ललितपुरमा लाेडसेडिङकाे सम्भावना, प्रशारणलाइन निर्माणमा अवराेध

काठमाडौं, १९ वैशाख । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारणलाइन निर्माणको क्रममा ललितपुरका स्थानीयले अवरोध गरेका छन् ।

ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने, त्यसो नभएमा तारमुनि पर्ने जग्गाको शतप्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै निर्माणमा अवरोध गरेका हुन् ।

प्रसारण लाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

घिसिङका अनुसार विद्युतको माग बढिरहेको छ र हाल विद्युत आपूर्ति गर्ने हुँदै आएको स्यूचाटार पाटन बानेश्वर ६६ केभीको लाइनले नधान्ने अवस्था आइ लोडसेडिङ गर्नुपर्ने बाध्यता आइपर्न सक्छ ।

आर्थिक वर्ष २०५५/५६बाट शुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारणलाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन ।

ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन् ।

काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल भएको छैन ।

स्थानीयको अवरोधले निर्माणमा अवरोध हुँदा प्रसारणलाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलको निरीक्षण गरेका छन् ।

घिसिङले स्थानीयले मुख्य रुपमा अवरोध गरेको खोकना, बुङ्मती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारणलाइन निर्माण अवस्थाको जानकारी लिएका थिए ।

 टावर नै ढालियाे

उनले ललितपुर महानगरपालिका बडा नम्बर २१ खोकनामा ढालिएको २७ नम्बर टावरको पनि निरीक्षण गरेका थिए । स्थानीयले नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर केही दिन अघि ढलेको थियो ।

विद्युत प्राधिकरणले मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण गरीरहेको छ । ‘थानकोट–चापागाउँ–भक्तपुर प्रसारणलाईन बन्न नदिने हो भने पर्याप्त विद्युत भएर पनि ललितपुरमा दिन सकिंदैन,’ घिसिङले भने, ‘स्थानीयले प्रसारणलाइन बनाउन दिंदैनन् खडा गरिएका टावर ढालिदिन्छन् अनि कसरी काठमाडौं उपत्यकामा विद्युत आपूर्ति दिने ?’

यो प्रसारण लाइन निर्माण सम्पन्न भएमा काठमाडौं–ललितपुर र भक्तपुरमा १३२ केभीको प्रसारण लाइनको रिङ बन्ने उल्लेख गर्दै उनले यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने बताए ।

खोकनाका स्थानीयले काठमाडौं–निजगढ फास्ट ट्रयाक, बाहिरी चक्रपथको रुटसँगै र थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन निर्माण गर्नुपर्ने माग गरेका छन् । प्राधिकरणले सबस्टेसन निर्माण हुने हरिसिद्धी र टावर रहने स्थानको जग्गा अधिग्रहण गरिसकेको छ । तर, स्थानीयले अधिग्रहण गरेको जग्गामा समेत काम गर्न दिएका छैनन् ।

प्रसारण तारमुनि पर्ने ९ मिटर दायाँ र ९ मिटर बायाँको अधिकार क्षेत्र (राइट अफ वे)मा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति भने निर्धारण हुने प्रक्रियामा छ ।

प्राधिकरणले टावर रहने स्थानको जग्गाको शतप्रतिशत र राइट अफ वेमा पर्ने जग्गाको मूल्यांकन गरिएको रकमको १०–२५ प्रतिशतसम्म मुआब्जा दिँदै आएको छ । काठमाडौं र भक्तपुरमा राइट अफ वेमा पर्ने जग्गाका लागि मूल्यांकित रहेको २५ प्रतिशत मुआब्जा वितरण गरिएको थियो ।

प्रसारणलाइन आयोजनाको ललितपुर पर्ने १४ किलोमिटरमा ५१ वटा टावर खडा गरी तार तान्नु पर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । १५ वटा टावर खडा गरिएको छ । तार भने टांगिएको छैन ।

२८ किलोमिटर प्रसारणलाइन आयोजनाको अनुमानित लागत २ करोड ३० लाख अमेरिकी डलर छ । स्थानीयको अवरोधले काम रोकिएपछि प्राधिकरणले आर्थिक वर्ष २०६६/६७ मा ठेक्का तोडेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here