वाणिज्य बैंकमा रहेको अधिक तरलताको उपयोग गर्न निजी क्षेत्रको माग

काठमाडौं, २४ जेठ । निजी क्षेत्रले उठाएको मागहरु अझै बजेटले सम्बोधन नगरे पनि कार्यन्वयनको चरणमा भने सरकासँग हातेमालो गर्न चाहेको छाता संगठनहरुले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटको कार्यान्वयन कोरोना खोपको उपलब्धतासँग जोडिएको धारणा राखे । ‘सरकारले डेढ महिना सम्ममा खोपको व्यस्थापन गर्न सक्नुपर्छ । सबै नागरिकलाई छिटो भन्दा छिटो खोपको सुनिश्चितता गरेर आर्थिक पुनर्उत्थानमा लाग्नु पर्छ,’ नेपाल आर्थिक पत्रकार संघ नाफिजले सोमबार आयोजना गरेको बजेट कार्यान्वयनमा चुनौति र समाधान छलफलमा बोल्दै उनले भने ।

गोल्छाले राष्ट्र बैंकले दिने वित्तीय सहुलियतले निजी क्षेत्रलाई तंग्रिन ठूलो सहयोग पुग्ने र त्यसलाई आगामी मौद्रिक नीतिले सम्बोधन गर्नु पर्ने बताए । वाणिज्य बैंकमा देखिएको अधिक तरलताको व्यवस्थापन गर्न सकियो भने राम्रो हुने पनि उनले उल्लेख गरे । सम्पत्ति अभिलेखीकरण र राजस्व न्यायाधिकरणबारे बजेटले नबोलेकामा भने उनले असन्तुष्टी व्यक्त गरे ।

कार्यक्रममा आफन धारणा राख्दै नेपाल चेम्बर अर्फ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले बजेटका कार्यक्रमहरु कार्यान्यवन फितलो हुन नहुनेमा जोड दिए । सरकारका नीति तथा कार्यक्रमहरु कार्यान्यवन कमजोर भएको भन्दै उनले विकास बजेट जहिले पनि कमजोर रहँदै आएको बताए ।

विनियोजित बजेट खर्च भएको छ कि छैन भनेर सरकारले त्रैमासिक रुपमा समीक्षा गर्ने प्रणाली बनाउनु पर्ने भन्दै अध्यक्ष मल्लले जनताले रगत पसिना बगाएर तिरेको कर असारे भेलमा बगाउने विकास नर्गन आग्रह गरे ।

बजेटले उद्योगी व्यवसायीको धेरै भन्दा धेरै माग सम्बोधन गरेका भन्दै अब कार्यान्वयनमा विशेष ध्यान दिन नेपाल उद्योग परिसंघका वरिष्ठ उपाधयक्ष विष्णु अग्रवालले सरकारलाई आग्रह गरे ।

बजेटको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रको संयुक्त कार्यदल बनाउन पनि उनले माग गरे । विगतको बजेट कार्यान्वयनको अवस्थालाई चिर्न हरेक महिना बजेट कार्यान्वयनको समिक्षा गर्न पनि उनले अर्थ मन्त्रालयलाई सुझाए ।

कार्यक्रममा बोल्दै अर्थ सचिव शिशिर कुमार ढुंगानाले बजेट कार्यान्वयनमा कुनै चुनौती नरहेको बताए । आम मानिसको चाहना र राष्ट्रको आवश्यकताका आधारमा सरकारले बजेट प्रस्तुत गरेको उनले दाबी गरे ।

महामारीको बीचमा जीवन बचाउने र अर्थतन्त्र सबल बनाउन बजेट केन्द्रित रहेको भन्दै ढुंगानाले निजी क्षेत्रलाई साथै लिएर बजेट कार्यान्वयनमा अघि बढ्ने बताए । बजेट कार्यान्वयनका आधारभूत मार्गदर्शन र कार्यविधिलाई असरा १५ अघि नै सक्ने गरी मन्त्रालयले काम गरिररहेको भन्दै उनले बजेट कार्यान्वयन तालिका बनिसकेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here