सबैभन्दा बढी पाम तेल ८ अर्ब १३ कराेडकाे निर्यात भएकाे छ। गत वर्ष यसै समयमा एक रुपैयाँकाे सामान निर्यात गर्दा १६ रुपैयाँकाे आयात गरेकाेमा अहिले अनुपात घटेर १२ मा झरेकाे छ। व्यापार घट्दा राजस्वमा भने प्रभाब देखिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here