दोस्रो बजारमा लगानी गर्दा यी कुरामा ध्यान दिऊ

प्राथमिक बजारको तुलनामा दोस्रो बजार जोखिमपूर्ण मानिन्छ । कम्पनीको मूल्य घटबढ भइरहने भएकाले दोस्रो बजारमा जोखिमको सम्भावना धेरै हुन्छ ।
दोस्रो बजार सूचनासँग संवेदनशील बजार हो । यसले लगानी कार्यमा चुनौति थपेको हुन्छ । राम्रो प्रतिफल प्राप्त गर्न त्यत्तिकै रुपमा जोखिम पनि बहन गर्न सक्नु पर्छ ।

प्रतिफल र जोखिम लगानीसँग अन्तरसम्बन्धित विषय हुन । यसकारण उचित प्रतिफल प्राप्त गर्न लगानीकर्ताले विवेकशिल तरिकाबाट लगानी निर्णय गर्न सक्नुपर्छ ।

जोखिमलाई न्यूनीकरण गर्न विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । प्रमुख विषयहरु यसप्रकार छन ।

समिर चाँपागाई

 बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकाले धितोपत्रमा लगानी गर्दा उपयुक्त सूचना लिई संयमित तथा विवेकशील रुपमा लगानीको निर्णय लिने ।

 लगानी गर्दा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको बास्तविक बस्तुस्थिति बुझेर स्वविवेकमा लगानी सम्बन्धी निर्णय गर्ने ।

 लगानीमा आफुले जोखिम बहन गर्न सक्ने क्षमता मूल्याकंन गर्ने ।

 लगानी निर्णय गर्नु अघि सूचीकृत कम्पनीको कार्य सम्पादन स्थिति, सेयर मूल्यमा प्रभाव पार्नसक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयर घोषणा, व्यवस्थापन परिवर्तन, भावी योजना, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांक (प्रतिसेयर आय, प्रतिसेयर लाभांश, मूल्य/आय अनुपात प्रतिसेयर नेटवर्थ, पूँजी कोष अनुपात, निस्क्रिय कर्जा अनुपात आदि) राम्रोसँग अध्ययन गर्नुपर्छ ।

 पछिल्ला केही वर्षयता कम्पनीको सेयर मूल्य प्रबृत्ति, साधारण सभाको निर्णय (माइन्यूट) जस्ता महत्वपूर्ण कुरा अध्ययन गर्ने । यस्ता सूचना तथा गतिविधि निरन्तररुपमा नेप्से, सम्बन्धित कम्पनीको वेबसाईट तथा विभिन्न आर्थिक पत्रपत्रिकामा प्रकाशित हुने गर्छ ।

 सेयर बजार देशको समग्र आर्थिक तथा राजनैतिक स्थितिबाट प्रत्यक्ष प्रभावित हुन्छ । यसकारण सेयरमा लगानी गर्दा यसप्रति सजग हुनुपर्छ ।

 एकै क्षेत्रका कम्पनीमा लगानी गर्दा जोखिम धेरै हुन्छ । यसकारण सम्भव भएसम्म लगानी विविधिकरण गरी जोखिम न्यूनीकरण गर्नुपर्छ । दीर्घकालीन रुपमा गरिने लगानीले जोखिमको संभावनालाई न्युन गराउने भएकाले त्यसमा ध्यान दिने ।

 लगानीकर्ताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐन नियमहरुको साथै सेबोनले गरेका व्यवस्थाबारे जानकारी राख्ने । धितोपत्र सम्बन्धी ऐन नियम र अन्य व्यवस्थाको जानकारी नेपाल धितोपत्र बोर्डको वेबसाइट तथा विभिन्न प्रकाशनमार्फत समेत हेर्न सकिन्छ ।

 सेयर लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासा भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी, सीडीएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्ने ।

दोस्रो बजारको विश्लेषणलाई आधारभूत र प्राविधिक गरी दुई किसिमले गर्ने प्रचलन छ ।

आधारभुत विश्लेषणः आधारभूत विश्लेषणमा सम्बन्धित कम्पनीको वित्तीय विवरण, कम्पनीको व्यवस्थापन तथा प्रतिस्पर्धात्मक फाइदा, कम्पनीको प्रतिस्पर्धी तथा बजार आदिको विश्लेषण गरिन्छ ।

आधारभूत विश्लेषण कम्पनीको विगत तथा वर्तमान कार्य सम्पादनको अध्ययन गरी भविश्यको कार्य सम्पादनको प्रक्षेपण गर्ने गरिन्छ ।

यसमा विशेष कम्पनीको वित्तीय कार्यसम्पादन, प्रति शेयर आम्दानी, प्रति शेयर खुद मूल्य, प्रति शेयर लाभांश, मूल्य आय अनुपात, ऋण तथा स्वामीत्व पुँजीको अनुपात, व्यवस्थापनमा परिवर्तन, व्यवसायको वर्तमान अवस्था तथा भविष्यको संभावना, प्रतिस्पर्धात्मक स्थिति र सम्बन्धित उद्योग तथा अर्थतन्त्रको अवस्था आदिको अध्ययन तथा विश्लेषण गरी सेयरको वर्तमान मूल्य तथा भविष्यको मूल्यको निर्कोल गरिन्छ ।

प्राविधिक विश्लेषणः विभिन्न चार्ट तथा प्रवृत्तिको माध्यमबाट सेयरको विगत तथा वर्तमान मूल्य तथा कारोवार रकमको विश्लेषण गरी भविष्यको मूल्य प्रक्षेपण गर्ने विधि प्राविधिक विश्लेषण हो ।

यसमा विगत तथा वर्तमानमा समेत मूल्य बृद्धि भइरहेको भएमा भविष्यमा समेत मूल्य बृद्धि हुने र विगत देखि वर्तमान अवस्थामा मूल्य घट्दै आएको भए भविष्यमा समेत मूल्य घट्ने मान्यता राखिन्छ ।
(लेखकः समिर चाँपागाई)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here