निषेधाज्ञामा होम डेलिभरी सहज भएन, ई-व्यापार संघद्धारा सरकारी प्रतिवन्धको आलोचना

photo source: Reviews Nepal

काठमाडौँ, २१ जेठ । ई–व्यापार संघ नेपालले सरकारले होम डेलिभरी सहज नगरको भन्दै सरकारी प्रतिवन्धको आलोचना गरेको छ ।

सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि, जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त मात्रामा ध्यान नदिएको उसको भनाइ छ ।

संघले हालका प्रतिबन्धहरुमा विशेष गरी काठमाडौं उपत्यकामा कार्य अवधि बिहान ९ बजेसम्म सीमित गर्नु, र अत्यावश्यक उत्पादनहरूको परिभाषामा कुनै फेर बदल नगर्नुमा आपत्ति जनाएको हो । यसले उपभोक्ताका साथै ई–वाणिज्य प्लेटफर्मसँग सम्बद्ध हजारौं साना र मध्यम व्यवसायलाई नकारात्मक असर परेको उसको दाबी छ ।

संघका अध्यक्ष सागर भट्टराई भन्छन्, ‘सरकारले लगाएको सुरक्षा उपायलाई ई–व्यापार संघ र यसका सदस्य कम्पनीहरूले सधैं अनुसरण गर्दै आएको छ । हामी सर्वसाधारणलाई एक सुरक्षित विकल्प प्रदान गर्दछौं । सबै सामानहरूको होम डेलिभरी सेवालाई अनुमति दिनाले भाइरस फैलनबाट रोक्न मद्दत गर्दछ ।’
उनका अनुसार व्यवसायीहरुले २ मिटर दूरी कायम राख्ने, डेलिभरी कामदारहरूलाइ सेनिटाइजर, ग्लोभ्स, र मास्कले सुसज्जित गर्ने तथा उनीहरुको स्वास्थ्यलाई निरन्तर अनुगमन गर्नेजस्ता मापदण्ड अपनाएका छन् ।

‘महामारीको चापलाई कम गर्न लगाएको लकडाउन एक महिना भन्दा बढि भैसकेकोले स्टेशनरी, मोबाइल र कम्प्युटर जस्ता सामग्रीहरु उपभोक्ताहरूको लागि खाना र कपडा जत्तिकै आवश्यक भएको छ । यद्यपि सरकारले विद्यार्थी, कर्मचारी र समाजका अन्य सदस्यहरूका आवश्यकतालाई सम्बोधन गर्न पर्याप्त कदम चालेका छैन,’ भट्टराइले भने ।

यदि ई–वाणिज्य कम्पनीहरूलाई केही उत्पादन समूहहरूमा सीमित नराखी पूर्णरुपमा वितरण सेवा संचालन गर्न अनुमति दियो भने यो समस्या समाधान हुने र उपभोक्ताहरूको सुरक्षा सुनिश्चित गर्न सहयोग गर्ने उनको भनाइ छ ।

कोभिड–१९ महामारीको समयमा होम डेलिभरीको स्पष्ट लाभका कारण छिमेकी भारत, बंगलादेश, पाकिस्तानलगायत विश्वभरका देशहरूका सम्बन्धित सरकारहरूले ई–वाणिज्य र होम डेलिभरीलाई आवश्यक सेवाको रुपमा पूर्ण रुपले संचालन गर्न दिएका छन् ।

ई–व्यापार संघका अनुसार ईकमर्स र होम डेलिभरी सेवाहरूमा सिमित कार्य अवधि लागु गर्नु र चाहिने सामग्रीहरुको उपलब्धतामा रोक लाउनु भनेको अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरूलाई पूर्ण रुपमा बेवास्ता गर्नु हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here