धेरै निद्रा लाग्छ ? गम्भीर रोगको लक्षण हुनसक्छ

काठमाडौं । स्वास्थ रहनका लागि निद्रा सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।

१८ देखि ६४ वर्षका एक सामान्य मानिसले दैनिक सातदेखि नौ घण्टा सुत्नुपर्ने हुन्छ । सात घण्टा सुत्नाले आयु लामो हुने तथा मस्तिष्कको स्वास्थ्य राम्रो हुने विभिन्न अध्ययनले देखाएको छ । तर ओच्छ्यानमा धेरै समय बिताउनु स्वास्थ्यमा हुनसक्ने विभिन्न जोखिमसँग पनि जोडिएको छ । धेरै निद्रा लाग्नु कुनै रोगका लागि जोखिम कारक हुनसक्छ ।

वा धेरै निद्रा लाग्नु शरीरमा पहिलादेखि नै रहेको रोगको लक्षण पनि हुनसक्छ । निद्रामा समस्या भएको मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा त्यस्ता मानिस विभिन्न रोग विकास गरिरहेका हुन्छन् । छुट्टीको समयमा एकदुई दिन धेरै सुत्दा खासै फरक पर्दैन । तर हरेक दिन नौ घण्टाभन्दा बढी सुत्न थालेमा केही समस्या भएको बुझ्न सकिन्छ ।

राम्रो निद्रा नलाग्दा वा निद्रामा समस्या हुने मानिसहरू लामो समय सुत्ने गर्छन् । धेरै समय सुत्नाले शारीरिक र मानसिक समस्या बढाउने मात्र नभई यसले मृत्युको जोखिम पनि बढाउँछ । अध्ययनका अनुसार धेरै सुत्ने मानिसमा दिमाग कार्यमा बाधा पुग्ने, स्मरणशक्तिमा ह्रास आउने, डिप्रेसनलगायतका मानसिक समस्या बढी हुने, अल्जाइमर र डिमेन्सियाको जोखिम बढ्ने, सुन्निने समस्या बढ्ने, थकान तथा दुखाइ बढ्ने, प्रजनन क्षमता कमजोर हुने, मोटोपना, मधुमेह, मुटु रोग, स्ट्रोकलगायत दीर्घकालीन रोगको जोखिम बढ्ने हुन्छ ।

साथै, धेरै सुत्नाले जुनसुकै कारणले हुनसक्ने मृत्युको जोखिम पनि बढी हुन्छ । त्यस्तै, कम समय (७ घण्टाभन्दा कम सुत्ने) वा कम गुणस्तरको निद्रा पाउने मानिसमा पनि मुटु रोग तथा स्ट्रोकको जोखिम बढ्ने विभिन्न अध्ययनले देखाएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here