तपाईंमा धार्मिक आस्था पनि छ र सुन्दर धर्तिको यात्रा पनि गर्न चाहनु हुन्छ ? यी दुबैको संगमस्थल हो पवित्र गोसाइकुण्ड । हरेक जेष्ठ प्रतिपदादेखि दशमीसम्म चल्ने गोसाइकुण्ड मेला गोसाइकुण्ड स्नानका नामबाट पनि परिचित छ ।
परापूर्वकालमा देवता र दानवबीच लडाइ भयो । त्यसबेला समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई भगवान शिवले त्रिशुलले भित्तामा हिर्काएको किंवदन्ती छ ।
उनले त्रिशुल गाड्दा त्यहा धारा उत्पत्ती भयो । सोही त्रिशुल धाराको पानीबाट गोसाइकुण्ड उत्पत्ति भएको बताइन्छ । सोहीकारण यस कुण्डमा स्नान गर्न देश तथा विदेशबाट ठूलो संख्यामा भक्तजन यहाँसम्म पुग्ने गर्छन् ।
कुण्डमा स्नान गरी भगवान शिवको दर्शन गर्दा पापबाट मुक्ति मिल्ने, पितृ खुसी हुने तथा मनोकामना पुरा हुने विश्वास लिइन्छ । यस वर्ष गंगादशहरा मेला मंगलबारबाट शुरु भएको छ । १० दिनसम्म चल्ने यस मेलामा हजारौं व्यक्त गोसाइकुण्ड यत्रामा निस्कने गर्छन् ।
पृथ्वीका मालिक
गोसाइकुण्डका दुई नामले यस पवित्र भूमिको महिमा अझ प्रष्ट हुन्छ । जानकारहरुका अनुसार गो भनेको पृथ्वी र साई भनेको मालिक हुन् । अर्थातः पृथ्वीको मालिकको दर्शन गर्ने पवित्र स्थल हो गोसाइकुण्ड । यस भूमिलाई पृथ्वीको शिरपोश अर्थातः टोपीका रुपमा पनि ब्याख्या गर्न सकिन्छ ।
शाहसिक यात्राको अनुपम गन्तब्य
तपार्इं धर्मलाई शाहसिक यात्रा रुपमा पनि उपयोग गर्न चाहनुहुन्छ भने गोसाइकुण्ड सबैभन्दा आकर्षक गन्तब्य बन्न सक्छ । अहिले पर्यटकहरु लाङटाङबाट गोसाइकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म पदयात्रामा निस्कन्छन् ।
कहिले लाग्छ मेला ?
यहाँ जेष्ठ शूल्क पूर्णिमा सम्म चल्ने दशहरा मेलाको छुटटै महत्व छ । त्यसबाहेक साउन शुक्ल पूर्णिमाको दिन ऋषितर्पणी अर्थात जनैपूर्णिमाको दिन खास मेला लाग्छ । यसबाहेक भदौ, असोज र कात्तिकमा धेरै पर्यटक यहाँ पुग्छन् । किनकी त्यसबेला मौसम गोसाइकुण्ड यात्राका लागि अनुकूल हुन्छ ।
विशेषता
गोसाइकुण्ड रसुवा जिल्लामा समुन्द्रि सतहबाट ४ हार ३ सय ८० मिटरको उचाईमा अवस्थित छ । हिमालको काखमा एक फराकिलो निलो पानीको सरोवर नै गोसाइकुण्ड हो । यस आसपास करीव १ सय ८ अन्य कुण्ड रहेको बताइन्छ ।
त्यसमध्ये शिव र पावर्ती कुण्डका मान्यता अनुसार यहाँ भक्तजनको भीड लाग्छ । प्राकृतिक बनावट, र धार्मिक आस्थाका कारण गोसाइकुण्ड एक पुग्नै पर्ने गन्तब्यका रुपमा स्थापित भइसकेको छ ।
कसरी पुग्ने ?
रसुवाको स्याफ्रुको सबैभन्दा उच्च स्थानमा गोसाइकुण्ड अवस्थित छ । यस स्थानमा पुग्न रसुवा सदरमुकाम धुन्चेबाट एक दिनको प्रदलयात्रा गर्नुपर्छ । धुन्चेबाट देउराली, च्योलानपाटी, चन्दनबारी, लौरिविनायकको उकालो चढेसँगै गोसाइकुण्ड पुग्न सकिन्छ ।
छिनछिनमा वर्षा हुने, घना जंगलको बाटो हुँदै उकालो लाग्दा जुका लाग्ने समस्या हुन सक्छ । तीन हजार मिटरभन्दा माथि लागेपछि लेक लाग्ने समस्याले पनि पिरोल्न सक्छ । यसमा सचेत हुँदै यात्रामा निस्कनु पर्छ ।
सकभर धुन्चेमा एक रात बिताएर हिँड्दै जादा उकालोसँग अभ्यस्त हुन सकिन्छ । यात्राका दौरान अन्नपूर्ण, गणेश, मनास्लु, लानटान हिमालको दृष्यावलोकनले सबै थकान मेटाइदिन्छ ।
बाटोभरी बौद्ध धर्मावलम्बीले टाँगेका प्रे फ्ल्यागले नि यो यात्राको रोमान्चकतामा बल थपिदिन्छ । विश्व सम्पदा सूचिमै सूचिकृति यो गन्तब्य लाङटाङ राष्ट्रिय निकुन्ज भित्र अवस्थित रहेको छ ।