नेपालको सबैभन्दा लामो सुरुङ पुरा, मेलम्चीको पानी दशैंमा काठमाडौंमा

क्लाउडपत्रिका

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री बिना मगर र एसियाली विकास बैंक (एडीबी)का दक्षिण एसिया महानिर्देशक हुन किमले मेलम्ची खानेपानी आयोजनाको सिन्धु–ग्याल्थुम टनेलको अवलोकन गरेका छन् । सो सुरुङ नेपालको सबैभन्दा लामो सुरुङ हो ।

कुल २७.५ किलोमिटर लामो सुरुङ केही महिनामा पूर्ण रुपमा सञ्चालनमा आउने छ र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरण गर्ने गरी काठमाडौं उपत्यकामा आपूर्तिका लागि मेलम्ची नदीबाट पानी ल्याउने छ ।

किमका अनुसार सुरुङ खन्ने काम पूरा हुनु आयोजनाका लागि कोसेढुङ्गा हो । चाँडै नै काठमाडौं उपत्यकाका बासिन्दाले व्यहोरिरहेको खानेपानीको समस्या कम गर्न सहयोग गर्नेछ ।

मेलम्ची खानेपानी आयोजनाले करिब १३ लाख सहरी बासिन्दा (अर्थात् १५८,५४९ परिवारलाई) खानेपानी आपूर्ति गर्न सहयोग पुग्ने छ । काठमाडौं उपत्यका खानेपानी लिमिटिडेको अहिलेको खानेपानी आपूर्ति सरदरमा प्रतिदिन करिब १० करोड लिटर रहेको छ, जसमा करीब ४० प्रतिशत चुहावटबाट खेर जाने गरेको अनुमान गरिएको छ ।

आगामी पुससम्ममा काठमाडौंमा मेलम्चीको १७ करोड लिटर खानेपानी आउने छ । नयाँ प्रणाली सञ्चालनमा आएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपभोक्ताका लागि दैनिक कम्तीमा २–४ घण्टा खानेपानी आपूर्ति हुने केयुकेएलले जानकारी दिएको छ ।‘यस्तो राष्ट्रिय महत्वको आयोजनाको हिस्सेदार बन्न पाउँदा एडिबी गौरवान्वित छ’, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक मुख्तोर हामुद्खानोभले भने ।

कुल ३५ अर्ब ५४ करोड रुपैयाँको मेलम्ची खानेपानी आयोजनाका लागि एडिबीले कुल १४ अर्ब ५० करोड रुपैयाँ ऋण उपलब्ध गराएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजलको खानेपानी प्रशोधन प्लान्टमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी रहेको छ ।

सरकारले आगामी आर्थिक वर्षको शुरुसम्म सबै काम सम्पन्न गर्ने र सुरुङको परीक्षण गर्ने योजना गरिरहेको मन्त्री मगरले बताइन् ।
सन् २००० मा शुरु भएको मेलम्ची खानेपानी आयोजना सन् २००७ मै सम्पन्न गर्नु पर्ने थियो । तर, पटकपटक ठेकेदार परिवर्तन हुने, भुकम्प, नाकाबन्दी लगायत कारणले परियोजनामा एक दशकको ढिलाइ भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here