शूल्क लिन नपाउने भएपछि एटीएम व्यवस्थापनमा बैंकहरुको लापरवाही

काठमाडौं २, मसिंर । एउटा बैंकले जारी गरेको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा पैसा नलाग्ने व्यवस्था भएपछि बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापनमा लापरवाही गर्न लागेका छन् ।

कमाई नहुने भएपछि बैंक तथा वित्तीय संस्थाले एटीएमको व्यवस्थापन, मर्मतसंभार तथा सरक्षणमा वेवास्ता गर्दै आएको देखिएको छ ।

यसअघि यस्तो शुल्कमा न्यूनतम २५ देखि २ सय ५० रुपैयाँसम्म शुल्क उठाउन पाउने व्यवस्था थियो ।

यस्तो गुनासो राष्ट्र बैंकसम्म पनि पुगेको छ । ‘एटीएममा पैसा नराखेको, समयमा मर्मतसम्भार नगरेकोलगायत गुनासो आउन थालेका छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘अन्तरबैंक एटीएम कारोबारमा पैसा नलाग्ने बनाएपछि समस्या बढ्न थालेको देखिन्छ ।’

लकडाउन खुलेपछि एटीएमबाट हुने कारोबारमा कमी आएको छ । गत असारमा एटीएममार्फत ५४ अर्ब ७६ करोड रुपैयाँ कारोबार भएको छ ।

साउनमा यस्तो कारोबार घटेर ३८ अर्ब ३९ करोड र भदौमा ३२ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ । ती महिनामा कारोबार रकमसँगै कारोबार संख्यामा पनि कम आएको छ । जसअनुसार गत असारमा एटीएममार्फत करिब ६३ लाख वटा कारोबार भएका थिए ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अन्तरबैंक एटीएममा कारोबारमा बैंक तथा वित्तीय संस्थाले शुल्क लिन नपाउने व्यवस्था ल्याएको हो । यो निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम निःशुल्क बनाएका छन् ।

गत भदौसम्म बैंक तथा वित्तीय संस्थाको एटीएम संख्या ४ हजार १ सय ६ वटा छन् । जसमध्ये वाणिज्य बैंकहरूको ३ हजार ५ सय ७९ वटा, विकास बैंकको २ सय ९६ वटा र वित्त कम्पनीको ५१ वटा छन् ।

सम्बन्धित समाचारः

अन्तर बैंक एटीएममा शुल्क लिन नपाइने व्यवस्था सधैका लागि लागु

एटीएम बुथमा स्यानिटाइजर र टिस्यूपेपर अनिवार्य

एटीएममा सुरक्षा गार्ड राख्नु पर्ने वाध्यता हट्यो, सीसीटीभीबाट निगरानी बढाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here