सेयर बजारः ६ महिनामा ३२ अर्ब ५१ करोड कारोबार, २० अर्बको निष्काशन अनुमति

काठमाडौं, १ माघ । नेपाल धितोपत्र बोर्डबाट चालु आवको ६ महिनामा ३२ अर्ब ५१ करोड कारोबार भएको छ ।

उक्त समयमा बोर्डबाट १६ सस्थाले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशन अनुमति प्राप्त गरेका छन् । यो सोहि अवधिको अघिल्लो आव भन्दा २१ दशमलव २ प्रतिशत बृद्धि रहेको अध्यक्ष भीष्मराज ढुंगानाले बताए ।

बोर्डको अध्यक्ष पदमा कार्यभार सम्हालेपछि धितोपत्र बजारको ६ महिनाकै अवस्थाबारे जानकारी दिन बुधबार आयोजित कार्यक्रममा अध्यक्ष ढुंगानाले उक्त कुराको जानाकारी गराएका हुन् ।

समिक्षा अवधिमा सार्वजनिक निष्काशन अनुमति प्राप्त मध्य सबैभन्दा बढी करिब ८३ प्रतिशत ऋणपत्रको रहेको छ । निष्काशन अनुमति प्राप्त रकम मध्ये १६.५ अर्ब रुपियाँ ऋणपत्र निष्काशनले ओगटेको छ ।

बोर्डका अनुसार समिक्षा अवधिमा साढे १६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन भएको छ । नेपाल राष्ट्र बैंकले क वर्गका बैंकलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋण पत्र निष्काशन गर्नु पर्ने व्यवस्था गरेसँगै प्राथमिक बजार मार्फत ऋण पत्र निष्काशनमा बृद्धि देखिएको हो ।

यस अवधिमा ७ सूचीकृत कम्पनीहरुले २. २ अर्ब बराबरको हकप्रद निष्काशनका लागि अनुमति लिएका छन् । बोर्डमा ३७ संगठित संस्थाले ११ अर्ब ६० करोड रुपियाँ बराबरको बोनस शेयर दर्ता गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ३४.९ प्रतिशतले बृद्धी हो ।

यस अवधिमा आइपीओ निष्काशनमा भने भारी गिरावट आएको बोर्डले जनाएको छ । एक जलबिद्युत कम्पनीले ३३ करोड ५१ लाख बराबरको मात्रै आइपीओ निष्काशन गरेको छ ।

त्यसमध्य पनि करिब ७ करोडको मात्रै सर्वसाधारणले खरिद गरेका छन् । अघिल्लो आवको सोहि अवधिमा ९ जलबिद्युत र २ लघुबित्तको ३ अर्व ६० करोड बराबरको आइपीओ बिक्री गरेको थियो ।

लाइसेन्स दिने या नदिने भन्ने निर्णय थप अध्ययन गरेर

त्यस्तै नेपाल धितोपत्र बोर्डले थप अध्ययन गरेर मात्र स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने या नदिने भन्ने निर्णय गर्ने भएको छ।

बुधबार पत्रकार भेटघाट कार्यक्रम गरी बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ एक्सचेन्ज ल्याउने भन्ने अध्ययनकै विषय रहेको बताएका हुन्।

बजारमा एक्सचेन्जको माग रहेको तर अर्को पक्षले दिन हुँदैन भन्ने तर्क गरिरहेकाले थप अध्ययनको आवश्यक रहेको बताए। ‘पूँजी बजारमा कडा नियमन र सुपरीवेक्षण गर्नु आवश्यक छ उनले भने।’

अहिले रियलटाईममा कारोबार हुन नसकेको बताउँदै त्यस्तो कारोबारका लागि नेप्सेले पनि काम गर्नुपर्ने बताए। त्यस्तै अध्यक्ष ढुंगानाले कमोडिटिज एक्सचेन्जको संख्या तोकेर लाइसेन्स दिने भन्दा पनि आवश्यकता के हो त्यसको अध्ययन गरेर मात्र लाइसेन्स दिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here