‘सित्तैमा दिँदा पनि सरकारले भोटिङ मेशिन प्रयोग गरेन’

बजारमा स्थापित भयो भने मात्र ‘राष्ट्रिय आविष्कार केन्द्र’ सफल हुन्छ

विश्वविद्यालयको शिक्षा मात्रै जीवनको मार्ग कोर्ने माध्यम हो भन्ने मान्यतालाई गलत साबित गरिदिएका राम र लक्ष्मण रिमाल प्रविधिका क्षेत्रमा रुचि राख्ने युवाहरुका लागि प्रेरणाका स्रोत हुन् । यी जुम्ल्याहा नुवाकोटको दाजुभाइले अनेकौं नयाँ प्रविधीको आविष्कार गरिसकेका छन् ।

पहिरोको पूर्वसूचना दिने प्रविधि, टोल सुरक्षाका लागि प्रयोग गरिने सामुदायिक साइरन, भोटिङ मेसिन तथा सार्वजनिक यातायातको लागि बहुउपयोगी ‘लेट्स गो’ एप्लिकेशन जस्ता विभिन्न प्रविधिको विकास गरेका रिमाल दाजुभाइ बेलाबेलामा चर्चामा आइरहन्छन् ।

गत दशैंताका गैरआवासीय नेपाली संघले उनीहरुको भोटिङ मेशिनमा खराबी भएको बताएपछि उनीहरुले स्पष्टिकरणसमेत दिनुपरेको थियो । उनै रिमाल दाजुभाइसँग क्लाउडपत्रिका डट कमका जितेन्द्र खनालले गरेको कुराकानीः

तपाईं दुई युवा वैज्ञानिक नयाँ के गर्दै हुनुहुन्छ ?

हामी आफूलाई वैज्ञानिक हैन अनुसन्धानकर्ताको रुपमा चिनाउन रुचाउँछौं । अहिले मौसमसम्बन्धी प्रविधिमा काम गरिरहेका छौं । देशका कुन ठाउँमा कति घाम लाग्छ, कति पानी पर्छ जस्ता मौसमी जानकारी प्राप्त गर्न सक्ने प्रविधि विकासमा काम गरिरहेका छौं ।

यो निकै उपयोगी तथ्यांक हुनसक्छ । हाल यस्तो व्यवस्था नेपालका विमानस्थलमा मात्रै छ । जानकारी संकलन गर्न हामी धेरै ठाउँको भ्रमण पनि गर्यौं ।

ती ठाउँका हावापानी, खेतीजस्ता विषयमा जानकारी प्राप्त गर्नको लागि आधारभूत सब स्टेशन चाहिने जस्तो देखियो । त्यो प्रविधिका लागि हार्डवेयर र सफ्टेयर निर्माण भैसक्यो, अहिले यही काममा व्यस्त छौं ।

तपाईंहरुले पहिरोको पूर्व सूचना दिने, टोल सुरक्षा लगायत अनेकौं जानकारी दिने प्रविधिको आविष्कार गरिसक्नुभयो । यसमा सरकारको नजर नपरेको जस्तो लाग्दैन ?

नजर नपरेको भन्दापनि सरकारको ध्यान केन्द्रित गर्ने हिसाबले हामी गएका छैनौं । सरकारले ध्यान नै दिएन भन्दैनौं हामी । सरकारले ध्यान दिनुपर्ने खालका काम गर्यौं भने त अवश्य नै ध्यान जाला नि । हाम्रो काममा सरकारले ध्यान दिनै पर्छ भन्ने छैन् । हामी आफै गर्छौं र गरिरहेकै छौं ।

तर, पहिरोको पूर्वसूचना दिने, टोलको सुरक्षा गर्ने प्रविधिमा चाहीँ केन्द्र सरकारले भन्दा पनि स्थानीय निकायले ध्यान दिनुपर्ने थियो । यो हरेक मानिसको लागि उपयोगी कुरा हो ।

आविष्कारको सबैभन्दा चर्चामा रहेको भोटिङ मेशिन अन्य संस्थाले प्रयोग गरेपनि नेपालको निर्वाचन आयोगले भने प्रयोग गर्न चाहेन नि ?

