रोजाइमा परेन् सुपथ मूल्य पसल, खसीबोका घटस्थापनापछि च्याङ्ग्रा नपाइने

फाइलफोटो

काठमाडौं, १६ असोज । निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडबाड लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

यसवर्ष पनि असोज १ गतेदेखि देशको विभिन्न स्थानमा पसल सञ्चालनमा ल्याएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशभरका आ–आफ्नै कार्यालय, डिपो, डिलर र अनलाइन मार्फत सहुलियत मूल्य पसल २०७८ सञ्चालन गरेका छन् ।

तर यस वर्ष भने अघिल्ला बर्ष झैं यी पसलमा उपभोक्ताको भिड छैन । अधिकांस सामान घर पायक होलसेल पसलकै भाउमा पाइने भएकाले सर्वसाधरणहरु सुपथ मूल्य पसलसम्म पुगेका छैन् ।

आउने जाने खर्च जोड्दा घर नजिक पसलकै भाउमा पाइने भएकाले उपभोक्ताले यसलाई सुपथ मुल्य मानेका छैनन् ।

सुपथ मूल्य पसलमा सर्वसाधारणको अधिकांस रोजाइमा पर्नेमध्ये खसीबोका घटस्थापनापछि मात्र बेच्ने भएकाले पनि भिड देखिएको छैन् ।

खसीबोकाको लागि भने बाहिर पसल भन्दा सुपथ मूल्य पसल नै रोजाइमा पर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दशैंका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ।

दशैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो।

बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएता पनि यसवर्ष खसी-बोका मात्र बिक्री हुनेछ ।

सुपथ मूल्य पसलबाट खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ ।

यसैगरी, पिठो, चिउरा, तोरीको तेल, सनफ्वरको तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा प्रतिकिलो २० रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएको छ ।

यस्तै, साल्ट ट्रेडिङ कर्पाेरेसनले ३२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट नुन प्रतिकिलो १८ रुपैयाँमा र चिनी प्रतिकिलो ७९ रुपैयाँमा पाइनेछ ।

साल्ट ट्रेडिङका अनुसार चिनी प्रतिव्यक्ति २ किलो र नुन ६ किलोसम्म किन्न पाइनेछ । प्रतिकिलो १ हजार रुपैयाँ पर्ने घिउलाई ५० रुपैयाँ छुट गरी ९ सय ५० मा पाइनेछ ।

डिब्बामा भएको घिउ अहिले १ हजार २० रुपैयाँमा बिक्री गरिँदै आएको छ । अब भने ५० रुपैयाँ छुट दिएर ९ सय ७० मा पाइनेछ ।

तर यसपटक सुपथ मुल्य पसलमा चिनी नराखिएकोमा उपभाक्ताले गुनासो गरेका छन् । निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here