तीन अर्ब भन्दाबढी मानिस ‘बस्नै नमिल्ने तापक्रम’ क्षेत्रमा बस्न बाध्य !

काठमाडौं, २४ बैशाख । तापक्रम बृद्धिसँगै बढ्दो जलवायु परिवर्तनका कारण विश्वमा विभिन्न किसिमका प्रभावहरु देखिरहेका छन् ।

अतिबृष्टि, वाढी पहिरोमा बृद्धि भएको छ भने अनाबृष्टि तथा खडेरीमा बृद्धि भएको छ ।

जलस्रोतमा नकारात्मक प्रभाव देखिएको छ । जैविक विविधतामा ह्रास र कृषि उत्पादनमा कमी देखिएको छ ।

मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव परी दुषित पानीका कारण रोगव्याधीमा बृद्धि पछि अन्य विभिन्न रोग देखा पर्न थालेको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा समेत नकारात्मक असर परिरहेको छ ।

यसको प्रभावको कारण विश्वमा तीन अर्ब भन्दा बढी मानिसहरु अबको ५० वर्षमा ‘बस्नै नमिल्ने तापक्रम’ युक्त क्षेत्रमा बसोबास गर्न बाध्य हुने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

तापक्रम बृद्धिका सम्बन्धमा भएको नयाँ अनुसन्धान प्रतिवेदनमा सन् २०७० सम्ममा विश्वका तीन अर्ब भन्दा बढी मानिस तापक्रम धेरै भएका क्षेत्रमा बस्न बाध्य हुने उल्लेख छ ।

सबै भन्दा बढी प्रभावित हुनेमा उत्तरी अस्ट्रेलिया, भारत, अफ्रिका, दक्षिण अमेरिका र मध्य पूर्वका क्षेत्रहरु रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

तापक्रम बृद्धिबाट सबैभन्दा बढी गरिब तथा कमजोर अर्थतन्त्र भएको क्षेत्रका बासिन्दा प्रभावित हुने चेतावनी दिइएको छ ।

विश्वको तापक्रम ३ तीन डिग्री भन्दा बढीले बृद्धि भएमा जनसंख्याको ठूलो हिस्सा ‘क्लाइमेट निस’ भन्दा बाहिर बस्न बाध्य हुने उल्लेख छ ।

ग्रिन हाउस ग्यासको उत्सर्जन कम नगरिएमा विश्व जनसंख्याको ठूलो हिस्सा औषत तापक्रम २९ डिग्री सेल्सियस भन्दा बढी रहेको क्षेत्रमा बसोबास गर्न बाध्य हुने प्रतिवेशनमा उल्लेख गरिएको छ ।

विश्वका मानिसहरु उस्तै खालको जलवायु युक्त क्षेत्रमा खुम्चिँदै गएको अध्ययन प्रतिवेदनले बताएको छ ।

हाल विश्वमा अधिकांश मानिसहरु औषत तापक्रम ११–१५ डिग्री सेल्सियस भएको क्षेत्रमा बसोबास गर्छन् ।

यस्तै जनसंख्याको सानो हिस्सा हाल औषत तापक्रम २०–२५ डिग्री सेल्सियस रहेको क्षेत्रमा बस्छन् ।

तर अबको ५० वर्षमा तापक्रम बढेर तीन अर्ब भन्दा बढी मानिसको बसोबास औषत तापक्रम २९ डिग्री भन्दा माथि रहेको क्षेत्रमा हुने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

मानिसकै गतिविधिका कारण पृथ्वी तातिएको, बर्षाद्मा अनियमितता आएको र मौसम परिवर्तन भएको पाइएको छ । यसले चुनौति थपिरहेको छ । यो चुनौतिको सामना गर्नु झन चुनौतिपूर्ण छ ।

विभिन्न मानवीय क्रियाकलापका कारण हरितगृह ग्यासहरु बढिरहेको अध्ययनले देखाएको छ ।

जसमध्ये सबैभन्दा बढी ऊर्जा उत्पादन (थर्मल प्लान्ट)का कारण २४.५० प्रतिशत हरितगृह ग्यास उत्सर्जन हुने गरेको अध्ययनले बताएको छ ।

त्यस्तै उद्योग कलकारखानाबाट १९.४० प्रतिशत, वनविनास तथा क्षयीकरणबाट १७.४० प्रतिशत, कृषि क्षेत्रबाट १३.५० प्रतिशत, यातायात क्षेत्रबाट १३.१० प्रतिशत, आवासीय तथा व्यवसायिक भवनबाट ७.९० प्रतिशत, प्रदुषित फोहोर पानीको विसर्जनबाट २.८० प्रतिशत हरितगृह ग्यास उत्सर्जन हुँदै आएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here