नेपालमा बुक-बिल्डिङ विधिको आवश्यकता किन ?

काठमाडौं, १० चैत । नेपाल धितोपत्र बोर्डले बुक-बिल्डिङ विधिबाट आइपीओ जारी गर्नका लागि तयारी तीव्र पारेको छ । बुक बिल्डिङ विधिबाट सर्वसाधरणमा शेयर (आइपीओ) जारी गर्न सर्वोत्तम सिमेन्टले बिक्री प्रबन्धक नियुक्त गरि सकेको छ ।

तर कहिलेदेखि आउने भन्ने टुंगो लागेको छैन् । बोर्डले बुक-बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने प्रयोजनका लागि ७४ वटा संस्थागत लगानीकर्ताको सूची तयार पारेको छ ।

नेपालमा साना लागानीकर्ताको लागि मार पर्ने भन्दै कतिले यसविधिको विरोध समेत गरिरहेका छन् । तर राम्रा कम्पनीलाई शेयर बजारमा ल्याउन बुक बिल्डिङ ल्याईएको नेपाल धितोपत्र बोर्डका निर्देशक तथा प्रवक्ता निरज गिरीले बताए ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको कार्यलयमा भएको अन्तरक्रियामा बोल्दै बोर्डका निर्देशक गिरीले राम्रा कम्पनीलाई शेयर बजारमा ल्याउन बुक बिल्डिङ ल्याईएको बताएका हुन् ।

‘स्थापित र राम्रा कम्पनीहरु १०० रुपैयाँमा आफ्नो शेयर खोल्न मान्दैनन्’ उनले भने, त्यसकारण राम्रा राम्रा कम्पनीहरुलाई पनि शेयर बजारमा आवद्ध गर्नको लागि बुक बिल्डिङ आवश्यक देखियो, त्यसैले बुक बिल्डिङको व्यवस्था ल्याईएको हो ।’

यसले बजारलाई झनै बलियो बनाउनको लागि सहयोग गर्ने बताउदै स्थापित भईसकेका कम्पनीका लागि लगानी बिस्तार गर्नको लागि बुक बिल्डिङ प्रभावकारी हुने निर्देशक गिरीले बताए ।

‘बुक बिल्डिङले बजारलाई झनै बलियो बनाउछ, किनभने यहाँ राम्रा र स्थापित कम्पनीहरु समावेश हुन्छन्’ उनले भने, ‘जसको लगानीको आकार बढ्छ र बजारलाई फाइदा हुन्छ ।’

अन्तरक्रिया बोर्डका निर्देशक गिरीले बुक बिल्डिङमा आइपीओओ खोल्ने कम्पनीको संख्या अब झनै बढ्ने बताएका थिए ।

के हो बुक-बिल्डिङ

बुक–बिल्डिङ धितोपत्रको निष्कासन मूल्य पत्ता लगाउने विधि हो । यसमा सर्वप्रथम कुनै मूल्यांकन विधिका आधारमा धितोपत्रको वित्तीय मूल्यांकन गरिन्छ ।

यो मूल्यांकन रकममा केही प्रतिशतले थपघट गरेर निष्कासन मूल्यको दायरा तोकिन्छ । सम्भावित लगानीकर्ताबाट उनीहरूले खरिद गर्न चाहेको आशय मूल्य र संख्यामा आवेदन माग गरिन्छ ।

प्राप्त आशय मूल्य र शेयर संख्याका आधारमा लगानीकर्ताले तिर्न चाहेको ‘भारित औसत मूल्य’ गणना गरिन्छ । यही मूल्य नै धितोपत्रको निष्कासन मूल्य (कट-अफ प्राइस) हुन्छ । लगानीकर्तालाई यही निष्कासन मूल्यमा समानुपातिक हिसाबले धितोपत्रको बाँडफाँट गरिन्छ ।

बुक–बिल्डिङले धितोपत्रको चुस्त मूल्य निर्धारण गर्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासमा यसको व्यापक प्रयोग हुन्छ । यस विधिमा लिड-अन्डरराइटरको भूमिका महत्वपूर्ण हुन्छ । धितोपत्र निष्कासन गर्ने कम्पनीले कुनै इन्भेस्टमेन्ट बैंकलाई लिड–अन्डरराइटर नियुक्ति गरेपछि बुक–बिल्डिङको प्रक्रिया सुरु हुन्छ ।

यस विधिमा आइपीओका लागि आवेदन दिने न्यूनतम् कित्ता ५० हुनेछ । सबै आवेदकलाई ५० कित्ताका दरले आइपीओ बाँड्न पुग्ने भए न्यूनतम् ५० कित्ताका दरले बाँडफाँट गरिन्छ । यदि, यसरी बाँड्न नपुग्ने भए गोलाप्रथाद्वारा कम्तिमा पनि ५० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने नियम रहेको छ ।

तर सबै कम्पनीले बुक बिल्डिङमार्फत आइपीओ जारी गर्न भने पाउँदैनन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ अनुसार यसरी शेयर जारी गर्न कम्पनीले विभिन्न ४ वटा पूर्व सर्तहरु पूरा गर्नुपर्ने हुन्छ । जस्तैः कम्पनीले विगत ३ वर्षदेखि लगातार खुद नाफा कमाएको हुनुपर्छ । साधारण सभाले बुक बिल्डिङ विधिमार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्नेछ ।

प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत रहेको र कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्छ । यी सर्त पूरा गर्न नसक्ने कम्पनीले बुक बिल्डिङमार्फत शेयर जारी गर्न पाउँदैनन् । यी सर्त पूरा गर्न नसक्ने कम्पनीले अहिले जस्तै प्रतिसेयर एक सय रुपैयाँमा आइपीओ जारी गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here