विद्यालय शिक्षाको गुणस्तरमा कसरी सुधार ल्याउने ?

-नवराज भट्ट

नवराज भट्ट

नेपालमा अहिले ३६ हजार भन्दा बढी विद्यालयमा २८ लाखको हाराहारीमा विद्यार्थीहरु पढ्छन । विद्यालय तथा विद्यार्थी संख्यामा भएको यो वृद्धिले शिक्षामा पहुँच र सहभागिता उल्लेख्य बढेको देखाउँछ ।

तर, कक्षा १ मा भर्ना भएका मध्ये ६२ प्रतिशतभन्दा बढी विद्यार्थीले १० कक्षा नपुग्दै विद्यालय छोड्ने गरेको पनि तथ्यांकहरुले देखाउँछन् । यसले नेपालको विद्यालय तहको शिक्षामा शैक्षिक क्षतिको मात्रा ठूलो रहेको प्रष्ट पार्छ ।

विद्यालयमा भर्ना भएका बालबालिकाले पनि विद्यालयमा के के सिक्नुपर्ने हो र के सिकेका छन् भन्ने बिषयमा सन्तोषजनक जवाफ दिन सकिएको छैन ।

शिक्षा के र किन भन्ने सम्बन्धमा विभिन्न दृष्टिकोण छन् । यस अनुसार गुणस्तरको परिभाषामा पनि भिन्नता देखिन सक्छ ।

खस्कँदै छ विद्यालय शिक्षाको गुणस्तर

गुणस्तरीय शिक्षाको एउटै र सर्वमान्य परिभाषा खोज्नु उपयुक्त नभएपनि यसको गुणस्तरलाई सामाजिक, आर्थिक, सांस्कृतिक अवस्था तथा प्रविधिको विकासका आधारमा सान्दर्भीकरण गरेर हेर्नुपर्ने हुन्छ ।

शिक्षाको मानवतावादी दृष्टिकोणका अनुसार प्रत्येक बालबालिकामा आत्मविश्वास, अन्तरनिर्भरता र स्वतन्त्र रुपमा कार्य गर्न सक्ने सामथ्र्यको विकास गर्ने गरी अन्तरनिहीत प्रतिभाको विकास गराउनु शिक्षाको उद्देश्य हो ।

शिक्षालाई मानव पूँजी विकासका रुपमा हेर्ने दृष्टिकोणले भने यसले श्रम बजारको माग अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सक्नुपर्छ भन्ने विचार राख्छ ।

विद्यालय शिक्षाको गुणस्तरको लेखाजोखा गर्दा विद्यार्थीमा विकास भएका उल्लेखित सक्षमताको आधार लिनु उपयुक्त हुन्छ । तर, नेपालमा कक्षा १० को अन्त्यमा सञ्चालन गरिने एसईर्ई परीक्षाको नतिजालाई नै प्राथमिकता दिई विद्यालय शिक्षाको गुणस्तरको चर्चा हुने गरेको छ ।

कक्षाकोठामा गरिने निरन्तर मुल्यांकन र त्यसबाट प्राप्त हुने पृष्ठपोषणलाई प्रोत्साहित गर्ने र सृजनशील सिकाई क्रियाकलापमा संस्थागत विद्यालयका विद्यार्थीको भन्दा सामुदायिक विद्यालयका उपलब्धि कम भएपनि केही सामुदायिक विद्यालयका विद्यार्थीको औसत सिकाई उच्च देखीएको छ ।

केही सामुदायिक विद्यालयको नतिजा उच्च हुनु शैक्षिक प्रणालीको प्राभावकारिता र कार्यकुशलताबाट नभई विद्यालय वा समुदायको विशेष सक्रियताको परिणाम हुन सक्छ ।

शिक्षाको गुणस्तरलाई संयुक्त राष्ट्रसंघीय बालकोषले उल्लेख गरे अनुसार सिकाई वातावरण विषयवस्तु, प्रक्रिया र उपलब्धि वा नतिजाका आधारमा लेखाजोखा गर्नु पर्ने हुन्छ ।

