भूकम्पपछिको पुनर्निर्माण: ६ लाखबढी निजी आवास बने, सिकाइको अभिलेख राखिँदै

काठमाडौं, १४ मंसिर । भूकम्पबाट क्षति भएकामध्ये ६ लाखभन्दा बढि निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ७ हजार ६२३ घर निर्माण सम्पन्न भएको हो ।

७ लाख १० हजार २६८ घर बन्दै गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ३४ हजार ९११ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।

लाभग्राही सूचीमा समावेश भएकामध्ये ७७ हजार ३२५ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म सात लाख ९१ हजार ७८७ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् ।

जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख छ हजार ५०५ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

हालसम्म कायम भएका लाभग्राहीले यो महिनाको अन्तिमसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्नेछ । पहिलो किस्ताले जगको काम सकी दोस्रो किस्ता लिन माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने छ ।

तेस्रो किस्ता लिन २०७८ वैशाखसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिइसक्नुपर्नेछ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० वटा सम्पदामा क्षति पुगेको तथ्याङ्क छ । हालसम्म ५०० भन्दाबढी सम्पदा पुनःनिर्माण भइसकेका छन् ।

पुनर्निर्माणका सिकाइको अभिलेख राखिँदै

भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणमा हासिल भएका अनुभव तथा सिकाइको अभिलेख राखिने छ ।

त्यसका लागि काठमाडौंमा दुई दिने छलफल भएको छ । पुनःस्थापना र पुनर्निर्माणमा हासिल भएका अनुभव तथा सिकाइको अभिलेख राख्न आवश्यक सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छलफल गरेको थियो ।

प्राधिकरणले नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने गरी छ वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ ।

निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन एवं पूर्वाधार पुनःनिर्माण, जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्धका क्षेत्रमा छलफल भएको हो ।

शुक्रबार र शनिबार भएको वेबिनारमा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पुनःनिर्माण र पुनःस्थापनाका अभ्यासकर्ता तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here