११ मिनेट अन्तरीक्ष यात्रा गरेर फर्किएका ६ महिला को हुन् ?

काठमाडौं । ६ महिलाको एक समूह ११ मिनेट लामो अन्तरिक्ष यात्राबाट सुरक्षित फर्किएको छ । टोलीमा पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता सहित विभिन्न क्षेत्रका ६ महिला थिए ।

१४ अप्रिल अर्थात् वैशाख १ गते जेफ बेशोजको कम्पनी ब्लु ओरिजिनले पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी पूर्वरकेट वैज्ञानिक आइशा बोवे, फिल्म निर्माता क्यारियन फ्लिन र लरेन सान्चेजलाई अन्तरिक्ष यात्रा गराएको छ । बीबीसीका अनुसार अन्तरिक्षमा पुग्दा पप गायिका केटी पेरीले गीत गाएकी थिइन् ।

महिलाहरूको समूहले मात्र अन्तरिक्ष यात्रा गरेको यो पहिलोपटक हो । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भेलेन्टिना टेरेश्कोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन् ।

महिला टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले ‘न्यु शेपर्ड–३१’ नामको रकेट मार्फत अन्तरिक्षमा पठाएको थियो । सो रकेटलाई अमेरिकाको पश्चिम टेक्सासस्थित ब्लु ओरिजिन कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो ।

यो अन्तरिक्ष यान पूर्णरूपमा स्वचालित थियो । यसको अर्थ, अन्तरिक्ष यानभित्र यसलाई सञ्चालन गर्ने कोही चालक आवश्यक परेन । सो अन्तरिक्ष यानको अधिकतम गति २ हजार ३०० माइल प्रतिघण्टा थियो ।

यो ध्वनिको गतिभन्दा तीन गुणा बढी हो । महिलाहरुको समूह कार्मन रेखा पार गरेर पृथ्वीमा फर्किएका थिए । कार्मन रेखा एउटा काल्पनिक सीमा रेखा हो । यसलाई पृथ्वीको समुद्री सतहबाट १०० किलोमिटर माथिको बिन्दुको रूपमा परिभाषित गरिएको छ ।

यही बिन्दुबाट पृथ्वी छाडेर अन्तरिक्षको यात्रा सुरु हुन्छ । अर्थात्, यो बिन्दुलाई पृथ्वीको वायुमण्डलको अन्त्य र अन्तरिक्षको सुरुआत मानिन्छ ।

जो व्यक्ति यो सीमाभन्दा माथि यात्रा गर्छन्, उनीहरूलाई ‘अन्तरिक्ष यात्री’को दर्जा दिइन्छ । कार्मन रेखाको निर्धारण फेडेरेसन एरोनोटिक इन्टरनेशनलले गरेको हो । यो उचाइसम्म पुग्नुलाई अन्तरिक्ष सम्बन्धी अनुसन्धानको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।

महिला टोलीले कार्मन सीमामा केही मिनेटसम्म गुरुत्वाकर्षण नहुने अवस्थाको अनुभव गर्नुका साथै अन्तरिक्षबाट पृथ्वीको अदभूत दृश्यको मजा लिएका थिए ।

यो यात्रा कुल ११ मिनेटको थियो । उनीहरू ७ मिनेटसम्म रकेटमा यात्रा गरेका थिए । ब्लु ओरिजिन कम्पनीका अनुसार यो मिसनको उद्देश्य मानिसहरुलाई अन्तरिक्ष पर्यटनप्रति आकर्षित गर्नु र त्यसमार्फत नयाँ पर्यटन उद्योग निर्माण गर्नु हो ।

साथै, यो प्रयासले ‘महिलाको विकास’मा केन्द्रित हुने र भावी पुस्तालाई प्रेरणा दिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here