नेपालका सन्र्दभमा विद्यालय शिक्षामा सिकाई वातावरण विषयवस्तु र प्रक्रिया के कति गुणस्तरीय र प्रभावकारी रहेका छन् भन्ने कुराका आधारमा विद्यालय शिक्षाको गुणस्तरको लेखाजोखा गर्न आवश्यक हुन्छ । यस्तो लेखाजोखाले सुधारका क्षेत्रहरु परिचालन गर्नसमेत सहयोग गर्छ ।

गुणस्तरीय शिक्षाका लागि उपयुक्त सिकाइ वातावरण आवश्यक हुन्छ । नेपालले सामुदायिक विद्यालयहरुका भवन, फर्निचर, शौचालय लगायतका भौतिक सुधारमा लगानी गरिरहेको, बालमैत्री विद्यालयको कार्यढाँचा स्वीकृत गरेको, हिंसा रहित सिकाइ वातावरण प्रति प्रतिबद्धता पनि व्यक्त गरेको र समावेशीकरण सम्बन्धी नीति तथा प्रक्रिया तर्जुमा गरेको देखिन्छ ।

तर, यस्ता नीति तथा कार्यक्रम सबैतिर कार्यान्वयन हुन सकेका देखिदैनन् । अझै पनि धेरै विद्यालयहरु अपर्याप्त भौतिक वातावरणमा सञ्चालित छन् ।

धेरैजसो विद्यालयहरुमा कक्षाकोठाको सामाजिक वातावरण अझै पनि भाषिक, सांस्कृतिक तथा क्षमताको विविधताका साथै आर्थिक तथा सामाजिक स्तरको भिन्नता भएका बालबालिकाका लागि समावेशी बनाउन सकिएको छैन ।

त्यसैगरी नेपालका अधिकांश विद्यालयमा कुनै पनि किसिमको स्वास्थ्य सेवा उपलब्ध छैनन् । झन्डै पाँचबर्ष अघिको क्रियाकलापमुखी तथा बाल केन्द्रित बनाउने परिपाटीको विकास आमरुपमा गर्न सहयोग पुगेको देखिदैन ।

यस्तो अवस्थाले धेरैजसो विद्यार्थीमा पाठ्यपुस्तकमा भएका जानकारीलाई स्मरण गर्ने र जस्ताको तस्तै उतार्ने बानीको विकास गराई समस्या सामाधान गर्ने र सृजनशील हुने क्षमताको विकासमा नकारात्मक असर पर्ने देखिन्छ ।

केही बर्षदेखि आधारभूत तहका विभिन्न कक्षामा शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्धारा सञ्चालित विद्यार्थीले पाएको औसत अंक प्रतिशत संगठनात्मक क्षेत्रको तल्लो तह अर्थात ज्ञान तहबाट बोध, प्रयोग र विश्लेषण, संस्लेषण जस्तो उच्च तहमा क्रमश कम हुँदै गएबाट पनि यो कुराको पुष्टि भएको छ ।

२०७२ साल देखी सुरु भएको अक्षर ग्रेडिङमा विषयगत रुपमा धेरै विद्यार्थीले तल्लो ग्रेड प्राप्त गरेको अवस्था छ । यसले पनि नेपालको विद्यालय शिक्षाप्रणालीको गुणस्तर प्रति सन्तोष गर्ने ठाँउ देखिँदैन ।

त्यसैगरी शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्धारा सञ्चालन गरिएका कक्षा ३, ५ र ८ का, विद्यार्थीहरुको उपलब्धिको राष्ट्रिय परीक्षणहरुमा एकातिर औसत सिकाइ उपलब्धि सन्तोषजनक देखीएको छैन ।

अर्कोतिर विद्यार्थीकाे उपलब्धिमा परिवारको आर्थिक, सामाजिक स्तर भौगोलिक अवस्थिति भाषिक पृष्ठभूमी ग्रामिण/शहरी अवस्थिति लगायतको प्रभाव देखिएको छ ।

कसरी सुधार्न सकिन्छ ?