निर्वाचन आयोगका सम्बन्धमा दुई तीन पक्ष छन् । सरकारले सिधै हाम्रो मेसिन किन्न पैसा दिने र मेसिन किन्ने भन्ने हुँदैन । यस्तो मेशिन किन्ने प्रक्रिया हुन्छ ।

सरकारले जब यो मेसिन प्रयोग गर्ने सहमति गर्छ र प्रयोग गर्न सुरु गर्छ त्यसपछि सम्पूर्ण जिम्मेवारी सरकारकै थाप्लोमा आउँछ । नौ वर्षअघि भोटिङ मेशिन आविष्कार गरेदेखि जिम्मेवारी हामीले आफ्नै थाप्लोमा लिईरहेका छौं ।

त्यस्तै, निर्वाचन आयोगका आयुक्तहरु पनि विभिन्न वर्गका हुनुहुन्छ । कोही इलेक्ट्रोनिक्स इन्जिनियर हुनुहुन्छ, कोही राजनीतिक नियुक्तिबाट, कोही निजामति कर्मचारीबाट आउनु भएको छ । विभिन्न क्षेत्रबाट आउनु भएकाले उहाँहरुमा नेपालकै प्रयोग गरौं भन्ने छ तर खुलारुपमा यही प्रयोग गरौं भन्न चाहीँ डराएको जस्तो देखिन्छ ।

चुनाव संवेदनशील हुन्छ । विद्युतीय भोटिङ मेशिन बिग्रेला भन्ने डर पनि होला । चुनाव गराउँदै जाँदा कसैले केही गलत प्रचार गरिदेला कि भन्ने उहाँहरुलाई लाग्यो कि ? नयाँ आयुक्त निकै सकारात्मक हुनुहुन्छ, मेशिन प्रयोग गर्छौं पनि भन्नुभएको छ ।

यसअघिका आयुक्तहरुले अर्को चुनावमा प्रयोग गर्छौं त भन्नुभयो तर मेशिन प्रयोग गर्नु भएन । भोटिङ मेशिनबाट अहिलेसम्म सानाठूला गरी ८४ वटा चुनाव भइसकेको छ ।

सरकारलाई पनि त्यो मेसिनले काम गर्दोरहेछ है भन्ने लागोस् भनेर नै हामीले यस्तो चुनाव गराएका हौँ । आशा छ एकदिन अवश्य सरकारले भोटिङ मेशिनको प्रयोग गर्नेछ ।

एनआरएनको चुनावमा विगतका दुई सम्मेलनमा तपाईंहरुकै भोटिङ मेसिन प्रयोग गरेपनि यसपालि चाहीँ मेशिनप्रति अविश्वास जस्तो देखियो नी ?

अविश्वास भन्दापनि गल्ती दुवै पक्षको कमजोरी रह्यो । हामीले पनि आज निर्वाचन गराउन सक्दैनौं भन्न सकेनौं । सबैभन्दा महत्वपूर्र्ण कुरा त हामीलाई आवश्यक समय दिईएन । मेसिन तयार गर्ने एउटा प्रक्रिया हुन्छ । उहाँहरुले निर्वाचनमा भाग लिने मानिसहरुको अन्तिम नामावाली प्रकाशन गरेपछि हामीले ८ घण्टाको समय मागेको थियौ ।

तर हामीलाई नामावली दिएको साढे २ घण्टाभित्र मेसिन तयार गरेर दिन भनियो । हामीले त्यो गर्न सक्दैनौं भन्दा उहाँहरुले दबाव थेग्न सकिँदैन, जे गरे नि गर्नुस् भन्ने कुरा गर्नुभयो । त्यसपछि हतार हतार मेसिन बनाउने कोशिसमा लाग्यौं ।

फोटो मिलाउने काम गर्यौं । हतार हतार मिलाउँदा फोटोको फम्र्याट मिलेन । यसरी नमिल्दा एउटाको नाममा अर्कोको तस्वीर देखियो । मान्छे भोट हाल्न तयार थिए, त्यसैबेला तालमेल बिग्रन थाल्यो । यो मात्रै एउटा यस्तो निर्वाचन हो जसमा हामीले एउटा पनि परीक्षण नगरी सिधै भोटिङ गर्यौं ।

केही समयपछि त्यहाँ फोटो र नाम मिलेन भन्ने कुरा आयो । त्यहाँ ज्यादै भीड थियो । त्यस्तो अस्तव्यस्त वातावरण हामीले कुनै चुनावमा देखेका थिएनौं । त्यहाँ भीड कसैको कुरा सुन्ने अवस्थामा थिएन ।

पछि भिडलाई नियन्त्रण गर्नको लागि आयोजकले सम्पूर्ण दोष हाम्रो मेसिनलाई नै दिनुभयो । हामीले काम रोकेर आज हुँदैन, भोली गरौं भन्यौं । तर, एउटा समूहले १० बजेतिर चुनाव भोटिङ मेसिनबाट नगर्ने भन्ने कुरा गर्यो । शेष घलेज्युले मेसिनबाट नगर्ने भन्नुभयो ।

हामीले मेशिनबाट चुनाव नगर्दा बाहिर गलत सन्देश जान्छ जुन तपाईंहामी कसैका लागि पनि राम्रो होईन भन्यौं । तर एउटा पक्ष नमाने पछि मतपत्रमै जाने निर्णय भयो । एउटा कुरा मेसिन नै बिग्रीयो भन्ने गलत समाचारहरु पनि आयो । मेशिनमा केही सामान्य त्रुटी आएको थियो । तर, हामी निर्वाचन नै गराउन नसक्ने अवस्थामा भने थिएनौं ।

सार्वजनिक गाडी कहाँ आईपुग्यो भनेर जानकारी दिने ‘लेट्ज गो’ एप पछिल्लो समय चर्चामा थियो । त्यसको प्रयोग कतिको भै रहेको छ ?

