कोरोना प्रकोप: मृतकको संख्या १ सय ६ पुग्यो, कुन देशमा कति संक्रमित ?

काठमाडौं, १४ माघ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ ।

चीनका अधिकारीहरुको अनुसार यसबाट चीनमा ४ हजार संक्रमित भएका छन् । संक्रमित मध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको छ ।

५१ जना निको भएर घर फर्किएका छन् । हुबेइ प्रान्तमा नोवेल कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् ।

चीन बाहिर जर्मनी, फ्रान्स, नेपाल, अमेरिका, अस्ट्रेलियासहितका देशमा गरी कम्तिमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण युरोप सहित १२ बटा देशमा पुगेको छ ।

चीनको वुहान प्रान्तमा आवतजावमा प्रतिबन्ध लगाइएको छ ।

विभिन्‍न कामको सिलसिलामा चीनको वुहान पुगेका विभिन्‍न देशका नागरिकहरु पनि अहिले त्यहीँ बस्‍न बाध्य छन् । अमेरिका, फ्रान्स, भारत लगायतका मुलुकहरुले आफ्ना नागरिकहरुलाई फिर्ता ल्याउने प्रयास गरेका छन् ।

फ्रान्स,थाइल्याण्ड, सिंगापुर, भियतनाम र दक्षिण कोरिया, ताइवान र नेपाल लगायत विभिन्न मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो एक फरक खालको कोरोना भाइरस हो । यसलाई जनवरी ७ मा चिनियाँहरुले नोवल कोरोना भाइरस भएको पुष्टि गरेका थिए ।

पहिलो पटक सन् १९६० मा कोरोना भाइरस देखिएको थियो । तर, यो भाइरस कताबाट आयो भन्‍ने अहिलेसम्म पत्ता लागेको छैन । क्राउनजस्तो आकारमा हुने भएकोले यस भाइरसलाई कोरोना नाम दिइएको हो । यसले जनावर र मानव दुबैलाई संक्रमित बनाउँछ ।

अधिकांश कोरोना भाइरसहरु सामान्य किसिमका भाइरस हो । जसले नाक तथा घाँटीमा संक्रमण गराउँछन् ।

केही कोरोना भाइरसहरु त्यति खतरानाक हुँदैनन् । तर, केही कोरोना भाइरसहरु निकै खतरानाक हुन्छन् । सन् २०१२ मा साउदी अरेबियामा पहिलोपटक देखिएको मिडिल इस्ट रेस्पाइरेटरी सिस्टम (मर्स) बाट ८५८ जनाले ज्यान गुमाएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वभर आपतकाल घोषणा गर्ने बेला भने भइसकेको छैन । संक्रमण देखिएका मुलुकहरु उच्च सतर्कता अपनाउन भने जरुरी रहेको छ ।

चीन बाहिर कुन देशमा कतिमा संक्रमण भएको छ ?

थाइल्याण्डः ८ जना

सिंगापुरः ६ जना

अमेरिकार अस्ट्रेलियाः पाँच–पाँच जना

ताइवान, मलेसिया र दक्षिण कोरियाः चार–चार जना

फ्रान्स र जापानः तीन–तीन जना

जर्मनी र भियतनामः दुईजना

नेपाल: दुईजना, क्यानडा, कम्बोडिया र श्रीलंकाः एक–एक जना

के हो कोरोना भाइरस ?

संक्रमित व्यक्तिको स्याम्पलको परीक्षण प्रयोगशालामा गरिएको थियो । उक्त परीक्षण पश्चात चीनका स्वास्थ्य कर्मचारी र डब्ल्यूएचओले यो भाइरसको नाम कोरोना बताइएको थियो ।

नयाँ भाइरसको विश्लेषणपछि यो कुरा पत्ता लाग्यो कि अन्य कोरोना भाइरसको तुलनामा ‘सार्स’ को संक्रमण गर्ने क्षमता धेरै हुन्छ ।

सार्स नामको कोरोना भाइरसलाई सबैभन्दा खतरनाक मानिन्छ । सोर्सको कारण चीनमा सन् २००२ मा ८ हजार ९८ जना संक्रमित भएका थिए, जसमध्ये ७ सय ७४ जनाको मृत्यु पनि भयो ।

यी हुन् कोरोना भाइरसको लक्षण

— टाउको दुख्नु
— रुघा
— खोकी
— घाँटीमा दुख्नु
— ज्वरो
— अस्वस्थ भएको अनुभव
— सामान्य अवस्थामा भन्दा धेरै थकाई लाग्नु
— निमोनिया, फोक्सोमा समस्या

कसरी बच्ने यो भाइरसबाट ?

यो संक्रमणबाट बच्नको लागि डब्ल्यूएचओ ले पनि विभिन्न प्रकारका उपायहरु बताएको छ । जुन निम्नानुसार छन्ः

—नियमित रुपमा हात सफा गर्ने

— खोक्दा वा हाच्छिउँ गर्दा मुख तथा नाक छोप्ने

— मासु तथा अण्डा राम्ररी पकाएर खाने

— कोरोना लक्षण लागेको शंका लागेमा मानिसहरुबाट टाढा बस्ने र जतिसक्यो छिटो अस्पताल जाने आदी ।

कति गम्भीर छ यो भाइरस ?

कोरोना भाइरसको कारण संक्रमणमा परेका मानिसहरुमा पहिले रुघा, खोकी, ज्वरो जस्ता समस्याहरु देखिएपनि संक्रमणको मात्रा बढ्दै जादाँ मानिसको मृत्यु समेत हुन्छ ।

कहाँबाट आयो यो भाइरस ?

यो भाइरस अन्य भाइरसभन्दा फरक प्रजातीको छ । यो एक जीवबाट अर्को जीवमा प्रवेश गर्छ र मानिसहरुमा संक्रमण गर्छ । सुरुमा मानिसहरुलाई केही थाहाँ हुदैन् ।

यो भन्दाअघि सार्स नामको भाइरस बिरालो प्रजातिको एक जीवबाट मानिसमा आएको आएको थियो । तर, चीनले यो भाइरसको मुल स्रोतको बारेमा कुनै जानकारी दिएको छैन् ।

कति खतरानाक छ कोरोना भाइरस ? संक्रमण मुलुकमा उच्च सतर्कता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here