नेपाल एयरलाइन्स ६१ वर्षमा ३७ अर्ब घाटामा, प्रम भन्छन् – सरकार एक पैसा दिंदैन

काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण पनि खोजेका छन् ।

निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले नेपाल वायु सेवा निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने बताए ।
‘वायु सेवा निगम ६१ बर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो ?’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उनले भने, ‘यथास्थितीमा निगमलाई सरकारले एक पैसा पनि दिंदैन ।’

प्रधानमन्त्री ओलीले व्यवस्थापनले स्पष्ट कार्ययोजना सरकारलाई पेश गर्नु पर्ने र त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि हुनुपर्ने बताए । उनका अनुसार निगमको व्यवस्थापन तत्काल सुधार गर्नु पर्ने आवश्यकता छ । आकासमा उड्नु पर्ने निगमका जहाज सधैं विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘एकपटक एयरर्पोटमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधें, नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि,’ केही समय अघिको प्रसंग स्मरण गर्दै उनले भने, ‘तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन् । उडेका भए सबै जहाज आकासमा हुन्थे । निगम पनि नाफामा जान्थ्यो ।’

निगमका निर्णयहरु हचुवाका भरमा हुने गरेको पनि प्रधानमन्त्रीले बताएका छन् । गन्तव्य कहाँ हो थाहा छैन वाइड बडी किनेको छ ,पाइलट छैन जहाज किनेको छ । यस्ता निर्णयले निगम धराशयी हुँदै गएको हो, उनले भने ।

जापानको नारिता विमानस्थल र युरोपियन देशहरुमा उडानको तयारी गर्न पनि उनले व्यवस्थापनलाई निर्देशन दिए ।

निगमलाई काम गर्न पूर्ण अधिकार भएकाले जहाज र गन्तव्य बढाउन उनले निर्देशन दिए तर बिनायोजना जहाज थुपारेर ‘ग्राउण्डेड’ भइरहने अवस्था आउनु नदिन सचेत पनि गराए । ‘म व्यवस्थापनलाई आग्रह गर्छु, निगम सुधार्ने उचित उपाय ल्याउनुस् । अनि कस्तो कदम चाल्नुपर्छ त्यो सरकारले निर्णय गर्छ, ऋण तिर्नेमात्र होइन कमाउने उपायसहितको योजना र गन्तव्यको खोजी गर्नुपर्छ,” प्रधानमन्त्रीले भने ।

ओसाका, ग्वाञ्जाओ र रियाद नयाँ गन्तव्य

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमका जहाज पूर्णरूपमा सञ्चालन तथा लामा गन्तव्यमा उडान विस्तार गर्न नसकिएकै कारण अपेक्षित नाफा आर्जन गर्न नसकेको भन्दै वाइडबडी जहाजबाट भदौ पहिलो साता जापानको ओसाका तथा क्रमशः चीनको ग्वाञ्जाओ र साउदी अरेबियाको रियादमा उडान विस्तारका लागि प्रक्रिया अघि बढाइएको जानकारी गराए ।

निगमको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय उडानबाट निगमले चालू आवको चैतसम्ममा रु ७ अर्ब ५४ करोड १० लाख सञ्चालन नाफा कमाएको छ । निगमले गत आवको सोही अवधिमा रु ३ अर्ब ८४ करोड ७१ लाख आम्दानी गरेको थियो ।

गत वर्ष २०७४ साउनदेखि २०७५ जेठसम्म ३ लाख ४८ हजार ५ सय २८ यात्रुले निगमको अन्तर्राष्ट्रिय उडानमा यात्रा गरेका छन् । यो वर्ष सो संख्या बढेर ५ लाख ६९ हजार ३४ पुगेको छ । यो आँकडा अघिल्लो वर्षको तुलनामा ६३.५ प्रतिशतले बढी हो ।

निगमले हाल दुई वाइड बडी र दुई न्यारो बडी जहाजमार्फत अन्तर्राष्ट्रियतर्फ छ देशका आठ गन्तव्यमा उडान गर्दै आएको छ । आन्तरिकतर्फ दुई एम–६०, चार वाई–१२ र तीन डिएचसी–६ गरी जम्मा नौ जहाजमार्फत २२ विमानस्थलमा सेवा सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here