सार्वजनिक यातायातलाई चढ्न योग्य बनाउने योजनाअनुरुप तीन वर्षअघि हामीले ‘लेट्स गो’ शुरु गरेका थियौं । तर, रुट र गाडीको नम्बरिङको प्रणाली नबसेकाले त्यो अझै प्रभावकारी हुन सकेको छैन ।

लेट्स गो एपको माध्यमबाट हामी बाहिर गाडी चढ्दा ल १५ नम्बरको गाडी चढेर आऊ, फलानो रुटमा आउ भन्ने त हुन पर्यो नी । तर अहिलेसम्म यातायात व्यवस्था विभागले रुट फाइनल, रुट नम्बर दिएको छैन ।

यो काममा चासो नभएको देखेर हामीले नै १ सय १४ वटा रुट बनायौं र बिभागलाई दियौं । बिभागले ध्यान दिने हो भने यो पाँच दिनको काम हो । हामी आफैले १५ जना मान्छे लगाएर रुट बनाएका छौं तर विभागले यसमा कुनै चासो देखाएन ।

रुट नम्बर नहुने हो भने त यसको कुनै काम नै छैन । अहिले विश्वभरी नै गाडी रुट नम्बरमा चल्छ नेपालमा मात्रै हामी किन रुट बनाउन नसक्ने ? हामी आफै गाडीमा डिजिटल रुट नम्बर हालिदिन तयार छौं ।

हामीलाई सबैभन्दा आवश्यक कुरा भनेको रुट नम्बर नै हो त्यो नभई हामी कुन रुटबाट कहाँ जाने भनेर भन्न सक्दैनौं । त्यसैले जबसम्म सरकारकले रुट नम्बर बनाउँदैन, तबसम्म हामीले कुनै काम अघि बढाउन सक्दैनौं ।

महावीर पुनको नेतृत्वमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ सञ्चालनमा आएको छ । त्यसले युवा वैज्ञानिक तथा नवीन सोचको विकासमा कत्तिको सहयोग गर्ला ?

उहाँको सोच धेरै ठूलो हो । सरकारले गर्नु पर्ने काम एकजना व्यक्तिले गर्नु सानो कुरा भने होईन । यस्ता कुरामा सरकारले ध्यान दिइसक्नु पथ्र्यो । यद्यपि महावीर दाईले निर्माण गर्नु भएको टिम त्यति राम्रो भएन् कि जस्तो लाग्छ ।

राष्ट्रिय आविष्कार केन्द्रमा सिक्नको लागि मात्रै गएर केही हुँदैन । अहिले त भर्खरै कलेज सकेका विद्यार्थी त्यहाँ गएका छन् । यसलाई दिगो बनाउन सकेनौं भने सबैभन्दा धेरै समस्या हुन्छ । सहयोग वा चन्दा उठाएको पैसाले धेरै समय चलाउन सकिंदैन ।

आफूले उत्पादन गरेको सामान बजारमा बेच्न सक्ने भएमा मात्रै बजारमा स्थापित हुन् सकिन्छ । बजारमा स्थापित भयौं भने ‘राष्ट्रिय आविष्कार केन्द्र’ दिगो हुन्छ । प्रोजेक्ट गरेर कुनै पनि हालतमा आविष्कार केन्द्र सफल हुँदैन । दान त केही समयको लागि हो, स्थापित हुन प्रडक्ट बेच्नैपर्छ ।

नेपालमा अझैपनि विदेशी प्रविधिको बढी भर पर्ने अवस्था छ तपाईंहरुले विकास गर्नु भएका प्रविधिको बजार कस्तो छ ?

यो सोच परिवर्तन गर्न समय लाग्छ । हामी पनि धेरै सामानहरुको आविष्कार गर्छौं र मानिसवीच लैजान्छौं । त्यो सामानलाई चिटिक्क पारेर रंग लगाएर लाने हो भने यो सामान चीनबाट ल्याएको हो भन्ने प्रश्न आउँछ ।

अल्ली फिक्का र रंगरोगन नगरेको छ भने भारतबाट ल्याएको हो भन्ने हुन्छ । नेपालको त कसैले भन्दै भन्दैनन् ।’ हामीलाई कतिसम्म परेको छ भने हामी भोटिङ मेसिन देखाउन पूर्व प्रधानमन्त्री कहाँ पुग्यौं ।

हामीले उहाँसँग आफ्ना कुरा राख्यौ, यो नेपालमा हामीले बनाएको हो । नेपाली उत्पादनलाई देशविदेशमा प्रचार गर्नुपर्छ भनेर ३० पानाको पत्र दियौं र झण्डै ३० मिनेट कुरा गर्यौ । त्यसपछि हामीले मेसिन प्याक गर्ने बेलामा उहाँले प्रश्न गर्नुभयो, यो चाइनाबाट ल्याएको हो ?’

