आर्थिक गतिविधि कोरोना अघिकै अवस्थामा, ८७ प्रतिशत व्यवसाय पूर्ण सञ्चालन

काठमाडौं, ८ मंसिर । नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार कोभिडको दोस्रो लहरपश्चात आर्थिक गतिविधि पुरानै लयमा फर्किएको छ ।

सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग व्यवसाय पूर्णरुपमा सञ्चालनमा आएको देखाएको छ ।

कोरोनापूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन र कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ । साथै, रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशतबाट ९७.२ प्रतिशत पुगेको छ ।

बन्दाबन्दी पश्चात औसतमा ६१ प्रतिशत उद्योग/ व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग÷व्यवसायहरु मात्र पूर्णरुपमा सञ्चालनमा रहेको देखाएको थियो ।

यसैगरी २०७७ मंसिरमा प्रथम र २०७८ बैशाखमा दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको राष्ट्र बैंकले जनाएको छ ।

व्यवसाय सञ्चालन सम्बन्धी पछिल्लो वस्तुस्थिति बारे २०७७ असार, २०७७ मंसिर र २०७८ बैशाखको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ कात्तिक ७ देखि १७ गतेसम्म तेस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरेको छ ।

कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्न गयो । नेपालले पनि महामारी रोकथामका लागि २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी लगायतका उपायहरु अवलम्वन गरेकाे थियाे ।

कोभिड-१९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक रह्यो । २०७७ सालको उत्तरार्धबाट पुनर्उत्थानउन्मुख रहेको अर्थतन्त्र २०७८ वैशाखको तेस्रो साताबाट शुरु भएको महामारीको दोस्रो चरणको रोकथामका लागि गरिएको विविध उपायहरुबाट पुनः प्रभावित भएका थिए ।

कोभिड महामारी सुरु हुनुअघिको उत्पादन तथा कारोबारको अवस्था भने अझै दयनीय नै देखिन्छ । अध्ययन प्रतिवेदनका अनुसार कोभिड महामारीअघिको तुलनामा अहिले उत्पादन तथा कारोबारको अवस्था ७४.७ प्रतिशत मात्रै छ ।

तर, २०७७ असारमा २८.८ प्रतिशत, २०७७ मंसिरमा ५०.५ प्रतिशत र २०७८ बैशाखमा ६१.४ प्रतिशत मात्रै रहेको कोभिडअघिको उत्पादन तथा कारोबारको अवस्थासँग तुलना गर्दा भने अहिलेको अवस्था सन्तोषजनक देखिन्छ ।

कात्तिकसम्मको अवस्था अध्ययन गर्दा ठूला उद्योग व्यवसायले कर्मचारीको लागि गर्ने औसत तलब तथा ज्याला खर्च बढेको पाइएको छ । यसको अर्थ कामदार कर्मचारीको संख्या बढेको वा भएकै कामदार कर्मचारीको तलब तथा ज्याला कोभिड महामारी सुरु हुनु अघिको भन्दा पनि बढेको हुन सक्छ ।

अध्ययन प्रतिवेदनका अनुसार ५० करोड रुपैयाँभन्दा माथि स्थिर पुँजी भएका उद्योग व्यवसायले तलब तथा ज्यालामा गर्ने औसत खर्च कोभिड महामारी अघिको तुलनामा १०१.८ प्रतिशतले बढेको छ ।

यस्तो खर्चको राष्ट्रिय औसत भने ९६.१ प्रतिशत छ । घरेलु उद्योग, लघु उद्यम तथा साना खुद्रा व्यापार, साना (१५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योग व्यवसाय) र १५ करोडदेखि ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका मझौला उद्योग व्यवसायले कोभिड अघिको तुलनामा ९४.४ देखि ९६.८ प्रतिशतसम्म खर्च गरेका कारण राष्ट्रिय औसत कम देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here