दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २८.२० प्रतिशत महँगियो

काठमाडौं, ३१ जेठ । चालू आर्थिक वर्षमा मूल्यवृद्धि अपेक्षाकृत नियन्त्रणमा देखिए पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भन्ने उच्च देखिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/०७८ को १० महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च देखिएको हो ।

अघिल्लो महिना वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ ।

२०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा घ्यू तथा तेल, मासु तथा माछा, गैर–मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य पदार्थ उपसमुहको मूल्यवृद्धि क्रमशः २८.२० प्रतिशत, १७.१२ प्रतिशत, ९.८५ प्रतिशत र ९.८४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७७ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मुद्रास्फीति रहेको थियो । थोक मुद्रास्फीति तर्फ हेर्ने हो भने २०७८ वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको छ ।

तलब तथा ज्याला दर सूचकाङ्क बारे रिपोर्टमा लेखिएको छ – २०७८ वैशाखमा वार्षिक बिन्दुगत तलब तथा ज्याला दर सूचकाङ्क १.८९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्याला दर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here