वर्ष २०७७ : रेकर्ड नै रेकर्ड बनाएको शेयर बजारमा १५०० अंकको छलाङ

काठमाडौं, १ बैशाख । कोरोना संक्रमणको कारण २०७७ साल त्यति सुखद रहेन । त्यसमा पनि आर्थिक क्षेत्र सबैभन्दा धेरै मारमा परे । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले देशभर लकडाउन गर्यो र जसको कारण शेयर बजार पनि बन्द रह्यो ।

बीचमा २०७७ बैशाख ३० र ३१ गते दुई दिन बजार खुले पनि संक्रमणको दर बढ्दै जाँदा निरन्तरता पाउन सकेन । जसको कारण बैशाख ३१ को कारोबार पनि शेयर बजार एकैपटक असार १५ गते मात्रै खुल्यो, त्यो दिन शेयर बजारको परिसूचक नेप्से १२२३ अंकमा थियो ।

कारोबार सुरुवात भएको केही दिनसम्म शेयर बजार निरन्तर ओरालो यात्रा पक्ड्यो । असार १५ गते न्यूनतम तल्लो विन्दु ११८८.७१ सम्म झरेको थियो ।

त्यसयता लगातार उकालो लागेको बजार वर्षको अन्तिम दिनसम्म १५०० अंकले बढेर २७१४ विन्दुमा पुग्यो । यो शेयर बजारको हालसम्मकै उच्च बिन्दु हो ।

साउन यता लगातार उकालो लागेको बजारले मंसिरमा करिब ४ वर्ष पुरानो इतिहासकै सर्वाधिक १८८१ विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको थियो । त्यसयता नेप्सले प्रायजसो हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको छ ।

करोडबाट अर्बमा पुग्यो दैनिक कारोबार

सूचकमा उछाल आएसँगै दैनिक कारोबार रकममा पनि दशौं गुणा वृद्धि भएको छ । साउनसम्म औसतमा दैनिक ५० करोड हाराहारीमा कारोबार हुँदै आएको शेयर बजारमा अहिले त्यो दशौं गुणाले बढेर दैनिक औसतमा ६ अर्ब माथि पुगेको छ ।

यसवर्ष एकैदिनमा इतिहासकै सर्वाधिक १० अर्ब ६७ करोडको शेयर कारोबार हुँदै कारोबार रकममा नयाँ रेकर्ड समेत बनायो ।

लगानीकर्ताको सम्पत्ति दोब्बर

यस वर्ष शेयर बजारमा लगानीकर्ताको सम्पत्ति दोब्बर भएको छ । गत वैशाखमा सेयर बजारमा लगानीकर्ताहरुको कुल सम्पत्ति (बजार पूँजीकरण) करिब १८ खर्ब हाराहारीमा रहेकोमा वर्षको अन्त्यसम्म त्यो बढेर दोब्बर भन्दा धेरै भएको छ ।

हाल सेयर लगानीकर्ताको कुल सम्पत्ति ३७ खर्बभन्दा बढी रहेको छ । लगानीकर्ताको सम्पत्ति बढ्नुको मुख्य कारण शेयर बजारमा आएको उछाल नै हो । १ वर्षको अवधिमा सूचीकृति कम्पनीको शेयर मूल्य दोब्बरदेखि दशौं गुणासम्म वृद्धि भएको छ ।

यस्तै, सूचीकृत कम्पनीहरुले कोरोनाका बीच शेयरधनीलाई लाभांश दिँदा पनि लगानीकर्ताहरुको सम्पत्तिमा वृद्धि भएको हो ।

साथै यस वर्ष शेयर बजारमा थप १ दर्जन बढी कम्पनी प्रवेश गरेका छन् । ती कम्पनीको आइपीओमा गरेको लगानी दशौं गुणाले वृद्धि हुँदा लगानीकर्ताके सम्पत्ति उल्लेख्य मात्रामा वृद्धि भएको हो ।

दोब्बर भए लगानीकर्ता

यस वर्ष शेयर बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताको संख्या दोब्बर बढीले वृद्धि भएको छ । गत वैशाखसम्म प्राथमिक बजारमा लगानी गर्न डिम्याट खाता खोल्नेको संख्या १६ लाख हाराहारीमा रहेकोमा चैतसम्म आइपुग्दा दोब्बरले बढेर ३३ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार चैत दोस्रो सातासम्म ३३ लाख ४९ हजार बढीले डिम्याट खाता खोलिसकेको छन् ।

यसैगरी, दोस्रो बजारमा शेयर कारोबार गर्नेको संख्या पनि दोब्बर बढीले बढेको छन् । नेप्सेका अनुसार गत वैशाखसम्म दोस्रो बजारका कारोबार गर्ने कुल लगानीकर्ताको संख्या ३ लाख रहेको फागुनसम्म बढेर ७ लाख पुगेको छ । यसमा अझै चैतमा थपिएकाको संख्या आइसकेको छैन ।

आइपीओको बाढी लागेको वर्ष

शेयर बजारमा नयाँ आइपीओ निष्काशनको संख्या बढ्दो क्रममा छ । आइपीओसँगै नयाँ लगानीकर्ता भित्रिएको हिसाबले २०७७ साललाई शेयर बजारको स्वर्णिम युग मान्न सकिन्छ ।

करिब एक बर्ष अघि नेपाल पुनर्बीमा कम्पनीको आइपीओ ३ लाख ९१ हजार ६ सय २६ जनाको मात्र आवेदन परेको थियो । तर, पछिल्लो समय फागुन २१ गतेबाट जारी भएको आइपीओ सबैभन्दा धेरै १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन दिएका थिए ।

यो वर्ष १९ वटा कम्पनीको आइपीओ जारी भएको जस मध्य १७ वटा कम्पनीको दोस्रो बजारमा कारोबार भइरहेको छ भने १ कम्पनीको शेयर सूचीकृतीको काम भइरहेको छ भने १ कम्पनीको आइपीओ बाडफाँड २०७८ सालमा मात्रै हुनेछ ।

यसै वर्ष जारी भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १५ लाख बढी सर्वसाधरणलाई शेयरधनी बनायो । यो बैंक नेपाली शेयर बजार इतिहासमै सबैभन्दा धेरै शेयर होल्डर हुने कम्पनी बन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here