घट्न थाल्यो बैंकको ब्याजदर, कसको कति ?

काठमाडौं, २३ फागुन । बैंकहरुले अपेक्षितरुपमा मुनाफा बढाउन नसकेपछि ब्याजदर घटाउन थालेका छन् ।

बजारमा तरलता सहज नभएपनि ब्याज खर्च घटाएर नाफा बढाउने दबाबमा बैंकले निक्षेपकर्तालाई दिने ब्याज घटाउन थालेका हुन् । बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम (तरलता) सहज हुँदै गएको छ ।

बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै हुन थालेपछि अधिक तरलताको अवस्था आएको हो । लगानीयोग्य रकम अर्थात तरलता सहज भएपछि बैंकहरुले पछिल्लो समय घटाएर नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् ।

यसैक्रममा नेप्सेमा सूचीकृत १० वाणिज्य बैंकहरुले फागुन १५ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

गत वर्ष पुसमा तरलता अभाव चुलिएपछि बचत आकषिर्त गर्न बैंकबीच निक्षेपमा ब्याज धेरै दिने होड चलेको थियो । केहि बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १४ प्रतिशतसम्म ब्याज दिएका थिए ।

निक्षेप खोसाखोसको स्थिति अन्त्यका लागि बैंकरहरुले बचतमा साढे ६ प्रतिशतभन्दा बढि ब्याज नदिने भद्र सहमति गर्न पुगे । अहिल केहि बैंकले बचतको ब्याजदर ५ प्रतिशतमा झारेका छन् ।

राष्ट्र बैंकका अनुसार अहिले मूल्य बृद्धिदर ६ दशमलव ८ प्रतिशत छ । बचतमा दिने ब्याज मूल्य वृद्धिदरभन्दा माथि हुनुपर्छ । अन्यथा ग्राहकले बैंकमा बचत गर्दैनन् । पुससम्म निक्षेपको औसत ब्याजदर ६ दशमलव सात नौ प्रतिशत थियो ।

अघिल्लो वर्ष छ महिनामा २९ प्रतिशत मुनाफा बढाएका बैंकको मुनाफा वृद्धिदर यसपालि संकुचन भएको छ । यसपालि पुसमसान्तसम्म बैंकहरुको मुनाफा साढे ६ प्रतिशतले मात्र बढेको छ । बैंक व्यवस्थापनमाथि मुनाफा बढाउनुपर्ने सञ्चालकहरुको दबाब छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.६ प्रतिशत रहेको छ ।

यता, बैंकले बचततर्फ न्यूनतम ०.७ प्रतिशत देखि अधिकतम ६ प्रतिशत सम्म ब्याजदर दिने जनाएको छ । यस बैंकको पुस मसान्तसम्म आधारदर ९.६४ प्रतिशत छ । यसैलाई आधार मानेर ऋण दिनेछ ।

नबिल बैंक

नबिल बैंकले फागुन १५ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा अधिकतम ८.५ प्रतिशत ब्याजदर तोकेको छ ।

यता, बैंकले बचततर्फ न्यूनतम ३.२५ प्रतिशत देखि अधिकतम ५.२५ प्रतिशत सम्म मात्र ब्याज दिने भएको छ ।

प्रभु बैंक

प्रभु बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा अधिकतम ८.५ प्रतिशत रहेको छ ।

यता, बैंकले बचततर्फ न्यूनतम ३.५ प्रतिशत देखि अधिकतम ५.५ प्रतिशत सम्म ब्याजदर दिनेछ । यस बैंकको पुस मसान्तसम्मको आधार दर ९.४ प्रतिशत रहेको छ ।

यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध गराउने छ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (५ प्रतिशत ) प्रिमियम थप गरेर कर्जा दिएको छ ।

प्राइम बैंक

प्राइम बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.६ प्रतिशत रहेको छ ।

बैंकले बचततर्फ ६.५ प्रतिशत सम्म ब्याजदर दिनेछ । पुस मसान्तसम्म यसको आधारदर ९.४ प्रतिशत छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत मुद्दतिमा ८.५ प्रतिशत निर्धारण भएको छ ।

बचतमा न्यूनतम ३.५० प्रतिशत देखि अधिकतम ५.५ प्रतिशत सम्म ब्याज पाइनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ८.४६ प्रतिशत रहेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.५ प्रतिशत हुनेछ ।

बैंकले बचतमा न्यूनतम ४.५% देखि अधिकतम ६.५ प्रतिशत सम्म ब्याज दिनेछ । पुस मसान्तसम्ममा यसको आधार दर १०.० प्रतिशत रहेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.५ प्रतिशत रहेको छ ।

बैंकले बचततर्फ न्यूनतम २ प्रतिशत देखि अधिकतम ५ प्रतिशत सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ९.९ प्रतिशत रहेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.६ प्रतिशत छ ।

बैंकले बचततर्फ न्यूनतम ४.५ प्रतिशत देखि अधिकतम ६.५ प्रतिशत सम्म ब्याजदर दिने जनाएको छ । बैंकको पुस मसान्तसम्म आधारदर १०.१ प्रतिशत छ । यसैलाई आधार मानेर ऋण दिनेछ ।

सनराइज बैंक

सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.५ प्रतिशत हुनेछ ।

बैंकले बचतमा न्यूनतम ४ प्रतिशत देखि अधिकतम ६ प्रतिशत सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर १०.० प्रतिशत रहेको छ ।

यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण दिंदै आएको छ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (६ प्रतिशत) प्रिमियम थप गरेर कर्जा दिएको छ ।

सानिमा बैंक

सानिमा बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दतिमा ८.६ प्रतिशत ब्याजदर निर्धारण भएको छ ।

बचतमा न्यूनतम ३.२ प्रतिशत देखि अधिकतम ६.५ प्रतिशत सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ९.२ प्रतिशत रहेको छ । यसमा केही प्रतिशत प्रिमियम हुनेछ । जसअनुसार सेयर घर गाडी, शैक्षिक कर्जामा ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा दिनेछ ।

डाटास्रोत:नेपाली पैसा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here