प्रदेश ३ मा ९० प्रतिशतले विद्युत सेवा पाउँदा कर्णालीमा २७ मात्रै

काठमाडों, १३ जेठ । चालु आर्थिक वर्षको फागुनसम्ममा कुल जनसंख्याको ७७.८ प्रतिशत जनसंख्यामा विद्युत सुविधा पुगेको सरकारले बताएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७६ ले यस्तो बताएको हो ।

सरकारको बजेट आउनुभन्दा अगाडि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिन्छ । यस वर्षको आर्थिक सर्वेक्षण अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरीएको छ ।

त्यस्तै सर्वेक्षण अनुसार फागुन मसान्त सम्ममा कुल विद्युत उत्पादन क्षमता ११४२ मेगावाट पुगेको र कुल जनसंख्याको करीब १८ प्रतिशत जनसंख्यामा नवीकरणीय उर्जा स्रोतबाट विद्युत सेवा पुगेको छ ।

सबैभन्दा धेरै प्रदेश नम्बर ३ का ९०.३ प्रतिशत जनसंख्याले विद्युत सेवा प्राप्त गरेका छन् भने कर्णाली प्रदेशका २७ प्रतिशतले मात्रै विद्युत सेवाको उपयोग गर्न पाएका छन् ।

त्यस्तै हालसम्म विद्युत उपभोग गर्ने ग्राहकको संख्या ४२ लाख ८४ हजार पुगेको छ ।

हालसम्म ११४२ मेगावाट विद्युत क्षमता जडित भएकोमा जलविद्युतबाट १०२९.५८ मेगावाट, थर्मल प्लान्टबाट ५३.४० मेगावाट, सौर्य उर्जाबाट २७ मेगावाट, लघुतथा साना जलविद्युत आयोजनाबाट ३२ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

जसमध्ये ५६१ मेगावाट नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा सञ्चालित परियोजनाबाट, ५२२ मेगावाट निजी क्षेत्रबाट सञ्चालित परियोजनाबाट र वैकल्पिक उर्जाबाट ५९ मेगावाट राष्ट्रिय ग्रिडमा जडान गरिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको फागुन मसान्तसम्म लोडसेडिङ न्यूनीकरणको लागि भारतबाट १८३४.८७ गिगावाट घन्टा बराबरको बिजुली आयात भएको छ ।

सबैभन्दा धेरै विद्युत उत्पादन गण्डकी प्रदेशबाट ४८१ मेगावाट भएको छ भने प्रदेश नम्बर २ मा हालुसम्म कुनै पनि विद्युत आयोजनाहरु सञ्चालनमा आएका छैनन् ।

गण्डकी प्रदेश पछि प्रदेश नम्बर ३ मा ३६२ मेगावाट, प्रदेश नम्बर १ मा १६२ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।

सुदुर पश्चिम प्र्र्र्रदेशमा ४० मेगावाट, प्रदेश ५ मा २१ मेगावाट र कर्णाली प्रदेशमा ७.१६ मेगावाट विद्युत उत्पादन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here