सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

काठमाडौं, २३ मंसिर । सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।

मंगलवार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेसंगै सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको हो ।

हिउँको सतहलाई पनि उचाइको आधार मान्नुपर्ने नेपालको प्रतावलाई चीनले यसअघि स्विकार नगरेपनि पछिल्लो समय हिउँको सतहलाई उचाइको आधार मान्ने विषयमा सहमति भएसंगै नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका थिए ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपतिलाई पठाएको सन्देश पढेर सुनाएका थिए ।

जसमा राष्ट्रपति भण्डारीले नेपाल वा चाइना पोलिसीमा अडिग रहेको समेत दोहोराइकी थिइन् । ज्ञवालीले सगरमाथाको उचाइ सार्वजनिक कार्यक्रममा सहभागी हुन पाएकोमा आफूलाई गौरवान्वित भएको बताए ।

सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको हो । सगरमाथाको उचाइ मापनको कार्य सबैभन्दा अघि सन् १८४७ मा अघि बढाउने तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो ।

विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले मापन गरेको ८ हजार ८ सय ४८ मिटर उचाइलाई आधिकारीक मान्दै आएका थिए ।

चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार झुमालाङ्माको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको थियो ।

चिनियाँ निकायले सगरमाथाको चट्टान सहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो । नेपालको विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर उचाइ मापन सम्बन्धी काम गरेका थिए ।

यसअघि चिनियाँ राष्ट्रपति सी जिनफिङको सन् २०१९ अक्टोबर १२–१३ सम्मको नेपाल भ्रमणमा दुबै देशले संयुक्तरुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने सहमति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here