वर्षमा साढे १५ अर्बको ऋणपत्र बजारमा

Source: CreditDebitPro

काठमाडौं २३ चैत । गत एक वर्षमा आधा दर्जन भन्दा बढी वाणिज्य बैंकले १५ अर्ब ५८ करोड रुपैयाँको ऋणपत्र जारी गरेका छन् । ती मध्ये सर्वसाधारणका लागि ५ अर्ब १ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिएको छ ।

एनआईसी एसिया (दुई वटा), सानिमा, ग्लोवल आइएमई, सिद्धार्थ, एनएमबी र सनराइज ६ संस्थाले सात प्रकारका ऋणपत्र निष्काशन गरेका छन् । ती मध्ये सिद्धार्थ बैंक बाहेक सबैको ब्याजदर वार्षिक १० प्रतिशत छ । सिद्धार्थ बैंकको ब्याजदर भने साढे १० प्रतिशत छ ।

बैंकले ऋणपत्र जारी गर्ने होड धेरै चले पनि अपेक्षित रुपमा लगानीकर्तामाझ लोकप्रिय हुन सकेको छैन । ऋणपत्रलाई मध्य तथा दीर्घकालीन प्रकृतिको वित्तीय औजार मानिन्छ । सेयरको भन्दा ऋणपत्रको लगानी कम जोखिम पूर्ण मानिन्छ । उच्च ब्याजदर पाइने वा प्रतिफल निश्चित हुने भएकाले ऋणपत्रमा लगानी कम जोखिमपूर्ण मानिएको हो ।

नेपालमा निजी क्षेत्रको पहिलो वाणिज्य बैंक नविल बैंकले पनि ऋण पत्र निष्कासन गर्ने तयारी गरेको छ । यसकालागि लक्ष्मी क्यापिललाई निष्काशनकर्ता नियुक्त गरिसकेको छ ।

के हो ऋणपत्र ?

तोकिएको दर र समयमा सांवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा कम्पनीद्वारा जारी गरिएको धितोपत्रलाई डिबेञ्चर वा संस्थागत ऋणपत्र भनिन्छ । यसको अंकित मूल्य साधारणतया १ हजार रुपैयाँ हुन्छ ।

डिबेञ्चरधनीले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्छन् । डिबेञ्चरधनीलाई कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुने अवसर तथा मतदान गर्ने अधिकार प्राप्त हुंदैन ।

साधारण शेयर र अग्राधिकार शेयरधनीले लाभांश प्राप्त गर्नु अघि ऋणपत्रका लगानीकर्ताले ब्याज प्राप्त गर्दछन् । सम्बन्धित कम्पनी नोक्सानमा गएपनि ऋणपत्रका लगानीकर्तालाई कुनै नोक्सान पर्दैन । किनभने ऋणपत्रका लगानीकर्ता र कम्पनी बीच साहु र ऋणीको सम्बन्ध रहेको हुन्छ । ऋणपत्रका लगानीकर्ताको हितमा कार्य गर्न साक्षी स्वरुपको एक ट्रष्टीको पनि नियुक्त गरिएको हुन्छ ।

कम्पनी घाटामा खारेजीमा जाने अवस्था आएमा पनि कम्पनीको दायित्व भुक्तानी गर्ने क्रममा ऋणपत्रका लगानीकर्ताहरुले अन्य धितोपत्रको तुलनामा पहिलो प्राथमिकता पाउने हुँदा ऋणपत्रमा गरिएको लगानी डुब्ने संभावना न्यून हुन्छ् ।

ऋणपत्रका लगानीकर्तालाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने र मतदान गर्ने अधिकार प्राप्त हुँदैन ।

ऋणपत्रका प्रकार

ऋणपत्रहरु विभिन्न प्रकारका हुन्छन । कम्पनीले आफ्नो सम्पति जमानत वा बन्धक राखी निष्काशन गर्ने ऋणपत्र सुरक्षित ऋणपत्र हुन् । सम्पति जमनात वा बन्धक नराखिएको ऋणपत्र असुरक्षित ऋणपत्र हुन् ।

निश्चित समयावधिपछी साँवा फिर्ता दिइने प्रतिवद्धतासहित निष्काशन भएको ऋणपत्रलाई विमोच्य ऋणपत्र हुन् । निरन्तर ब्याज भुक्तानी गर्ने तर साँवा भुक्तानी गर्ने समयावधि निश्चित नभएको ऋणपत्रलाई अविमोच्य ऋणपत्र भनिन्छ ।

यस्तो ऋणपत्र हाल प्रचलनमा छैन । दोस्रो विश्वयुद्धपश्चात अधिकांश देशका सरकारले यसप्रकारको ऋणपत्र जारी गरेको पाइन्छ । तोकिएको निश्चित समयावधिपश्चात् निश्चित मापदण्डको आधारमा साधारण शेयरमा परिवर्तन गर्न सकिने ऋणपत्रलाई परिवर्तनशिल ऋणपत्र भनिन्छ ।

नेपालमा ऋणपत्र निष्काशन गर्नेमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको देखिन्छ । हालसम्म ३६ सूचीकृत संगठित संस्थाले ऋणपत्र निष्काशन गरिसकेका छन् ।

सरकारले सार्वजनिक रुपमा जारी गरेका धितोपत्रलाई सरकारी धितोपत्र÷ऋणपत्र भनिन्छ । सरकारले घाटा बजेट पुरा गर्न, साधारण खर्च तथा विकास खर्च जुटाउन समय समयमा पत्रिकामा सूचना प्रकाशित गरेर सरकारी धितोपत्र निष्काशन गर्छ । सरकारी धितोपत्र मध्यकालीन र दीर्घकालीन गरी दुई प्रकारका हुन्छन ।

सरकारले जारी गर्ने विभिन्न ऋणपत्रमध्ये विकास ऋणपत्रमात्र नेपाल स्टक एक्सचेञ्ज लि.मा सूचीकृत हुने गरेको छ । ऋणपत्र थोरै मात्र सार्वजनिक निष्काशन हुने गरेका छन् । यसकारण ऋणपत्रको दोस्रो बजार अपेक्षित रुपमा विकसित हुन सकेको छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here