पानीको समस्या कम गर्न ‘पुनर्भरण प्रणाली’, कसरी गरिन्छ संकलन ?

काठमाडौं, ८ फागुन । घट्दो भूमिगत पानीको सतह र पानीको समस्या कम गर्न काठमाडौंमा पानी पुनर्भरण प्रणाली शुरु भएको छ ।

महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ को नमूना योजना पानी पुनर्भरण प्रणालीको सुरुवात गरेको हो ।

काठमाडौं महानगरको वडा २६ स्थित आवास क्षेत्रको गोंगबु डबलीमा सुरु भएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरेका हुन् ।

गोंगबु आवास क्षेत्र सुधार समितिको स्थानीय सहयोग र एकीकृत सहरी विकास केन्द्रको प्राविधिक सहयोगमा स्थापना गरिएको प्रणाली १ रोपनी जग्गा (क्याचमेन्ट) मा जम्मा भएको पानी जमिनमुनि पठाउने व्यवस्था मिलाइएको छ ।

जग्गामा टहरा र खाली ठाउँ छ । टहरामा आकाशे पानी संकलन विधि जडान गरिएको छ ।

यसबाट प्राप्त भएको परिणाम मुल्याङ्कन गरेर महानगरका सबै वडा, सार्वजनिक तथा खुल्ला जग्गामा पानी पुनर्भरण प्रणाली जडान गरिने शाक्यको भनाइ छ । यस क्षेत्र (क्याचमेन्ट) मा जम्मा भएको पानी क्याचफिटमा जम्मा हुन्छ ।

यसरी पानी जम्मा गर्न ३ वटा क्याचफिट बनाइएका छन् । त्यहाँबाट पानी पुनभरण इनार (रिचार्ज वेल) मा जान्छ । डवलीको खाली ठाउँमा २ वटा पुनभरण इनार बनाइएका छन् ।

दुईमध्येको एउटा २४ फिट गहिरो र ४२ इन्च गोलाइको छ भने अर्को १४ फिट गहिरो र ४२ इन्च गोलाइको छ । २४ फिट गहिरो इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको १०० एमएमसम्मका गिटी राखिएको छ ।

त्यसभन्दा माथि ३ फिटमा त्योभन्दा मसिना गिटी, त्यसको माथिल्लो ३ फिटमा खस्रो बालुवा र त्यसभन्दा माथि जिओ टेक्स्टाइल राखिएको छ ।

जमिनमा जम्मा भएको पानी यही इनारबाट छानिँदै जमिनमुनि जान्छ । डबलीसँगै रहेको नर्सरीमा पनि यस्तै प्रणाली जडान गरिएको छ ।

यहाँ भने एउटा क्याचफिट र एउटा पुनभरण इनार निर्माण गरिएको छ । यी दुवै ठाउँमा प्रणाली जडान गर्न करीब ५ लाख रुपैयाँ लागत लागेको वातावरण व्यवस्थापन बिभागकी इञ्जिनियर निशा कोइरालाले जानकारी दिए ।

इञ्जिनियर कोइरालाका अनुसार यस प्रणालीबाट १ बर्षमा करीब ७ लाख ६७ हजार लिटर पानी पुर्नभरण हुने अपेक्षा गरिएको छ ।

महानगरको तथ्यांकअनुसार अहिले काठमाडौंमा दुई लाख ७५ हजार घर छन् । प्रत्येक घरबाट पाँच हजार लिटर पानी जम्मा गरेर जमिनमुनि पठाउन सकिने महानगरको भनाइ छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार केही बर्षअघिसम्म ट्युबेलबाट प्रतिमिनेट एक हजार लिटर पानी उत्पादन हुन्थ्यो । अहिले भने प्रतिमिनेट सात सय लिटर पानी उत्पान हुने गरको छ ।

त्यस्तै, ढुंगेधारा र इनारमा पानी आउन छाडेका छन् । अर्कोतर्फ पानी परेका वेला उपत्यकाका धेरै ठाउँहरू डुबानमा पर्ने गरेका छन् । काठमाडौं महानगरका अनुसार करिब ८३ प्रतिशत जमिन घर वा भौतिक संरचनाले ढाकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here