काठमाडौं, २४ पुस । अर्थविद् केशव आचार्यले दुई साता अघि संसदीय समितिमा भनेको थिए, ‘हुन त अश्लिल नलागोस, तर पाम आयलको निर्यात बढेर व्यापार घाटा कम भयो भनी रमाउनु …को न्यानोमा रमाउनु जस्तै हो’ ।
अहिले ठ्याक्कै त्यस्तै भएको छ । सरकारले निर्यात बढाउने वा आयात प्रतिस्र्थापनको कुनै ठोस योजना ल्याउन नसकेको बेला ‘इधरका माल उधर गर्ने’ व्यापारीको सहजताका कारण पाम आयलबाट भइरहेको निर्यात व्यापारलाई प्रोत्साहन गरिरह्यो ।
तर, आर्थिक वर्षको ६ महिना नबित्दै भारतले नेपालबाट पैठारी हुने प्रशोधित पाम आयलमा रोक लगाएको छ । साथै प्रशोधित पामोलिनको पैठारीसमेत अब भारतमा हुन पाउने छैन ।
बुधबार भारतको वाणिज्य विभाग अन्तर्गत वैदेशिक व्यापार निर्देशनालयबाट यस्तो परिपत्र सार्वजनिक भएको हो ।
यसले नेपालको समग्र निर्यात बजार नराम्ररी प्रभावित हुने भएको छ । किनकी स्वदेशमै उत्पादन हुन सक्ने तरकारी, चामल, मासुलगायत अन्य उत्पादन भारतबाट उच्च आयात गरी नेपाल पाम आयलको निर्यातमा रमाइरहेको थियो ।
पछिल्लो ५ महिनामा मात्र नेपालबाट ११ अर्ब भन्दा माथिको पाम आयल भारततर्फ निर्यात भएको थियो । पास आयलका लागि आवश्यक कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्छ ।
त्यसकारण यो नेपालको उत्पादन होइन । कच्चा पदार्थ आयात गरी नेपालमा सामान्य प्याकिंग गरी भारत नै पठाउने यस कार्यमा सरकारले व्यापारीलाई दरिलो साथ दिएको थियो ।
किनकी तथ्यांकमा निर्यातको डाटा माथि आउने थियो । तर तथ्यांकमा यताउत गर्न सक्ने नेपालका चतुर अर्थमन्त्रीलाई भारतले जिल्ल बनाइदिएको छ ।
व्यापारीहरुका अनुसार उद्योगहरुले ल्याएको करोडौं मूल्य बराबरको कच्चा पदार्थको उपयोग अब के गर्ने भन्ने चिन्ता चुलिएको छ । यसले नेपालका उद्योग त टाट पल्टने छन् नै नेपालको व्यापार घाटा पुनः चुलिने भएको छ ।
किनकी पाम आयलबाहेक अन्य वस्तुको निर्यातले ५ महिनको अवधिमा पनि कुनै दम देखाउन सकेको छैन ।
उल्टो तयारी पोशाकको निर्यात गत वर्षभन्दा पनि घटेको छ । नेपालमा पाम तेलको कच्चा पदार्थ भने मलेसिया र इन्डोनेसियाबाट आयत गर्नु परेको छ ।