टीएमएस प्रयोगकर्ताको संख्या ४ लाख ४५ हजार, दुई सातामै ७० हजार थपिए

काठमाडौं, २१ फागुन । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली प्रयोगमा लगानीकर्ताको आकर्षण बढेको छ ।

प्रयोगमा आएको दुईवर्षमा अनलाइन प्रणाली (टीएमएस) प्रति लगानीकर्ताको आकर्षण देखिन थालेको हो ।

नेप्सेले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेप्सेको अनुसार फागुन २१ गतेसम्म सेयर कारोबारका लागि अनलाइनको युजर पासवर्ड लिने लगानीकर्ताको संख्या ४ लाख ४५ हजार ३५३ पुगेको छ ।

तथ्यांक अनुसार पछिल्लो १२ दिनमा अनलाइन कारोबारको लागि युजर र पासवर्ड लिनेको संख्या ६९ हजार ९२ ले बढेको हो। यो संख्या फागुन ९ गते ३ लाख ७६ हजार २ सय ६१ रहेको थियो ।

त्यस्तै अनलाइनको युजरनेम पासर्वड लिने सक्रिय लगानीकर्ताको संख्या दुई लाख २२ हजार ५६९ पुगेका छन् । यो संख्या ९ गते एक लाख ९५ हजार ९८९ रहेको थियो ।

तथ्यांक अनुसार हाल सक्रिय लगानीकर्ताहरुको संख्या ५ लाख ९४ हजार ८७९ पुगेकाे छ। पछिल्लो १२ दिनमा सक्रिय लगानीकर्ताको संख्या भने ८.०८ प्रतिशत अर्थात ४४ हजार ७४० जना बढेका छन्।

यस अवधिमा सगरमाथा सेक्युरिटीजको अनलाइन प्रयोगकर्ता सबैभन्दा धेरै ३१.३७ प्रतिशत बढेको छ। यस अघि ५९३ रहेको अनलाइन प्रयोगकर्ता बढेर ७७९ पुगेका छन्।

अनलाइन कारोबारको लागि सबैभन्दा धेरै युजर र पासवर्ड वितरण गर्नेमा भने नासा सेक्युरिटीज रहेको छ। फागुन ९ गते सम्ममा नासाले ३६ हजार ३२७ जनालाई अनलाइन कारोबारको लागि युजर र आईडी वितरण गरेको नेप्सेको तथ्यांक छ।

पछिल्लो १२ दिनमा नासाबाट अनलाइन युजर र पासवर्ड लिनेको संख्या १५.३५ प्रतिशतले बढेर ४१ हजार ९०२ पुगको छ।

सक्रिय क्लाइन्ट बढाउनेमा पनि नासा सेक्युरिटीज नै रहेको छन्। यस अवधिमा नासाको सक्रिय क्लाइन्ट १२ प्रतिशतले बढेर ३१ हजार १८४ पुगेको छ।

ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

नेप्सेले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली लगानीकर्ता मैत्री नभएको र झन्झटिलो प्रक्रिया रहेकाले यसप्रति आकर्षित हुन नसकेका लगानीकर्ता बताउँछन् ।

अनलाईन शेयर कारोबारीको संख्या बढ्न नसक्नुमा कतियप लगानीकर्ताले यसको प्रयोग गर्ने तरिका नजान्नु, न्यूनतम २५ प्रतिशत रकम ब्रोकरको खातामा अग्रिम जम्मा गर्नुपर्ने व्यवस्था नै असहज रुपमा देखिएको थियो । यसअघि अनलाइनको युजर आइडी र पासवर्ड लिन ब्रोकर कार्यालयमै गएर भौतिक फारम भरेर बुझाउनु पर्ने झन्झटिलो व्यवस्था थियो ।

अहिले सेयर कारोबारको भुक्तानीसमेत अनलाइन प्रणालीबाटै हुने गरेको छ । सेयर किनबेच गरेको पैसा ब्रोकबर कार्यालयहरुले पनि अनलाइनबाटै लगानीकर्ताको खातामा पठाउन थालेका छन् भने लगानीकर्ताले पनि ब्रोकरको खातामा जम्मा गर्दिने गरेका छन् ।

यसरी सेयर कारोबारको पैसा समेत लिनरदिन ब्रोकर कार्यालय जानु नपर्ने व्यवस्था भएपछि लगानीकर्तालाई सहज भएको छ ।

कोरोनाका कारण ब्रोकर कार्यालयमै आएर कारोबार गर्दा संक्रमणको जोखिम बढ्ने र ब्रोकरको स्क्रीन रुमसमेत बन्द भएकाले अनलाइनको युजर आइडी र पासवर्ड लिनेको संख्या ह्वात्तै बढेको ब्रोकरहरु बताउँछन् ।

पूर्वअर्थमन्त्री डा. खतिवडाले २०७५ साल कात्तिक २० गते निकै तामझामका साथ तारे होटलमा अनलाइन प्रणाली उद्घाटन गरेका थिए । पुस १७ गतेदेखि सेयर बजारमा अनलाइन प्रणाली लागू भएको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here