वित्तीय पहुँचमा पुरुष सरह महिला व्यवसायी

संकेतिक तस्विर

रक्षा रेग्मी

काठमाडौं । सामाजिक, प्रशासनिक तथा राजनीतिक क्षेत्रमा महिलाको उपस्थिती खास राम्रो नभएपनि वित्तीय पहुँचको अवस्था भने उत्साहजनक नै देखिएको छ ।

केन्द्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको एक तथ्यांकले वित्तीय क्षेत्रमा महिलाको पहुँच पुरुषसरह रहेको देखाएको छ ।

पछिल्लो समय नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोग बढ्दै जाँदा वित्तीय पहुँचको विस्तार भएको देखिन्छ ।

यस्ता संस्थाहरुले महिला लक्षित विभिन्न योजना सार्वजनिक गरेकोले पनि महिला व्यवसायीहरुको पहुँच बढेको हो ।

तथ्यांक विभागका अनुसार महिलाले सञ्चालन गरेको र पुरुषले सञ्चालन गरेको उद्योगमा वित्तिय सुविधा त्रमशः३४ र ३६ प्रतिशत रहेको छ । जुन लगभग समान जस्तो हो ।

त्यसो त प्रदेश अनुसार महिला र पुरुष व्यवसायीको वित्तीय पहुँचको स्थिती फरक रहेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार कर्णाली र लुम्बिनी प्रदेशमा महिलाको वित्तीय पहुँचको अवस्था तुलनात्मक रुपमा बढी छ । लुम्बिनी प्रदेशमा महिलाको वित्तीय पहुँच ३६ दशमलव ५ प्रतिशत महिला छ भने पुरुषको ३४ दशमलव ८ प्रतिशत छ ।

त्यस्तै कर्णालीमा ४५ दशमलव ७ प्रतिशत महिला व्यवसायी र ४२ दशमलव ६ प्रतिशत पुरुषको वित्तीय पहुँचमा छन् । अन्य प्रदेशमा भने वित्तीय पहुँचमा पुरुष व्यवसायीहरु केही अगाडी छन् ।

प्रदेश नम्वर १ मा ३७ प्रतिशत पुरुष र ३४ प्रतिशत महिला व्यवसायी वित्तीय पहुँचमा छन् । त्यस्तै प्रदेश २ मा वित्तीय पहँचको अवस्था क्रमशः ३४ प्रतिशत पुरुष र ३० प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

विशेषगरी सूचना प्रविधि, कला तथा मनोञ्जन र सेवा क्षेत्रमा महिलाहरुको वित्तीय पहुँच बढी छ । त्यस्तै खानीजन्य तथा मानव स्वास्थ्य तथा सामाजिक कार्यसम्बन्धी गतिविधिहरुमा तुलनात्मक रुपमा महिलाको पहुँचको स्तर कमजोर छ ।

सूचना तथा प्रविधि क्षेत्रमा ३३ दशमलव २ प्रतिशत महिला र २ प्रतिशत पुरुष व्यवसायीको वित्तीय पहुँच छ । त्यस्तै वित्तीय पहुँच कृषि, वन र माछापालनमा २८ दशमलव ६ प्रतिशत र पुरुषको २७ दशमलव ८ प्रतिशत छ ।

सेवा क्षेत्रमा २६ दशमलव ५ महिला र २३ दशमलव ६ पहुँच छ । कला तथा मनोरन्जनको क्षेत्रमा भने २४ प्रतिशत दुवैको समान पहुँच रहेको देखिएको छ ।

तथ्यांकका अनुसार महिला र पुरुषले सञ्चालन गरेको उद्योगको वित्तिय स्रोत भने फरक रहेको छ । महिलाको प्रमुख वित्तीय स्रोतमा सहकारी छ भने पुरुष व्यवसायीको रोजाइमा बैंक ।

अधिकांश पुरुषले उद्योग वा व्यवसायका लागी बैंकबाट ऋण दिएको देखिन्छ । जवकी महिलाले सहकारीबाट । सहकारीबाट ३६ दशमलव ४ प्रतिशत महिला व्यवसायीले आर्थिक कारोवार गरेको पाइएको छ ।

त्यसो त बैंकबाट २३ दशमलव ९ प्रतिशत महिला सञ्चालित व्यवसायले कारोवार गरेको छ । यता पुरुषको हकमा ३९ दशमलव ६ प्रतिशत वित्तीय कारोवार बैंकबाट र दोश्रोमा २९ दशमलव ३ प्रतिशत पुरुष व्यवसायीले सहकारीबाट यस्तो सुविधा लिएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here