यसले शिक्षा प्रणालीलाई समतामूलक बनाउन थप प्रयत्न आवश्यक देखिएको छ । उपलब्धि परीक्षण नतिजाले देखाए अनुसार केही अपवाद छोडेर आमरुपमा सामुदायिक विद्यालयका विद्यार्थीको औसत सिकाइ उपलब्धि प्रतिशत संस्थागत विद्यालयको तुलनामा निकै कम हुनुले असमान शैक्षिक उपलब्धि देखाएको छ ।

अन्तराष्ट्रीय स्तरसँग तुलना गर्दा पनि नेपाली विद्यार्थीको उपलब्धि सन्तोषजनक देखिदैन । यी उपलब्धि परीक्षणहरुले देखाएको अर्को बिचारणीय नतिजा भनेको सामुदायिक विद्यालयका विद्यार्थीहरुको औसत नतिजालाई हामीले हल्का रुपमा हेर्नु हुँदैन ।

भूकम्प लगायत अन्य प्राकृतिक प्रकोपबाट क्षति भएका अधिकांश बिद्यालयका भौतिक संरचनाको निर्माण तथा पुननिर्माण हुन नसक्दा शिक्षाको प्रवाहमा कठिनाई भएको छ भने कतिपय बिद्यालयहरुका भवनहरु भूकम्प प्रतिरोधी नहुनाले अझै पनि सुरक्षित हुन सकेका छैनन् ।

शिक्षाको गुणस्तर लेखाजोखा गर्ने अर्को महत्वपूर्ण आधार शैक्षिक प्रक्रियाको गुणस्तरीयता अर्थात् शिक्षण सिकाई प्रक्रियाको उपयुक्तता हो ।

शिक्षण सिकाई प्रक्रिया बाल केन्द्रित सहभागिता मूलक विद्यार्थी सक्रिय क्रियाकलाप मुखी बनाउने भनि नीतिगत दस्तावेजहरु तयार गरिएका छन् । तर, अधिकांश विद्यालयको शिक्षण सिकाई प्रक्रिया परम्परागत र शिक्षक केन्द्रित छन् ।

यसले विद्यार्थीमा सिर्जनशीलता समस्या सामाधान सहकार्य र सामाजिक समायोजनका सीप विकास गराउने भन्दा पनि तथ्य तथ्यांक तथा सूचनाहरु सम्झने र प्रत्याहवान गर्ने प्रकृतिको पुनरावृत्ति गर्न मात्र सघाएको देखिन्छ ।

अन्तमा नेपालको विद्यालय शिक्षाको गणस्तरलाई सिकाइ वातावरण, विषयवस्तु शैक्षिक प्रक्रिया र नतिजाका आधारमा सामान्य रुपमा समीक्षा गर्दा गुणस्तर सन्तोषजनक नदेखिएको स्पष्ट हुन्छ ।

नीतिगत रुपमा वा दस्तावेजमा गुणस्तर विकास सम्बधी भएका कतिपय व्यवस्था पनि उचित तरिकाले कार्यान्वयन हुन सकेको देखिदैनन् ।

यस्तो अवस्थामा समग्र शैक्षिकप्रणालीलाई बिद्यार्थी प्रति जवाफ देही बनाउन आवश्यक त छँदै छ विद्यालय र शिक्षकको सकारात्मक सोच र विद्यार्थीको सिकाई प्रतिको जवाफदेहिता वृद्धी गर्ने परिपाटी पनि उत्तिकै आवश्यक देखिन्छ ।

यसका लागि अन्य सुधार र परिर्वतन सँगसँगै शिक्षक तयारीको वर्तमान स्वरुपमा परिर्वतन, स्पष्ट रुपमा जवाफदेहिताको ढाँचा निर्माण, केन्द्रीय स्तरबाट निर्देशन, हालको शैक्षिक व्यवस्थापनलाई स्थानीय स्तरमा प्रतिस्थापन गरी स्थानीय निकायलाई सुपरीवेक्षण गर्ने प्रणालीको विकास गर्नु जरुरी छ ।

(लेखक शिक्षण पेशामा आबद्ध छन् )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here