पुननिर्माणमा थप सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, २१ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले भुकम्पपछिको पुननिर्माणमा थप सहयोग गर्न एशियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन् ।

फिजीको नादीमा आयोजित बैंकको ५२ औं बोर्डस अफ गभर्नरको वार्षिक बैठकको अवसरमा बैंकका अध्यक्ष ताकेहिको नकाओसँगको द्विपक्षीय वैठकमा अर्थमन्त्रीले यस्तो आग्रह गरेको अर्थ मन्त्रालयले त्यहाँबाट पठाएको विज्ञप्तिमा बताइएको छ ।

डा. खतिवडाले उक्त वैठकमा वर्तमान सरकारले भुकम्प पछिको पुर्ननिर्माणलाई तिव्रता दिंदै ब्यक्तिगत आवासहरुको पूर्ननिर्माणको कार्य आगामी एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखेको उल्लेख गर्दै यसको लागि पनि थप स्रोत जुटाउनु पर्ने आवश्यकता औंल्याएका थिए ।

‘सन् २०३० सम्म दिगो बिकासको लक्ष्य हासिल गर्नका लागि मुलुकले गर्नु पर्ने थप लगानीको लागि सार्वजनिक तथा निजी दुवै क्षेत्रको लगानी जोडदा पनि कुल गार्हस्थ उत्पादनको करीब १३ प्रतिशत जति लगानी नपुग हुन्छ,’ उनले भने ।

सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, स्वच्छ वातावरण, सामाजिक संरक्षण लगायतका नागरिकका आधारभूत मौलिक हकहरुको परिपूर्ति गर्न सरकारले लगानीको प्रतिवद्दता जनाएकोले यसको लागि पनि लगानी बढाउनु पर्ने भएको उल्लेख गर्दै उनले एडीबीलाई थप सहयोगको लागि आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

वर्तमान सरकारले पूर्वपश्चिम राजमार्गको विस्तार समेतका केही ठूला आयोजनाहरुलाई तत्काल अगाडी बढाउन चाहेकोले यसको लागि वैंकले लगानी बढाउनु पर्ने आवश्यकता रहेको पनि अर्थमन्त्री डा. खतिवडाले बताएका थिए ।

नेपाल दुई बर्ष भित्र अति कम विकसित राष्ट्रको अवस्थावाट स्तरोन्नति हुने सम्भावना भएको सन्दर्भ उल्लेख गर्दै उनले केही वर्ष त्यसको दिगोपना हेर्नु पर्ने र त्यतिञ्जेलसम्म बैंकले हाल प्रदान गरिरहेको सहुलियतपूर्ण कर्जाको सुविधा प्रदान गरिरहनु पर्ने बताए ।

यसको प्रत्युत्तरमा एडीबीका अध्यक्ष नकाओले त्यसवेला संक्रमणको समय हुने भएकोले यस पक्षलाई मध्यनजरमा राखिने धारणा राख्दै नेपालको समावेशी तथा दिगो विकासमा सहयोग गर्न वैंक तत्पर रहेको प्रतिवद्दता ब्यक्त गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले नेपालको वर्तमान समग्र आर्थिक स्थायित्वको अवस्था चित्रण गर्दै मुलुकले यस बर्ष पनि उच्च आर्थिक बृद्धि हासिल गर्न लागेको र उच्च आर्थिक बृद्धिको पथमा जानका लागि पुँजिगत सामग्रीहरुको आयात अत्यावश्यक भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सही दिशामा अगाडी बढिरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here