पुनर्निर्माणको नयाँ योजनामा सघाउन दाताहरु तयार

विकास सहायता समन्वय तथा सहजीकरण समितिको बैठक

काठमाडौं, असार ५ । पुनर्निर्माणको नयाँ योजनामा सघाउन दाताहरु तयार भएका छन् ।

दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिको आजको बैठकले प्राधिकरणले पेश गरेको नेपालको पुनर्निर्माण र पुनर्स्थापनामा ६ खर्ब ३० अर्ब रुपैयाँ लाग्ने संशोधित अनुमान र कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

२०७३ साल वैशाखमा तयार पारिएको विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनाले पुनर्निर्माण र पुनर्स्थापनाका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बजेटको सीमालाई ध्यान दिएर खानेपानी, सडक, पुल लगायत सरकारका नियमित निकायहरुबाट गरिने पुनर्निर्माण र गैरसरकारी संस्थाहरुबाट गरिने पुनर्निर्माणको बजेट कटाइ प्राधिकरणमार्फत गरिने पुनर्निर्माणमात्र कार्यक्रम मात्र समावेश गर्दा उक्त संशोधित बजेट तयार भएको जानकारी दिए ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्म २ खर्ब ९१ अर्ब रुपैयाँ हुने अनुमान छ । आगामी आर्थिक वर्षका लागि १ सय ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण तथा पुनर्स्थापनामा ‘फाइनान्सियल ग्याप’ रहेको भन्दै थप स्रोत जुटाउनका लागि अर्थमन्त्रालय र दातृ निकायहरुसँग परामर्श जारी रहेको बताए ।

यस्तै बैठकमा प्राधिकरणले पुनर्निर्माण र विपद् व्यवस्थापन कार्यको स्थानीयकरण, सामाजिक आर्थिक तथा जीवीकोपार्जन कार्यक्रम सञ्चालन, परम्परागत सम्पदा बस्ती तथा शहरी क्षेत्रको पुनर्निर्माण एवं पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी अभिलेखिकरणमा थप सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गरेको थियो ।

सुरक्षित नेपाल निर्माणका लागि राष्ट्रिय भवन आचारसंहितालाई संशोधन गर्दै स्थानीय तहसम्म लागु गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

साथै नेपालले पुनर्निर्माण तथा पुनर्स्थापना प्राप्त गरेको उपलब्धी, अनुभव र सिकाईलाई अन्तर्राष्ट्रिय समुदायसँग पुर्याउन आगामी वर्ष पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरिने भएको छ । ‘दातृ निकायहरु समेतको सहयोगमा अन्तर्राष्ट्रिय क्षेत्रमा नमूनायोग्य काम भएका छन् । ती कार्यहरुलाई स्थापित गर्न र सिकाइको आदानप्रदानका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएका हौं । वित्तीय स्रोत जुटाउनका लागि सम्मेलन गर्न लागिएको होइन’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ।

‘पुनर्निर्माण उल्लेखनीय’

बैठकमा विश्व बैंकका एक्टिङ कन्ट्री म्यानेजर केने एजेमेनारीले विभिन्न प्रतिकूलताका बाबजुद पुनर्निर्माणमा जुन प्रगति हासिल भएको छ, त्यो उल्लेखनीय रहेको बताए ।

युरोपेली युनियनका हेड अफ कोअपरेसन ओभिडियो माइकले पुनर्निर्माणको क्षेत्रमा हासिल गरेको प्रभावकारी प्रगतिका लागि पुनर्निर्माण प्राधिकरण नेतृत्वलाई बधाई दिए । उनले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।

भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन डा. अजयकुमारले नेपालको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता गरेको अनुदान तथा ऋण सहयोगका परियोजनाहरुलाई अगाडि लैजान काम गरिरहेको जानकारी दिए।

चिनियाँ राजदूतावासका प्रतिनिधि लुअ सुआईले चीन सरकारले अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनमा प्रतिबद्धता गरेअनुसार पुनर्निर्माणका कार्यहरु भइरहेको बताए । उनले बाँकी कार्यहरु समयमै सम्पन्न गर्न नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेकाे बताए ।

बेलायती सहयोग नियोग (डिफिड)को पुनर्निर्माणका विभागका टिम लिडर लियोनार्ड टेडले जोखिममा परेका वर्गका भूकम्पपीडितहरुतर्फ ध्यान दिन सुझाव दिँदै त्यसमा सहयोग गर्न तत्पर रहेको बताए ।

अमेरिकी सहयोग नियोग (युएसएआइडी)का परियोजना विकास अधिकृत एन्ड्रयु गोल्डाले युएसएडले क्षतिग्रस्त विद्यालय, शिक्षा तथा सञ्चार क्षेत्रमा सहयोग पुर्याइरहेको जानकारी दिँदै आगामी दिनमा पनि त्यसलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

एसियाली विकास बैंकका पोर्टफोलियो म्यानेजमेन्ट युनिटका प्रमुख रुडी भान डेइलले इन्डोनेसियाले विपद् जोखिम न्युनीकरणमा गरेका प्रयास नेपालका लागि पनि उदाहरणीय हुनसक्ने बताए । उनी हालैमात्र इन्डोनेसियाबाट नेपाल सरुवा भएका हुन् ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का कन्ट्री रिप्रेजेन्टटेभिज युमिको आशाकुमाले आफूले जिम्मेवारी पाएका क्षेत्रमा पुनर्निर्माणको राम्रो प्रगति भएको जानकारी गराउँदै जीविकोपार्जन तथा आयआर्जनको क्षेत्रमा नयाँ परियोजना सुरु गर्न लागेको जानकारी दिए ।

बैठकका सहभागीहरुलाई धन्यवाद दिँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले साढे तीन वर्षको अवधिमा नेपालको पुनर्निर्माण गौरव गर्ने चरणमा पुगेको बताए । उनले पुननिर्माण र पुनर्स्थापनाका कार्यक्रमहरुमा सहयोग पुर्याएकोमा दातृ निकायहरुलाई धन्यवाद दिए ।

बैठकको सुरुमा सहभागीहरुलाई स्वागत गर्दै प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले पुनर्निर्माणले गति लिएको बताए ।

भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐनमा विकास सहायतद्वारा सञ्चालित पुनर्निर्माण सम्बन्धी कार्यक्रमलाई प्रभावकारी र पारदर्शी बनाउन र त्यस्तो त्यस्तो कार्यक्रमको अनुगमन गर्न गराउन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु र नागरिक समाजको समेत प्रतिनिधित्व हुने गरी विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन गर्ने व्यवस्था छ । यसअघि समितिका आठवटा बैठक भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here