चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार

काठमाडौं, २० बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार निर्धारण गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो ।

श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको पारिश्रमिक बढाएको राजपत्रमा उल्लेख गरिएको छ ।

नयाँ पारिश्रमिक दरअनुसार साउन १ देखि श्रमिकले मासिक न्यूनतम १५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । जसमध्ये ९ हजार ३ सय ८५ रुपैयाँ आधारभूत पारिश्रमिक हो भने ५ हजार ५ सय १५ रुपैयाँ महंगी भत्ता हो ।

यस आधारमा श्रमिकले घन्टाको ७७ रूपैयाँ तथा दैनिक ५ सय ७७ रूपैयाँ पाउनेछन् । दैनिक ज्यालादारीको हकमा ३ सय ६१ रुपैयाँ आधारभूत श्रमिक तथा २ सय १६ रुपैयाँ महंगी भत्ता हो ।

यसअघि श्रमिकको न्यूनतम पारश्रमिक १३४५० रुपैयाँ रहेको थियो । आधारभूत पारिश्रमिक ९३८५ मा ५६१५ रुपैयाँ महंगी भत्ता थप गरी १५ हजार पारिश्रमिक पुर्‍याइएको मन्त्रालयले जनाएको छ ।

सरकारले पारिश्रमिक बढाएपनि उद्योगी र व्यवसायीले सहमति जनाएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्याइने बताएका थिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ पुर्याइने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here