नेपालीको मोबाइल मोहः लकडाउनमै भित्रियो १ लाख ८० हजार मोबाइल सेट

काठमाडौं, ३१ जेठ । प्रविधिको विकासले विश्वमा नयाँ नयाँ मोबाइलको विकास हुँदै गएको छ। मोबाइलको विकाससँगै यसले अरू विद्युतीय माध्यमलाई विस्थापित गर्दै गइरहेको छ।

मोबाइलमा नै रेडियो, क्यामेरा, घडी, टर्चको सुविधा विकास भएपछि यी सामग्रीको प्रयोग कम हुँदै गएको छ।

नेपालीमा मोबाइलको मोह बढ्दै गएपछि लकडाउनले देशभर व्यापार व्यवसाय ठप्प भइरहेका बेला ३२ करोड मूल्यका १ लाख ८० हजार मोबाइल हेन्ड सेट आयात भएको भन्सार विभागले जनाएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार दश महिनाको अवधिमा १४ अर्ब ६८ करोड ९० लाख रुपैयाँबराबरको ३९ लाख ५१ हजार ३ सय ७ मोबाइल हेन्डसेट आयात भएका छन्। बढी मोबाइल नेपाल आयात गर्नेमा चीन, भारत र भियतनाम रहेका छन् ।

लकडाउन सुरु हुनुअघि अर्थात् चालू आर्थिक वर्षको ८ महिनामा १४ अर्ब ३७ करोड ४ लाख रुपैयाँबराबरका ३७ लाख ७१ हजार ४ सय ४३ वटा हेन्डसेट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकमा १९ अर्ब २७ करोड ७० लाखबराबरको ४२ लाख ७५ हजार ५ सय मोबाइल हेन्डसेट आयात भएका थिए।

त्यसअघि २०७४/०७५ मा २४ अर्ब ८७ करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको ६२ लाख २३ हजार ६ सय ६५ वटा मोबाइल हेन्डसेट भित्रिएका थिए।

बालकदेखि वृद्धसम्म सबै किसिमको जानकारी पाउन र पठाउन मिल्ने विद्युतीय माध्यमका रूपमा मोबाइल मानवजीवनको अभिन्न अंगजस्तै पर्यायवाची बन्दै गएको छ।

नेपालमा पनि नयाँ नयाँ मोबाइल आयात हुँदै गएका छन्। रोजगारीमा गएका नेपाली, विदेश भ्रमणमा गएका व्यक्तिका साथै अध्ययनका लागि विदेशिएका नेपालीबाट पनि मोबाइलको आयात बढ्दो क्रममा रहेको अवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here