कोरोना प्रभावित क्षेत्र: बैंकको कर्जा भुक्तानी म्याद कुनको कहिलेसम्म ?

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड–१९ बाट अति प्रभावित पेशा/व्यवसाय लाई कर्जा चुक्ताको म्याद थप गरेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जाको प्रकृति अनुसार किस्ता र ब्याज तिर्ने समय न्यूनतम ६ महिनादेखि १ वर्षसम्म थप गरेको जानकारी गराए ।

मौद्रिक नीतिमा सामान्य प्रभाव परेको क्षेत्रको पुस मसान्त सम्मलाई अल्पकालिन कर्जाको म्याद र अति प्रभावित क्षेत्रलाई कर्जाको म्याद १ वर्ष थप गरिएको छ।

त्यस्तै पर्यटन क्षेत्रको भने नयाँ म्याद पनि राख्न सकिने उल्लेख छ। कोभिड–१९ बाट मध्यम रुपमा प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ।

यस्तै कोभिड–१९ वाट अति प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

कोभिड–१९ को कारण पुनस्र्थापित हुन समय लाग्ने पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकता अनुसार थप समय प्रदान गर्न सक्ने व्यवस्था मिलाउने राष्ट्र बैंकले जनाएको छ।

२०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले २०७७ पुस मसान्तभित्र लिखित कार्य योजना पेश गरेमा बैंक तथा वित्तीय संस्थालेसो को विश्लेषण गरी न्यूनतम १० प्रतिशत ब्याज असुलउपर गरी एक पटकको लागि कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

अति प्रभावित क्षेत्रका परियोजनामा प्रवाह भएको कर्जालाई पुनरसंरचना तथा पुनरतालिकीकरण मार्फत पुनरुत्थान गर्न पर्याप्त नभएमा आवश्यकता अनुसार सम्बन्धित निकायहरुसँग समन्वय गरी प्राइभेट इक्वीट, भेन्चर क्यापिटल, लगायतका माध्यमबाट पुनरसंरचना गर्न सकिने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here