रोजगार बचतपत्र: विदेशिएका नेपालीलाई लगानीको अवसर,सुविधा के ?

काठमाडौं, ३० मंसिर । नेपाल राष्ट्र बैंकले २० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ।

आगामी पुस १ गतेदेखि पुस २१ सम्म बिक्री खुल्ला हुने गरी राष्ट्र बैंकले बचतपत्र निष्काशन गर्न लागेको हो।

यस ऋणपत्रमा वैदेशिक रोजगारीमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन् । ऋणपत्र पुस १ गतदेखि २१ गतेसम्म बिक्री खुला हुनेछ । यसको सावाँ भुक्तानी मिति २०८१ पुस २७ गते रहेको छ ।

वैदेशिक रोजगार बचतपत्र २०८१ (५ वर्ष) अवधिको लागि जारी गर्न लागिएको हो । पाँच वर्ष अवधिको बचतपत्रमा १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। तर यसमा ब्याजकर लाग्नेछ। राष्ट्र बैंकका अनुसार ६-६ महिनामा ब्याज भुक्तानी गरिनेछ।

यो ऋणपत्र घटीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजार रुपैयाँले भाग गर्दा निःशेष जाने गरी आव्हान गरिएको रकमसम्मको आवदेन गर्न पाइनेछ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिनेछ ।

के-के छ सुविधा ?

१० प्रतिशत ब्याजदर रहेको बचतपत्रको व्याज हरेक छ महिनामा भुक्तानी गरिन्छ भने पाँच वर्षमा सावाँ पनि फिर्ता पाइन्छ । साथै, चाहेको समयमा बिक्री गर्न वा धितो खारी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत सकिने सुविधा छ ।

कसले किन्न पाउँछ ?

यो धितोपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासिय नेपालीले आफू वा आफ्नो परिवारका सदस्यको नाममा समेत खरिद गर्न सक्नेछन्।

त्यस्तै घटीमा पाँच हजार र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने सीमा तोकिएको छ। यसको फाइदास्वरुप बचतपत्र धितो राखी बैंक वा वित्तीय संस्थाबाट कर्जा लेनदेन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

कहाँ दिने आवेदन ?

सिटिजन्स बैंक कमलादी, नबिल बैंक तिनधारा दरबारमार्ग, माछापुच्छे बैंक लाजिम्पाट, प्रभु बैंक अनामनगर, सनराइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरबाट आवेदन दिन सकिन्छ ।

आवेदन गर्नेले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नु पर्ने छ ।

साथै विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर, परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात पेश गर्नु पर्ने छ ।

नावालकको नाममा संरक्षक भइ खरिद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र पेश गर्नु पर्नेछ । रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रकम बिना ब्याज निष्कासन मिति पश्चात ७ दिनभित्र फिर्ता हुने बैकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here