व्यक्तिगत रुपमा आइएमईआइ दर्ता गर्ने तीन लाख नजिक, एक महिनामै बढे २ लाख

काठमाडौं, २८ साउन । विदेशबाट खरिद गरी ल्याइएका मोबाइल फोनको मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आइएमईआइ) नम्बर दर्ता गर्नेको संख्या २ लाख ८५ हजार पुगेको छ ।

अवैध वा चोरी पैठारीबाट भित्रिने मोबाइल फोन नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आइएमईआइ नम्बर दर्ता अनिवार्य गरेसंगै यो संख्या ह्वात्तै बढेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार अहिलेसम्म २ लाख ८५ हजारभन्दा धेरै मानिसले आइएमईआइ दर्ता गरेका छन् । जसमा एक महिनामै २ लाखभन्दा धेरै मानिसले आइएमईआइ दर्ता गरेका छन् ।

व्यवसायिकरुपमा बिक्री हुने मोबाइल भन्सारमै दर्ता भएर आउने भए पनि व्यक्तिगत रुपमा आउने र विदेशबाट उपहार पठाइदिन मोबाइलको आईएमईआई नम्बर दर्ता हुन सकेका थिएनन् ।

एक महिनामै बढे २ लाख

विभागको तथ्यांक अनुसार गत असार २४ गते विदेशबाट आउने फोनमा आइएमईआइ दर्ता अनिवार्य गर्नुपर्ने प्राधिकरणको विज्ञप्ती सार्वजनिक भएसंगै आइएमईआइ दर्ता गर्ने मानिसको संख्या दुई लाख बढेको प्राधिकरणका आइटी कर्मचारी दिनेश मैनालीले बताए ।

‘बजेटमा पनि विदेशबाट आएका फोनमा अनिवार्य रुपमा आइएमईआइ दर्ता गर्नुपर्ने विषय समावेश थियो । त्यसका साथै हामीले पनि विज्ञप्ती जारी गर्दै साउन १ गतेबाट आइएमईआइ दर्ता नगरी विदेशबाट आएका फोन नचल्ने बताएसंगै आइएमईआइ दर्ता गर्नेको संख्या बढेको छ ।’ मैनालीले क्लाउड पत्रिकासँग भने, ‘गएको एक महिनामा मात्रै झण्डै २ लाख जनाले आइएमईआइ दर्ता गरेका छन् ।’

आइएमईआइ दर्ता प्रक्रियाले अवैध वा चोरी पैठारीबाट भित्रिने मोबाइल फोन नियन्त्रणमा सहयोग गर्ने प्राधिकरणले बताएको छ । गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वनमा आएपनि मोबाइलको आईएमईआई दर्ता भने त्यसअघि नै शुरू भएको थियो ।

प्राधिकरणले अवैध मोबाइल रोक्न गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याएको थियो । अहिले यो सिस्टम पूर्ण रूपमा लागु भएको छैन् ।

यो प्राणाली लागुभएपछि ६ महिनासम्म परीक्षणकाल तोकिएको छ । यसको अर्थ अहिले सञ्चालनमा रहेका मोबाइलहरु यो प्रणाली लागूभएको ६ महिनासम्म आईएमईआई नम्बर दर्ता गर्न समयावधि दिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

६ महिनापछि भने प्राधिकरणले दर्ता नभएका मोबाइललाई पूर्णरुपमा बन्द गर्न सक्छ ।

आइएमईआइ दर्ता कसरी गर्ने

हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ लाई आइएमईआइ नम्बर भनिन्छ । मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा *#06# डायल गरी आफ्नो मोबाइलको आईएमईआई नम्बर हेर्न सक्नेछन् । यदि मोबाइलले एउटा मात्र सिम सर्पोट गर्ने हो भने एउटा मात्र आईएमईआई नम्बर देखाउँछ ।

यदि दुई वटा सिम लाग्छ भने दुईवटा आइएमईआइ नम्बर हुन्छन् । यदि दुईवटा छ भने प्राधिकरणमा दुवै आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

हरेक मोबाइलका साथै सिम सल्टका आधारमा आइएमईआइ नम्बर फरक हुन्छ । मोबाइलको कभर राखिएको स्टिकरमा पनि आइएमईआइ नम्बर लेखिएको हुन्छ ।

यदि तपाईंको मोबाइलको आइएमईआइ दर्ता भएको छैन भने त्यसलाई अनलाइनबाटै दर्ता गर्न सक्नुहुन्छ । व्यक्तिगत रुपमा आफ्नो मोबाइलको आइएमईआइ नम्बर दर्ता गर्नका लागि दूरसञ्चार प्राधिकरणको वेवसाइटमा जानुपर्ने हुन्छ ।

वेवसाइटमा रहेको आइएमईआइ/ईएसएन/एमईआईडी मा गएर आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । प्राधिकरणका अनुसार आईएमईआई नम्बर दर्ता गर्न कुनै शुल्क लाग्दैन ।

हाल आईएमईआई नम्बर दर्ता गर्ने लिंक खुल्दैन । उक्त लिंक खुलेसँगै साइनअप गर्ने बित्तिकै त्यहाँ ‘न्यु इम्पोटर’ र ‘इन्डिभिजुअल एप्लीकेशन’ अप्सन देख्नुहुने छ ।

इन्डिभिजुअल एप्लिकेशनमा क्लिक गरी भित्र जानुपर्ने हुन्छ । त्यहाँ तपाईंलाई एउटा फर्म प्राप्त हुने छ । उक्त फर्ममा आवश्यक जानकारी भर्नुहाेस् । साथै सरकारबाट उपलब्ध गराइएको कुनैपनि एउटा आधिकारिक परिचयपत्रको स्क्यान कपी पनि बुझाउनुहाेस् ।

यति भएपछि उपलब्ध जानकारीका आधारमा प्राधिकरणले अध्ययन गरी दर्ता गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here