नयाँ प्रजातिको कोरोनाबाट नेपाल कति सुरक्षित ? सभा,समारोह झनै घातक

डा. रबीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ

काठमाडौं । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति विश्वका विभिन्न देशमा फैलिएको छ । डिसेम्बर १४ तारिखमा पहिलोपटक बेलायत देखा परेको यो संक्रमण विश्वका १५ भन्दा धेरै देशमा फैलिसकेको छ ।

नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण छिमेकी देशहरु भारत र चीनमा पनि देखिएको छ । नेपालमा भने नयाँ प्रकारको कोरोना संक्रमणको विषयमा अहिलेसम्म कुनै प्रकारको परिक्षण भएको छैन् ।

परिक्षणको त कुरै छाडौं दिनहुँ हजारौंको संख्यामा मानिसहरु सडकमा सभा समारोह गर्दै विरोध प्रर्दशन गरिरहेका छन् । कोरोना संक्रमण संक्रिय भन्दै गर्दा गरिएका यस्ता सभा, समारोह र विरोध प्रर्दशनले गम्भिर समस्या निम्त्याउन सक्ने कुरा जनस्वास्थ्यविद् डा. रबिन्द्र पाण्डे बताउँछन् ।

पाण्डेको अनुसार यो कोरोना भाइरस नै हो । अर्को नयाँ भाइरस हैन । भाइरस पटकपटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो ।

‘पहिलेको तुलनामा झण्डै ७० प्रतिशत छिटो सर्ने नयाँ प्रकारको कोरोना भाइरसको संक्रमणसंग विश्व लड्दै छ, यस्तो अवस्थामा नेपालमा भने दिनहुँ जस्तो हजारौं संख्यामा मानिसहरु सडकमा उत्रिएर विरोध सभा गरिरहेका छन् ।’ उनले भने, ‘कोरोना संक्रिय बन्दै गर्दा गरिएको यस्तो कार्यले थप जटिल अवस्था सिर्जना गर्नसम्छ ।’

नयाँ प्रकारको कोरोना संक्रमणबाट नेपाल कति सुरक्षित छ ?

छिमेकी राष्ट्रमा पनि नयाँ कोरोना संक्रमणको पुष्टी भएको कारण नेपाल नयाँ कोरोना संक्रमणको उच्च चपेटामा रहेको कुरा जनस्वास्थ्यविद् पाण्डे बताउँछन् ।

हामी त कुनैपनि हालतमा सुरक्षित छैनौं नी, खुल्ला सीमाना भएको भारतमा देखिएको नयाँ संक्रमण नेपाल आउन कति समय लाग्ला र ?’ उनले क्लाउड पत्रिकासँग भने, ‘त्यसमाथि बेलायत, अष्ट्रेलिया तथा नयाँ संक्रमण फैलिएको देशबाट आएका मानिसहरुको संक्रमण परिक्षण प्रभावकारी भएको छैन्, त्यसकारण नेपालमा नयाँ प्रकारको कोरोना संक्रमित कुनैपनि समयमा भेटिन सक्छ ।’

नयाँ कोरोना संक्रमणको असर कस्तो हुन्छ ?

पुरानो भाइरसभन्दा छिटो सर्न सक्ने क्षमता भएको नयाँ भाइरस स्वरूप परिवर्तन अर्थात म्युटेसन भएको भाइरस हो । तर, यस प्रकारको कोरोना संक्रमणको मृत्युदर भने पुरानो कोरोना भाइरसको भन्दापनि कम रहेको कुरा जनस्वास्थ्यविद् पाण्डेले बताए ।

पाण्डेले भो, ‘पुरानो कोरोना भाइरसभन्दा नयाँ भाइरस ७० प्रतिशत छिटो सर्न सक्छ । उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने नयाँ भाइरस ७० प्रतिशत बढी अर्थात १७०० जनालाई संक्रमित पार्छ । तर, यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम छ ।’

नयाँ संक्रमण बाहिर हल्ला आएको जस्तो खतरापुर्ण नभएपनि बच्चाबच्ची र जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई भने थप समस्या पार्न सक्ने उनको भनाइ थियो ।

यी कुरामा ध्यान दिए नयाँ प्रकारको कोरोना संक्रमणबाट बच्न सकिन्छ

जनस्वास्थ्यविद् पाण्डेका अनुसारः अन्य व्यक्तिसंग भेट्दा मास्क सहि तरिकाले अनिबार्य रुपमा लगाउने, भीडमा नजाने, भौतिक दुरी कायम गर्ने, बन्द कोठामा भेटघाट र बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्ने हो भने नयाँ प्रकारको कोरोना भाइरस फैलिए पनि सर्दैन ।

यसका अलवा आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो ब्यायाम गर्ने, तनाब नलिने, राति ८ देखि ९ घण्टा सुत्ने, मौसमी फलफुल खाने, औषधिसेवीले आफ्नो औषधि नछोड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै संगै जाने उनी बताउँछन् ।

विश्वभर अहिलेसम्म ८ करोड ५५ लाखभन्दा धेरै मानिसहरु कोरोना भाइरस (कोभिड १९) को चपेटामा आइसकेका छन् भने, कोरोनाको कारण मृत्यु हुनेको संख्या साढे १८ लाख नाघिसकेको छ ।

नेपालमा भने अहिलेसम्म २ लाख ६२ हजारभन्दा धेरैमा यो संक्रमण देखिएको भने कोरोनाकै कारण १ हजार ८ सय ८५ जनाको मृत्यु भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here