हामीलाई अचम्म लाग्यो के सोच्नु भयो होला ? के सुन्नुभयो होला ? फेरी उहाँले सोध्नुभयो कि भारतबाट ल्याएको हो ? ‘प्रधानमन्त्री भईसकेको मान्छेको सोच त नेपालमा राम्रो प्रविधि उत्पादन हुँदैन भन्ने छ भने एउटा सामान्य मान्छेको सोच परिवर्तन हुन त धेरै समय लाग्छ नि ।

यस क्षेत्रमा काम गरेको झण्डै २१ वर्षमा हामीले आफ्ना पुराना ग्राहकहरुको सोच केही मात्रामा मात्रै परिवर्तन गर्न सकेका छौं । हामीजस्तै ५- ७ वटा समूह भयो भने बल्ल ए नेपालमा पनि राम्रो हुन्छ है भन्ने सोचको विकास हुन्छ ।

आफूले विकास गरेको प्रविधिमध्ये तपाईंहरुलाई सबैभन्दा धेरै मन परेको कुन हो ?

हामीलाई त हाम्रा सबै उत्पादन मन पर्छ । तर प्रयोगको हिसावले भन्ने हो भने समुदायको सुरक्षाको लागि राखिएको सामुदायिक साइरन सबैभन्दा मन परेको छ ।

अर्को भनेको प्रयोग खास नभएको तर भइदिए हुन्थ्यो भन्ने लागेको प्रविधि भनेको भोटिङ मेसिन हो । भोटिङ मेसिनको सन्दर्भमा हामी बरु नेपालमा सित्तैमा दिन्छौं ।

यो प्रविधि सरकारलाई हस्तान्तरण गर्न समेत तयार छौं, हाम्रो नाम राख्ने शर्तमा । हाम्रो मुख्य लक्ष्य भनेको ती भोटिङ मेसिनमा मेड इन नेपाल राखेर निर्यात गर्ने हो । नेपाल जस्तै कम विकसित देशमा पनि यो मेसिन लान सकियोस भन्ने हाम्रो धारणा हो ।

मेशिनमा पछिल्लो प्रविधिको प्रयोग छ, अटोमेटिक प्रिन्ट हुने सिस्टम छ । यसका साथै भोट गन्ने काम पनि सरलरुपमा हुन्छ । यसले आएको मतलाई जोड्दै जान्छ । बुझ्न सजिलो र सुरक्षाको हिसाबले बलियो यो मेसिन अन्तराष्ट्रिय बजारमा लैजाने नै हाम्रो सबैभन्दा ठूलो लक्ष्य हो ।

सरकारले प्रयोग गर्ने कुरामा चाँही चलखेल भएको छ । कसैले विदेशी प्रयोग गर्ने भन्छन्, कसैले कमिसन दिनुपर्छ भन्छन् । तर हामीले आशा भने छोडेका छैनौं ।

तपाईंहरुको विचारमा नेपालका लागि सबैभन्दा आवश्यक प्रविधि के होला ?

नेपालको लागि सबैभन्दा आवश्यक कुरा भनेको राष्ट्रिय कार्ड नै हो । तर, यस्तो सामान्य र धेरै समय नलाग्ने कुरालाई ठूलो बनाउन आवश्यक छैन् । लगभग १० वर्ष भईसक्यो स्मार्ट कार्डको कुरालाई ठूलो कुरा बनाएर बसेका छन् ।

नेपालमा राष्ट्रिय कार्ड ज्यादै आवश्यक छ । भारतमा आधार कार्ड बनेपछि भ्रष्टाचारमा समेत सुधार आएको छ ।

नेपालमा एउटै मानिसले दुईतीन वटा नागरिकता पनि लिएका छन् । त्यसकारण एउटा व्यक्तिको बैंकमा, वडा कार्यलयमा, कर कार्यलयमा तथा अन्य विभिन्न स्थानमा एउटा मानिसको एउटै युनिक कोड भयो भने ९० प्रतिशतभन्दा धेरै भ्रष्टाचारमा सुधार हुनेछ ।

गैरआवासीय नेपाली बदनाम हुने क्रम जारी, रामलक्ष्मण भन्छन् – भोटिङ मेशिन बिग्रेकै थिएन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here