स्वदेशमै बन्ने भयो सुरक्षाकर्मीको पोशाक

काठमाडौं । अब सुरक्षाकर्मीलगायत राष्ट्रसेवकको पोशाक स्वदेशमै उत्पादन गरिने भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित राज्यकोषबाट खर्च बेहोरिने राष्ट्रसेवकका पोसाक तथा जुत्ता र अन्य उपभोग्य सामग्री स्वदेशमा उत्पादन गर्ने व्यवस्था गर्न लागेको अर्थमन्त्री युवराज खतिवडाले बताए ।

स्वदेशी वस्तुको उपभोग गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न कपास, रेशम, उन, बाँस, केरा, अल्लो तथा वनस्पतिजन्य धागो उत्पादन र स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गरिने उनले जानकारी दिए ।

बजेट भाषणका क्रममा अर्थमन्त्री खतिवडाले कृषि, पर्यटन तथा वन लगायतका क्षेत्रसँग अग्र र पृष्ठ सम्बन्ध स्थापित हुने साना तथा मझौला उद्योगको विकास र विस्तार गर्न उद्यमशीलता, सीप र प्रविधिको उपयोगमा जोड दिइने समेत बताए ।

स्वदेशी कच्चा पदार्थमा आधारित, उच्च मूल्य अभिवृद्धि गर्ने र निर्यातमूलक प्रकृतिका उद्योगको स्थापना तथा विस्तारलाई विशेष प्रोत्साहन गरिने बताइएको छ। औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र एवम् औद्योगिक ग्राममा स्थापना हुने उद्योगलाई कर प्रणाली मार्फत थप प्रोत्साहन दिइने उनले जानकारी दिए ।

त्यस्तै आगामी आर्थिक बर्षमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गरिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले सबै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्न तथा शुरु गरिएका औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्यलाई अघि बढाउन रु २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको बताएका हुन्।

साथै निर्माणाधिन व्यापारिक मार्गलाई औद्योगिक कोरिडोरको रूपमा विकास गर्न र स्थानीय तहमा थप १३० औद्योगिक ग्राम स्थापना गरिने उनले जानकारी दिए ।

त्यसैगरी कोभिड(१९ को कारण हाल सञ्‍चालन अवरुद्ध भएका उद्योगहरू स्वास्थ्य सुरक्षा कायम गरी सहज सञ्‍चालनमा ल्याइने उनले बजेट भाषणमार्फत जानकारी दिए ।

रुग्ण तथा बन्द उद्योगलाई निजी क्षेत्र समेतको सहभागितामा थप लगानी, नवीन प्रविधिको प्रयोग र व्यवसायिक व्यवस्थापनको माध्यमबाट पुनरुत्थान गरिने भएको छ। सरकारी र निजी क्षेत्रको साझेदारीमा विशेष आर्थिक क्षेत्र र अन्तरदेशीय आर्थिक क्षेत्रको पूर्वाधार विकासका लागि सम्भाव्यता अध्ययन, जग्गा प्राप्ति, विद्युत पहुँच र सडक मार्ग निर्माणको कार्य सम्पन्‍न गरिनेछ। निर्माणाधिन विशेष आर्थिक क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिइने भएको बजेट वक्तव्यमा उल्लेख छ।

त्यसैगरी आगामी वर्ष नवलपरासीको धौवादी फलाम खानीबाट उत्पादन शुरु गर्न पहुँच मार्ग निर्माण र मेसिनरी जडान गर्ने कार्य सम्पन्‍न गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

सरकारले दैनिक जनजीवनका अत्यावश्यक वस्तु, औषधी र स्वास्थ्य सामग्री एवं स्वदेशी कच्चा पदार्थ प्रयोग गरी आन्तरिक उत्पादन वृद्धि गर्न सामूहिक ट्रेडमार्क प्रयोग गर्न पाउने व्यवस्था शुरु गर्न लागेको बजेट वक्तव्य मार्फत जानकारी दिएको छ ।

साथै सबै प्रदेशमा गुणस्तर तथा नापतौल कार्यालय स्थापना गरिनेछ। औद्योगिक व्यवसाय प्रवर्द्धनका लागि स्थापित राष्‍ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र र औद्योगिक व्यवसाय विकास प्रतिष्‍ठानको पुनःसंरचना गरी एकीकृत संस्थाको रूपमा सञ्‍चालन गरिने समेत अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here