१ खर्ब १४ अर्बले बढ्यो रेमिट्यान्स

 

काठमाडौं १२, चैत । गत वर्षको सात महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब १४ अर्ब रुपैयाँले बढेको छ । उक्त अवधिमा अमेरिकी डलरको विनिमयदर बढ्नुका साथै कोरिया, अमेरिका र भारतबाट वैधानिक प्रणालीमार्फत भित्रिने रकम बढेपछि कुल रेमिट्यान्स करिब सवा खर्ब रुपैयाँले बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत माघसम्म ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब साढे २८ प्रतिशतको वृद्धि हो ।

०७४ माघसम्म ४ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल आएको थियो । उक्त अवधिमा रेमिट्यान्स वृद्धिदर १.७ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा रेमिट्यान्स १६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर ६.४ प्रतिशतले बढेको थियो ।

दुई वर्षयता रेमिटयान्स वृद्धिदर घट्दो क्रममा थियो । गत साउनदेखि रेमिटयान्स उच्च दरले बढेको छ । सात महिनामा औसतमा रेमिट्यान्स वृद्धिदर ३० प्रतिशतभन्दा माथी छ ।

यद्यपि, उक्त अवधिमा रोजागारीमा जाने नेपालीको संख्या घट्दै गएको छ । रोजगारीका लागि बाहिरिने संख्या घटे पनि अमेरिकी डलरको भाउ बढेको छ । यस्तै, विभिन्न मुलुकमा नेपाली रेमिटयान्स कम्पनीको पहुँच बढेकाले रेमिटयान्स वृद्धिदर उच्च बनेको जानकारहरु बताउँछन् ।

उक्त अवधिमा भारत, कोरिया, अमेरिकालगायत राष्ट्रबाट वैधानिक बाटोबाट आउने रकम बढ्न थालेको राष्ट्र बैंकले जनाएको छ । केही वर्षयता रेमिटयान्स वृद्धिदरको तुलनामा आयात धेरै वृद्धि उच्च रहेकाले रेमिटयान्स र व्यापार घाटाबीचको अन्तर फराकिलो बन्दै गएको छ ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या सात महिनासम्म ३९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले घटेको थियो । वार्षिक रूपमा गत वर्ष ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिटयान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

गत साउनसम्म कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ७८ अर्ब ३६ करोड रुपैयाँ छ । गत असोजको तुलनामा यो करिब २४ अर्ब रुपैयाँ कम हो । गत असारमा कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब २ अर्ब रुपैयाँ थियो ।

पछिल्ला सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने  राष्ट्र बैंकले जनाएको छ ।

सात महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३५.९ प्रतिशत, ६६.९ प्रतिशत र ३२.४ प्रतिशत छन् । ०७५ असारमा यी अनुपात क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here