६ महिनामा धेरै नाफा कमाउने ग्लोबल आइएमई, कुन बैंकले कति कमाए ?

काठमाडौं, १७ माघ । वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । बैंकहरुले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा औसतमा २.२६ प्रतिशतले गिरावट आएको हो ।

पुस मसान्तसम्ममा २६ वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बैंक बाहेक) ले कुल २९ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएका छन्। गत वर्षको सोही अवधिको भन्दा ६८ करोडले कमी हो । बैंकहरुले गत आवको पुससम्म ३० अर्ब खुद मुनाफा कमाएका छन् ।

बैंकहरू गरेको नाफा बढी देखिएपनि वितरण योग्य नाफा भने कम रहेको छ । सबैभन्दा बढी नाफा कमाएको ग्लोबल आईएमई बैंकको पनि वितरण योग्य मुनाफा कम छ ।

गत आर्थिक वर्षको सोही अवधिकोभन्दा नाफा बढाएका बैंकहरूमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंक, एनआईसी एशिया र नबिल बैंकले कमाएका छन् । बैंकहरूको नाफा २ अर्बभन्दा बढी छ ।

चालु आवको यो अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले यो अवधिमा २ अर्ब ३१ करोड ५१ लाख नाफा गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा जम्मा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले कमाएको नाफा अन्य बैंकको भन्दा बढी भएपनि सामान्य मान्नु पर्ने हुन्छ । बैंकको चुक्ता पुँजीमात्रै २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य मुनाफा भने १ अर्ब ४३ करोड २० लाख रुपैयाँ रहेको छ ।

ग्लोबल आईएमई बैंकपछि बढी नाफा आर्जन गर्ने बैंकको सूचीमा परेको एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ६ करोड ५ लाख नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यो अवधिमा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

बढी नाफा कमाउने बैंकको तेस्रो सूचीमा परेको नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब १ करोड नाफा कमाएको छ ।

बैंकले हाल कमाएको नाफा गन आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यो अवधिमा बैंकको नाफा २ अर्ब ४ करोड रुपैयाँ थियो । दोस्रो त्रैमासम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

चालू आवको दोस्रो त्रैमासमा २६ मध्ये १६ बैंकको नाफामा गिरावट आएको छ भने ११ वटा बैंकको मुनाफा बढेको छ । यस्तै, अन्य विकास बबैंक तथा फाइनान्सलाई आफूमा गाभेका एनएमबी, प्राइम कमर्शियल, मेगा, कुमारी लगायत बैंकले पनि आफ्नो नाफामा छलाङ मारेका छन् ।

यस्तै, प्राइम कमर्शियल, एनएमबी, नेपाल इनभेष्टमेन्ट र प्रभु बैंकले डेढ अर्ब बढी खुद मुनाफा आर्जन गरेका छन् । मेगा, कुमारी, नेपाल, कृषि विकास, सानिमा लगायत ९ बैंकले १ अर्ब बढी नाफा कमाएका छन् ।

यस्तै, एभरेष्ट, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, लक्ष्मी लगायत १२ बैंकले ५० करोडदेखि १ अर्ब कम नाफा कमाएक छन् । सेञ्चुरी कमर्शियल र सिभिल बैंकले भने ५० करोडभन्दा कम नाफा कमाएका छन् ।

कुनै संस्था आफूमा नगाभे पनि प्रभु, सिटिजन्स, नेपाल बंगलादेश, सनराइज र एनआइसी बैंकले भने कोरोनका बाबजूद नाफा बढाउन सफल भएका छन् ।कोरोनाका कारण आर्थिक गतिविधमा सुस्ता हुँदा कर्जा विस्तार हुन नसक्दा, खराब कर्जा बढ्दा नाफाबाट नै प्रोभिजन गर्नुपर्ने भएकाले बैंकहरुको नाफामा गिरावट आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here