कोरोना बीमालेख: कुन जिल्ला कुन इन्स्योरेन्सलाई जिम्मा ?

काठमाडौं, ८ बैशाख । बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले कोरोना भाइसर (कोभिड १९) बीमालेख बिक्री शुरु गरेका छन् ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोरोना भाइरस रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारिक शुरूवात गरेका हुन् ।

समितिले जारी गरेको कोरोना भाईरस रोग बिमालेख ३ महिनाको बच्चादेखि ९९ बर्षको जेष्ठ नागरिकसम्मले खरिद गर्न सक्नेछन् ।

बिमित व्यक्ति कोरोना भाईरसबाट संक्रमित भई त्यसको लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय वा सार्वजनिक निकायले निर्धारण गरे अनुसारका पिसिआर परीक्षणबाट कोरोना भाईरस संक्रमित भएको पुष्टी हुनुपर्नेछ ।

समितले गत बिहीबार एक सर्कुलर जारी गर्दे कोभिड १९ बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएका थिए ।

बीमा समितिको निर्देशन अनुसार सबै बीमा कम्पनीहरुले कोरोना बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको हुने गरी व्यवस्था गरेको छ ।

उक्त बीमा अन्तर्गत ‘क’ र ‘ख’ बीमाङ्क कायम गरिएको छ । एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको दुई बीमालेख तयार जारी गरेका हुन् ।
बिमितहरुले ५० हजार र १ लाख रुपैयाँसम्मको बिमालेख खरिद गर्न सक्नेछन् ।

१ लाख रुपैयाँसम्मको बिमालेख अन्र्तगत कम्पनीहरुले बिमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र परिवारको गर्दा प्रति व्यक्ति ६ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ ।

त्यस्तै, ५० हजार रुपैयाँ बिमांक रकम बराबरको बिमा गर्दा प्रति व्यक्ति ५ सय र परिवारको गर्दा ३ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ । तर, बिमा भएको १५ दिन पछि मात्रै दाबी गर्न सकिनेछ ।

लघुबिमा मार्फत कम्पनीहरुले यो बिमालेख जारी गर्न पाउँनेछन् । कृषि बिमा र घुम्ती बिमा लागि तोकिएको जिल्लाहरुमा कार्यरत बिमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यन्वयन गर्न समितिले निर्देशन दिएको छ ।

क-कसले गर्न सक्छन् कोरोना बीमा ?

यो बीमालेख भर्खरै जन्मिएका बालकदेखि ९९ वर्षसम्मको मानिसले गर्न सक्ने छन् । यसका लागि कुनै किसिमको चिकित्सकको परीक्षण आवश्यक पर्ने छैन ।

यस्तो बीमालेख खरिद गर्न चाहने मानिसले जुनसुकै निर्जीवन बीमा कम्पनीको नजिकको शाखा कार्यालय, बजार विभागका कर्मचारी बीमा अभिकर्ता वा प्रधान कार्यलयमा सोझै सम्पर्क गरी बीमालेख खरिद गर्न सकिने व्यवस्था गरेको छ । बीमालेख खरिदकर्ताले बीमालेख वापतको रकम विभिन्न डिजिटल प्लेटफर्मबाट भुक्तानी गर्न सक्नेछन् ।

कुन जिल्ला कस्को जिम्मा ?

समितिका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरको जिम्मा पाएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीले बझाङ, डोटीको जिम्मा पाएको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनीले हुम्ला, बाजुरा र अछाम जिलका नागरिकलाई कोरोना भाइरस बीमालेखको दायरामा ल्याउनु पर्नेछ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले कालिकोट, दैलेख, सुर्खेत र बर्दिया जिल्लाका नागरिकलाई कोरोना भाइरस बीमालेखको दायरामा ल्याउनु पर्ने छ ।

मुगु, जाजरकोट र जुम्लाका नागरिकले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट कोरोना बीमा गर्न सक्नेछन् । एनएलजी इन्स्योरेन्सले डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके जिल्लामा कोरोना बीमा गर्नु पर्ने छ ।

सानिमा जनरल इन्स्योरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ जिल्लामा रही कोरोना बीमा गर्नु पर्ने छ । जनरल इन्स्योरेन्स कम्पनी रसुवा, सिराहा र पर्साका नागरिकलाई कोरोना बीमाको दायरामा ल्याउनु पर्ने छ ।

अजोड इन्स्योरेन्सले गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहटका नागरिकको कोरोना बीमा गर्नु पर्नेछ । प्रभु इन्स्योरेन्सले मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा, सिद्धार्थ इन्स्योरेन्स मनाङ, कास्की, पाल्पा र रुपन्देही जिल्लामा कोरोना बीमा गर्नुपर्नेछ ।

गोरखा, लम्जुङ, तनहुँ, परासीका नागरिकले प्रुडेन्सियल इन्स्योरेन्सबाट उक्त बीमालेख खरिद गर्न सक्नेछन् । शिखर इन्स्योरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट जिल्लामा रही कोरोना बीमा गर्नु पर्ने छ ।

हिमालयन जनरल इन्स्योरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा जिल्लामा रही कोरोना बीमा गर्नु पर्ने छ । प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखा, रामेछाप, सिन्धुली र सर्लाहीमा कोरोना बीमा गर्नुपर्नेछ ।

आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा जिल्लाका नागरिकलाई कोरोना भाइरस बीमालेखको दायरामा ल्याउनु पर्ने हुन्छ ।
लुम्बिनी जनरल इन्स्योरेन्स सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर जिल्लामा रही कोरोना बीमा गर्नु पर्ने छ ।

ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लाका नागरिकले नेको इन्स्योरेन्सबाट कोरोना बीमा गर्न सक्ने छन् । दि ओरिइण्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी जिल्लाका नागरिकलाई कोरोना बीमाको दायरामा ल्याउनु पर्ने छ ।

नेशनल इन्स्योरेन्सले रोल्पा, प्यूठान, दाङ र अर्घाखाँचीजिल्लाका नागरिकलाई कोरोना भाइरस बीमालेखको दायरामा ल्याउनु पर्ने छ । काठमाडौ र भक्तपुरमा भने सबै कम्पनीले कोरोना बीमा गर्न पाउने बीमा समितिले जनाएको छ ।

कसरी पाइन्छ भुक्तानी ?

बीमा समितिले कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तीकै बीमा दाबी भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ ।

दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।

यसरी बीमा पोलेसी किनेका मानिसको कोरोना भाइरस संक्रमण पुष्टी भएको खण्डमा बीमा कम्पनीले १ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने छ । त्यसको लागि कुनै किसिमको भौचर वा बिलको आवश्यकता पर्ने छैन । बीमितको कोरोना पोजेटिभ भएको प्रमाणित भएको कागज भए दाबी भुक्तानी हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here