विद्युत् प्राधिकरणको वित्तीय र भौतिक प्रगति उत्साहजनक, १५ जिल्ला पूर्ण विद्युतीकरण

काठमाडौं, १९ साउन । मुलुकभरका ७७ जिल्लामध्ये १५ मा पूर्ण विद्युतीकरण भएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै ११ जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

यसअघि पर्वत, स्याङजा, काठमाडौं र भक्तपुरलाई पूर्ण विद्युतीकरण गरिएको थियो ।

गत आवमा धनकुटा, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, नुवाकोट, कपिलवस्तु, गुल्मी र वर्दियालाई पूर्ण विद्युतीकरण गरिएको हो ।

प्राधिकरणले गत आवमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखेको थियो । कोभिड–१९का कारण विद्युतीकरण पनि प्रभावित भएको हो ।

सरकारले २०७९ (सन् २०२२) भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र वार्षिक प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पुर्याउने लक्ष्य राखेको छ ।

हरेक नेपाली जनताको पहुँचमा विद्युत पुर्याउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयास गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

वित्तीय र भौतिक प्रगति उत्साहजनक

नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुले गत आर्थिक वर्ष (आव) २०७६/०७७ मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन्। ती आयोजनाहरुको समग्र भौतिक प्रगति ८२.२९ प्रतिशत छ।

नेपाल सरकार, वैदेसिक र प्राधिकरणको स्रोतबाट सञ्चालित आयोजनाहरुमा गत आवका लागि ५८ अर्ब ४ करोड विनियोजन गरिएकोमा ४७ अर्ब १४ करोड रुपैयाँ खर्च भएको हो।

विद्युत् पहुँच बढाउन र उपभोक्तालाई भरपर्दो तथा गुणस्तरीय सेवा आपूर्तिका लागि वितरण लाइन विस्तार, सुदृढीकरण र स्तरोन्नतिमा छुट्टयाइएको बजेटको खर्च ९२ प्रतिशत छ। भौतिक प्रगति शतप्रतिशत छ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here