महाभारत चुचुरोमा नयाँ पदमार्ग

काठमाडौं, ३ बैशाख । महाभारत पर्वत श्रृङ्खलाअन्तर्गत धादिङ र मकवानपुरको सीमा क्षेत्रमा अवस्थित झण्डाचुलीमा राष्ट्रिय झण्डा गाडिएको छ । नयाँ वर्षको पहिलो दिन बैशाख १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले थाक्रे गाउँपालिका वडा नं. ३ मा अवस्थित झण्डाचुली चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरे ।

महाभारत चुचुरोमा नयाँ पदमार्ग स्थापनाको शुरुवातका रुपमा यो झण्डा स्थापना गरिएको हो ।
पर्यटनको प्रचुर सम्भावना बोकेको भूमिचुली क्षेत्रको सबै भन्दा अग्लो झण्डाचुलीमा यसअघि २०३२ सालमै नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहासलाई स्मरण गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानको आयोजनामा झण्डा स्थापना गरिएको बताइएको छ ।

झण्डाचुली मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल हो । यस भेगमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कंडेलले बताए । ऐतिहासिक, प्राकृतिक र धार्मिक महत्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भन्दै यस क्षेत्रको विकासलाई प्राथमिकता दिइने उनको प्रतिवद्धता छ ।

यस क्षेत्रमा आदिवासी जनजाती तामाङ र चेपाङ समूदायको बाहुल्य छ । यसअघि महाभारत क्षेत्र पर्यटन विकासमा प्रयोग भएको छैन । यो मार्ग पर्यटनमै नयाँ प्रयोग हुने बताइएको छ । काठमाडौं, नारायणगढ र हेटौंडाको बीचमा परेकाले यस पदमार्गको सम्भावना पनि अधिक देखिएको छ ।

कार्यक्रममा धादिङ क्षेत्र नं. १ का सांसद भुमि त्रिपाठीले यस क्षेत्र हुँदै अध्ययन गर्न लागिएको चनदागिरी चेपाङहिल पदमार्गलाई गाँजा ट्रेकिङ ट्रेल नाम राख्न प्रस्ताव गरे । यस क्षेत्रमा गाँजा अधिक उत्पादन हुन्छ । अत्याधिक उत्पादन हुने गाँजाको महत्व झल्काउन पदमार्गको नामै गाँजा हिल राख्नु पर्ने उनले बताए । गाँजा ओसार पसार प्रतिबन्धित भएपनि नाममा प्रतिबन्ध नभएका कारण पहिचानका लागि यो आवश्यक रहेको उनको भनाइ छ ।

यस भेगमा कुन पूर्वाधार बनाउन आवश्यक रहेछ भनि अध्ययन गर्न आएको उनको भनाई छ । सांसद त्रिपाठीका अनुसार तोप्लाङमा भ्यूटावर सहित होमस्टे, रानीझरनामा क्यानोनिङ पार्क, थामभञ्ज्याङमा बुद्ध मूर्ति सहित पार्क, भूमिचुलीमा गुम्बा र स्तुपा, कैलाश, सुन्दरनागीमा संसारकै ठुलो शिव मुर्ति, कान्द्राङ गढीमा पार्क र नोहक संरक्षण र पदमार्ग निर्माण गर्ने योजना बनाइएको छ ।

प्रदेश नीीत तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले पूर्वाधार निर्माणमा लाग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here