आज १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै, यस्तो छ इतिहास

काठमाडौं, १८ बैशाख । ग्रेगोरियन क्यालेण्डर अनुसार मे १ तारिखलाई पछिल्लो १३० वर्ष देखि अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाईँदै आईरहेको छ ।

यसै अवसरमा नेपालमा पनि आज विभिन्न श्रमिक सम्बद्ध संघसंस्थाहरुले विविध कार्यक्रम गरी श्रमिक दिवस मनाउँदै छन् । यस दिवसमा श्रमिकहरुको हक हितको लागि आवाज उठाउने गरिन्छ । विश्वका मजदुरहरू एक हाैं भन्ने नारा सहित याे दिवस मनाउने गरिन्छ ।

नेपालमा विस २००७ सालको आन्दोलनपछि श्रमिक दिवस मनाउन थालिएको पाइन्छ ।

त्यस्तै विस २०४६ को जनआन्दोलनले पञ्चायती व्यवस्था ढालेर प्रजातन्त्र पुर्नस्थापना गरेपछि मे १ अर्थात श्रमिक दिवसमा बिदा दिन थालिएको हो ।

श्रमिक दिवसको इतिहास

आजकै दिनबाट सन्सारभर श्रमिकहरुले अनिश्चितकालिन समयसम्म काम गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै दैनिक ८ घण्टामात्र काम गर्नुपर्ने नियमको सुरुवात भएको थियो ।

सबैभन्दा पहिले सन् १८७७ मा मजदुरहरुले आफूहरुलाई काम गर्नुपर्ने समय तोकिनुपर्ने माग सहित आन्दोलनको सुरुवात गरेका थिए । उक्त आन्दोलनको माग श्रमिकहरुले ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम पाउनुपर्ने थियो ।

त्यसको केही वर्ष पछि अमेरिकाको सिकागोमा सन् १८८६ मे १ तारिखको दिन लाखौं सङ्ख्यामा मजदुरहरुले एकजुट भएर काम गर्ने समय तोकिनुपर्ने विषयलाई लिएर हड्ताल गरेका थिए ।

उक्त हड्तालमा ११ हजार कलकारखानाका ३ लाख ८० हजार भन्दा धेरै मजदुरहरु सहभागी भएका थिए ।

त्यसपछि सन् १८८९ मा फ्रान्सको पेरिसमा आयोजित श्रम संगठनहरुको अन्तराष्ट्रिय महासभाको दोस्रो बैठकमा फ्रेन्च साेसलिस्ट पार्टीकाे एक प्रताव पारित भयो ।

उक्त प्रस्ताव अन्तराष्ट्रिय श्रमिक दिवस मनाउने विषयमा थियो । प्रस्ताव पारित भए सङ्गै विश्वभर श्रमिकहरुले दैनिक ८ घण्टामात्र काम गर्नुपर्ने नियम लागु भएको थियो ।

यसपछि प्रत्येक वर्ष मे १ तारिखलाई अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउन सुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here