काँग्रेसले गर्‍यो मौद्रिक नीतिको स्वागत, स्रोतको व्यवस्थापनमा विशेष ध्यान दिएको भनाइ

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसले मौद्रिक नीति, २०७७/७८ ले कोरोनाभाइरस महामारीबाट संकटग्रस्त अर्थतन्त्रको पुनस्र्थापनामा पर्याप्त ध्यान दिएको बताएको छ ।

पार्टीको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीत विशेष समितिले अर्थतन्त्रको विस्तारका लागि स्रोतको व्यवस्थापनमा विशेष ध्यान दिएको बताउँदै मौद्रिक नीतिको स्वागत गरेको हो ।

नीतिले आफूले दिएका सुझावमध्ये महत्वपूर्ण केही विषयहरु समावेश भएको पनि बताएको छ ।

खासगरी, पुनःकर्जा सुविधा थप एक सय अर्ब रुपैँया वृद्धि गरी २०० अर्ब रुपैयाँ पु¥याउनु पर्ने, दीर्घकालीन रिपो तथा बैंक तथा वित्तीय संस्थालाई तरलता व्यवस्थापनमा सहयोग गर्न कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) मा लचकताको समितिले स्वागत गरेको छ ।

साथै कर्जा भुक्तानीको समयावधिमा लम्ब्याउने र अवसाद (डिप्रेसन) को अवस्थामा रहेको सेयर बजारमा सुधारका लागि सेयर धितोमा प्रवाह हुने कर्जाको अनुपात वृद्धिका लागि यस समितिबाट दिइएका सुझाव समावेश भएकोमा नेपाल राष्ट्र बैंकलाई धन्यवाद व्यक्त गर्दछौं, समितिले भनेको छ ।

यद्यपि पुनःकर्जा कोष विस्तार भएअनुसार यसको पूर्ण उपयोग हुने वातावरण निर्माण गर्न कार्यविधि/परिपत्रहरुमार्फत् सरलीकरण गर्नुपर्ने उसको भनाइ छ ।

‘कोभिड–१९ का कारण व्यवसायिक क्षेत्रमा देखिएको शैथिल्य अन्त्य गर्नका लागि सहुलियत ब्याजदरमा स्रोतको उपलब्धता मौद्रिक उपायबाट दिइने वास्तविक प्रोत्साहन हुन्,’ समितिका संयोजक विनोद चौधरीले भने, ‘पुनःकर्जा सुविधालाई सहजीकरण गरी द्रुत र पारदर्शी विधिमार्फत् उच्चतम उपयोगमा ध्यान दिनुपर्छ ।’

कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत पु¥याइएको भएपनि विगतमा सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत जारी भएको कर्जा सीसीडीमा गणना नहुने व्यवस्था खारेज भएकाले कर्जा–स्रोत परिचालनको प्रभावकारी अनुपात पुरानै अवस्थामा रहने सहज अनुमान गर्न सकिने उनको भनाइ छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा सिर्जना गरेको शैथिल्यलाई सम्बोधन गर्न मौद्रिक प्रोत्साहनको रुपमा सहुलियतपूर्ण कर्जा पूर्ण रुपमा उपयोग हुने वातावरणले मात्रै अर्थतन्त्रको विस्तारमा अपेक्षित उपलब्धि हासिल हुनेछन् भन्ने समितिको ठहर छ ।

उसका अनुसार नेपाल राष्ट्र बैंकले लगानीका स्रोतको उपलब्धतामा ध्यान केन्द्रित गरेजस्तै निजी क्षेत्रमा कर्जाको माग बढ्ने गरी लगानीका सम्पूर्ण वातावरण सुधार गर्नु सरकारको दायित्व हो ।

मौद्रिक नीति, २०७७।७८ ले अर्थतन्त्र पुनरुत्थानका लागि स्रोतको उपलब्धता सुनिश्चित गरे पनि लगानीको वातावरणमा सुधार हुन नसके यस मौद्रिक नीतिको अभिप्रायः सम्बोधन नहुने पनि उसले बताएको छ ।

पछिल्ला वर्षहरुमा बढाउँदै लगिएको कृषि, उर्जा र पर्यटनमा निर्देशित कर्जा कार्यक्रमहरुमा आर्थिक वर्ष २०८०।८१ सम्म ४० प्रतिशत पु¥याउनुपर्ने व्यवस्था मौद्रिक नीति, २०७७–७८ मा घोषणा भएको छ । प्राथमिकता प्राप्त क्षेत्र कार्यक्रमहरुमा यसअघिको २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्थालाई क्रमशः वृद्धि गर्दै लैजाने उद्देश्य देखिन्छ, तर निर्देशित लगानीतर्फ बैंक तथा वित्तिय संस्थाहरुलाई दबाब बढाउँदै जाने कदममा पुनर्विचार गर्नैपर्ने देखिन्छ ।

समितिका अनुसार कोभिड–१९ को महामारीका कारण उत्पन्न बढ्दो बेरोजगारीको असर सम्बोधनका लागि उद्यमशीलता विकासकालागि अत्यावश्यक प्राथमिक कार्यहरु सीप विकास, व्यावसायिक योजना निर्माण र उद्यम सञ्चालनका लागि धेरै भन्दा धेरै मानिसहरुलाई दक्ष बनाउन जरुरी छ ।

समितिले बैंक तथा वित्तिय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) बापत् खर्च गर्नुपर्ने रकम तालिम, सीप विकास, व्यवसायिक योजना विकास र व्यवसायको स्तरोन्नतिका लागि आवश्यक गैर–वित्तिय र प्राविधिक सहयोग उपलब्ध गराउनेतर्फ मौद्रिक नीतिले ध्यान दिनुपर्ने सुझाव प्रस्तुत गरेको थियो ।

यद्यपि लगानीको स्रोत उपलब्धताका लागि कृषि र उर्जा बचतपत्र तथा दीर्घकालीन रिपो सम्बन्धि व्यवस्था लगायत सबै अवयव प्रयोगलाई खुला राखिनु सुखद् विषय भएको उसको भनाइ छ ।

यो पनि पढ्नुसः

मौद्रिक नीति : कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्ने प्रयास (पूर्णपाठ सहित)

सेयर धितो कर्जामा सीमा बढ्यो, ७० प्रतिशत सम्म पाइने

बैंकको सेवा शुल्कमा कडाई, साढे १ प्रतिशतभन्दा बढी लिन नपाइने

चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम वितरणयोग्य मुनाफा भएकाले लाभांश वितरण गर्न नपाउने

घरजग्गा धितोमा ६० प्रतिशतसम्म लोन, सेयर धितो कर्जाको पनि सीमा बढ्यो

कोरोना प्रभावित ऋणीलाई तीन तहको सुविधा, साँवा र ब्याज भुक्तानीका लागि एक वर्षसम्म समयावधि

१५० वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज, किसानलाई क्रेडिट कार्ड

कोरोना प्रभावित क्षेत्र: बैंकको कर्जा भुक्तानी म्याद कुनको कहिलेसम्म ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here