राजश्व संकलन सुस्त गतिमा,आफैंले निर्धारण गरेको लक्ष्य भेट्टाउन कठिन

काठमाडौं, २३ मंसिर । नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको बजेटमार्फत अघि सरेका नाराहरु विस्तारै सुस्ताउँदै गएको छ ।

सरकारको नारा नेपालको पानी, जनताको लगानी अन्तर्गत उर्जा क्षेत्र सफल देखिएपनि पूँजीगत खर्चको अवस्था र राजश्व संकलन भने सुस्त बन्दै गएको तथ्यांकले देखाएको छ ।

चालू आवको साढे ४ महिनाको तथ्यांक हेर्दा राजश्व संकलन पनि सुस्त गतिमा देखिएको छ । चालू आवको साढे चार महिनासम्मको राजश्व संकलनको स्थिति हेर्दा सरकार आफैंले निर्धारण गरेको लक्ष्य भेट्टाउन कठिन हुने देखिन्छ ।

सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारी लक्ष्य राखेकोमा साढे ४ महिनामा २ खर्ब ८० अर्ब ८३ करोड ९० लाख रुपैयाँ मात्र राजश्व संकलन भएको छ । जुन कूल राजश्व संकल लक्ष्यको २५.२६ प्रतिशत हो ।

बजेटमा निर्धारित लक्ष्य अनुसार समानुपातिक रुपमा राजश्व संकलन गर्ने हो भने प्रतिमहिना कूल लक्ष्यको ८.३३ प्रतिशत अर्थात ९२ अर्ब ६६ करोड ९४ लाख राजश्व संकलन गर्नुपर्दछ ।

सो अनुसार सरकारले साढे ४ महिनामा २ खर्ब १७ अर्ब रुपैयाँ राजश्व संकलन गरिसक्नु पर्दथ्यो । अहिलेसम्म सरकारले संकलन गरेको राजश्व निर्धारित लक्ष्यभन्दा १ खर्ब ३६ अर्बले कमी हो ।

सरकारले चालू वर्षको मंसिर २१ गतेसम्ममा कर शीर्षक अन्तर्गत २ खर्ब ६३ अर्ब ५७ करोड ३६ लाख र गैरकर शीर्षक अन्तर्गत १७ अर्ब २७ करोड ५५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ भने अन्य शीर्षकबाट १२ अर्ब ८९ करोड ९४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

पूँजीगत खर्चको अवस्था झनै नाजुक

आर्थिक वर्ष २०७६/७७ को पछिल्लो ४ महिनामा पनि पूँजीगत खर्चमा कुनै सुधार देखिएको छैन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल २ खर्ब २६ अर्ब २ करोड खर्च मध्ये पूँजीगत खर्च २४ अर्ब ७१ करोड मात्रै भएको छ ।

यस अवधीमा सबैभन्दा धेरै चालु खर्च भएको छ । पछिल्लो ४ महिनामा १ खर्ब ९६ अर्ब ९७ करोड रुपैयाँ बराबरको खर्च भएको छ । यसका साथै यस अवधीमा वित्तीय व्यवस्थापनमा ४ अर्ब २७ करोड रुपैयाँ खर्च भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

विनियोजित विकास बजेट अनुसार सरकारले समानुपातिक रुपमा खर्च गर्ने हो भने प्रतिमहिना कूल बजेटको ८.३३ प्रतिशत अर्थात ३४ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ ।

सो अनुसार सरकारले ४ महिनामा कम्तिमा पनि १ खर्ब ५३ अर्ब अर्थात् कूल बजेटको करिब ३७.४८ प्रतिशत विकास बजेट खर्च गरिसक्नु पर्दथ्यो

यस अवधीमा १४ करोड ४६ लाख रुपैयाँ बराबरको रकम सोझै भुक्तानी मार्फत भएको पनि मन्त्रालयले बताएको छ । सरकारले जति नै पूँजीगत खर्चलाई बढाउने कुरा गरेपनि पछिल्लो तथ्यांक अनुसार पूँजीगत खर्चमा खासै सुधार भएको देखिदैन् ।

अहिलेसम्म सरकारले कूल २ खर्ब ७३ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ बराबरको मात्र बजेट खर्च गरेको छ । यो विनियोजित कूल बजेटको १७.८४ प्रतिशत मात्र हो । सरकारले चालू वर्षको बजेटमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख खर्च गर्ने लक्ष्य निधारण गरेको छ ।

सरकारले साढे ४ महिनामा खर्च गरेको कूल बजेट खर्चको करिब ८५ प्रतिशत रकम चालू खर्चमै सकाएको छ । सरकारले मंसिर २१ गतेसम्म चालू खर्च अन्तर्गत मात्रै २ खर्ब ३० अर्ब १५ करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here